विराटनगरलाई झट्का दिने महेन्द्रनगरको त्यो अस्त्र

फागुनमा काठमाडौंमा भएको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) २ को खेलाडी बोलकबोल (अक्सन) बाट नेपाली क्रिकेटका अनुभवी तथा चर्चित अनुहारहरु वसन्त रेग्मी, पृथु बास्कोटा, अनिलकुमार साह, दीलिप नाथ, सौरभ खनाल, मन्जित श्रेष्ठ, रामनरेश गिरी लगायतलाई टोलीमा अनुबन्ध गरेपछि पहिलो संस्करणको उपविजेता विराटगर किंग्स अन्य टोली भन्दा बलियो मानिएको थियो।

पारस खड्काको कप्तानी र विदेशी खेलाडीका रुपमा हङकङका कप्तान बाबर हायात पनि टोलीसँग जोडिएसँगै धेरैले डीपीएल–२ को उपाधि विराटनगरले जित्ने घोषणा नै गरेका थिए। तर समूह चरणबाटै बलियो र उपाधिको दाबेदार विराटनगर अनेपक्षित रुपमा बाहिरियो।
विराटनगरको आशालाई निराशामा बदल्ने काम सुरुवातमा महेन्द्रनगर युनाइटेडले गर्‍यो। डीपीएलको दोस्रो दिनको दोस्रो खेलमा विराटनगर र महेन्द्रनगर युनाइटेड भिड्दै थिए। उनीहरु दुवैको लिगचरणको यो पहिलो खेल थियो। दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचका साथ मैदानमा उत्रेका थिए।

१ सय ६८ रनको लक्ष्य पछ्याएको विराटनगर १५ ओभरसम्म सजिलै खेल जित्ने स्थिथिमा थियो। ५ विकेट गुमाएको विराटनगरका पृथु बास्कोटा २९ रनमा क्रिजमा जमेका थिए भने पारस खड्का ११ रनमा खेलिरहेका थिए। यो जोडीका लागि बाँकी ३० बलमा ४८ रन ल्याउनु सामान्य झैँ ठानिएको थियो।

विराटनगरको खेमा पहिलो जितका लागि ढुक्कजस्तै भएको अवस्थामा महेन्द्रनगर युनाइटेडले प्रयोग गरेको एक अस्त्रले खेलको रुप नै परिवर्तन गरिदियो। पारस र पृथुलाई पवेलियन फर्काउन सके महेन्द्रनगरलाई राहत हुने थियो। नत्र पृथु र पारसले खेल आफ्नो पक्षमा पार्ने निश्चितप्रायः थियो।

१६ औं ओभरमा महेन्द्रनगरले कसलाई बलिङमा ल्याउला? धेरैको चासोको विषय थियो। करण केसी, अविनाश कर्ण, आरिफ शेख, हरिशंकर साह लगायतको स्पेल बाँकी नै भएकाले उनीहरुमध्येकै अनुभवी बलर सो ओभरमा आउने धेरैको अनुमान थियो।

तर महेन्द्रनगरका कप्तान विनोद भण्डारीले पूर्व अनुमान विपरीत नामै नसुनिएका रोबिन क्षेत्रीको हातमा बल थमाए। त्यसपछि कपिलवस्तुका १८ वर्षीय रोबिन महेन्द्रनगरका त्यस्ता अस्त्र बने, जसले खेलको रुप नै परिवर्तन गरिदियो।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीले भरिएको डीपीएल जस्तो ठूलो प्रतियोगिता रोबिन पहिलो पटक खेल्दै थिए। क्रिकेट खेल्न थालेको चानचुन तीन वर्ष हुन लाग्दा उनले खेलेका ठूला प्रतियोगिता भनेको रुस्लान कप, खुकुरी च्यालेन्जर्स कप, आदि थिए। ती प्रतियोगितामा पनि उनको नाम आफ्नै सर्कल बाहेक बाहिर आउन सकेको थिएन। डीपीएलमा राम्रो प्रदर्शन गर्नु भनेको राष्ट्रिय रुपमा आफूलाई चिनाउनु पनि थियो। केही हदसम्म उनी त्यसमा सफल पनि भए।

महेन्द्रनगरका प्रशिक्षक विनोद दासका अनुसार क्षमतावान क्रिकेटरका लागि घरेलु प्रतियोगिता ‘आफ्नो प्रतिभा देखाउने माध्यम’ हुन्। ‘पाएको मौका भने उनीहरुले सदुपयोग गर्नसक्नुपर्छ। र त्यही मौकाको सदुपयोग रोबिनले गरे,’ उनी भन्छन्।

पारसविरुद्ध पहिलो बल
१६औं ओभरमा कप्तान पारस खड्का क्रिजमा थिए। बलिङ गर्नुपरेपछि उनको पहिलो बल नै पारसले सामना गर्ने भए।

‘टोलीमा म भन्दा दिग्गज दाइहरु हुनुहुन्थ्यो,’ महेन्द्रनगरको बलिङ लाइनअप सम्झँदै उनले भने, ‘सुरुमा त प्लेइङ इलेवेनमा पर्छु जस्तो नै लागेको थिएन। तर, प्लेइङ इलेवेनमा आफ्नो नाम देखेपछि एकछिन त मलाई विश्वासै लागेको थिएन। अझ बलिङको मौका पाउनु अनि नेपाली कप्तानका विरुद्ध पहिलो बल गर्न पाउनु मेरा लागि अविष्मरणीय क्षण रह्यो। म त्यसवेला नर्भस त थिएँ नै उत्साहित पनि थिएँ।’

दबाबलाई रोबिनले अवसरमा बदले। पारसविरुद्ध कसिलो बलिङ गरेपछि आक्रामक खेल्ने पारस र पृथुको जोडीले त्यस ओभरमा ५ रनमात्रै लिन सक्यो। दबाबपूर्ण डेथ ओभरमा पहिलो ओभर लिएर आएको नयाँ खेलाडीले रन रोकेको उक्त ओभर नै प्रतियोगिताको टर्निङ प्वाइन्ट बन्यो।

रोबिनको उक्त ओभरमा रन जुटाउन नसकेपछि १७ औं ओभरमा विराटनगरलाई ठूला सट खेलेर रन बटुल्न दबाब बढ्यो। सोही दबाबका बीच सो ओभरको अन्तिम बलमा कप्तान पारस खड्का आउट भए।

१८ औं ओभरमा पुनः रोबिन बलिङमा आए। यस ओभरबाट भने उनले विराटनगरको पक्षबाट खेल पूरै महेन्द्रनगरको पक्षमा ढालिदिए। सो ओभरको पहिलो बलमै पवन सर्राफलाई खाता नै खोल्न नदिई उनले बोल्ड गरे। पाँचौ बलमा सौरभ खनाललाई १ रनमै पवेलियन फर्काए। सो ओभरमा उनले ३ रनमात्रै दिएर २ विकेट लिएपछि खेल महेन्द्रनगरको पक्षमा आएको थियो।

समग्रमा २ ओभर बलिङ गरेका उनले ८ रन दिई २ विकेट लिएपछि पहिलो खेलमै बलियो टोली विराटनगर ३३ रनले स्तब्ध बनेको थियो।

‘महेन्द्रनगरमा अनुभवी बलरहरुको कुनै कमी थिएन,’ प्रशिक्षक विनोद दास भन्छन्, ‘यस्तो टिमको प्लेइङ इलेवेनमा मौका पाउनु नै नयाँ खेलाडीका लागि चुनौतीपूर्ण हुन्छ। तर नेटमा राम्रो फालेपछि हामीलाई रोबिनलाई टोलीमा मौका दिएका थियौं। उसले प्रमाणित पनि गरेर देखाइदियो।’

म्यान अफ द म्याच प्रदर्शन

पहिलो खेलमा म्याच टर्निङ प्रदर्शन गरेपछि रोबिन त्यसपछि महेन्द्रनगरको प्लेइङ इलेवेनमा छुटेनन्।

महेन्द्रनगरले दोस्रो खेल घरेलु टोली धनगढी विरुद्ध खेल्यो। टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरका ब्याट्सम्यानहरुको प्रदर्शन खासै नहुँदा १ सय ३१ रनको सामान्य स्कोर मात्र बनाउन सक्यो। दबाबरहित धनगढीका ब्याट्सम्यान खुलेर खेले। त्यसको प्रभाव रोबिनमाथि पनि पर्‍यो, २ ओभर मात्र बलिङ गरेका उनले २४ रन खर्चे।

तेस्रो खेलमा पनि महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित गर्यो। उक्त खेलमा ३ ओभर बलिङ गरेका रोबिनले १८ रन खर्चे।

त्यसपछि डीपीएलका केही खेल वर्षाका कारण प्रभावित भए। सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्ससँगका लगातार दुई खेल महेन्द्रनगरको वर्षाका कारण हुन सकेन। अंक बाँड्दा टोली प्लेअफमा पुग्दै सिवासी अत्तरियाविरुद्ध एलिमिनेटर खेल्नुपर्ने भयो।

एलिमिनेटरको विजेता टोलीले दोस्रो क्वालिफायर हुँदै फाइनलमा प्रवेश गथ्र्यो भने पराजित टोली प्रतियोगिताबाट बाहिरिन्थ्यो। अर्थात् इलिमिनेटरमा महेन्द्रनगर र अत्तरियाका लागि गर या मरको स्थिति थियो।

त्यो खेलमा महेन्द्रनगरका ब्याट्सम्यान नचल्दा १ सय ३० रनमै सीमित भयो। धेरैले महेन्द्रनगर एलिमिनेटरबाट बाहिरिने सोचेका थिए। तर रोबिनले म्यान अफ द म्याच प्रदर्शन गरेपछि महेन्द्रनगरले १५ रनको जित निकाल्दै क्वालिफायरमा स्थान बनायो।

४ ओभर बलिङ गरेका उनले १६ रनमात्रै खर्चेर २ विकेट लिएका थिए। सर्वाधिक स्कोरर सुवास खकुरेल (३०) तथा भारतीय खेलाडी गौरव चितकाराको विकेट लिँदै कसिलो बलिङ गरेपछि सिवाइसी १ सय १५ रनमै समेटिएको थियो। डीपीएलमा म्यान अफ द म्याच पुरस्कार पाउने उनी सबैभन्दा युवा खेलाडी समेत बन्न सफल भए

कपिलवस्तुको स्थानीय प्रतियोगिता हुँदै डीपीएल
सन् २०१४ मा नेपालले टी २० विश्वकप खेलेपछि नेपालमा क्रिकेटको क्रेज गाउँगाउँसम्म पुगेको थियो। त्यही क्रेजले रोबिनलाई पनि तानेको थियो।

‘डेढ वर्ष कपिलवस्तुमै स्थानीय प्रतियोगिताहरु खेलेपछि मलाई भित्रैदेखि क्रिकेट खेल्न मन लाग्यो,’ क्रिकेटका सुरुवाती दिनहरु स्मरण गर्दै रोबिनले भने, ‘त्यसपछि औपचारिक रुपमा प्रशिक्षण लिन म काठमाडौं आएँ र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) मा क्रिकेट सिक्न थालेँ।’

केसिटिसीमै आएपछि उनले रुस्लान कप, प्राण लिची कप, खुकुरी च्यालेन्जर्स कप खेलेका थिए। जसमा उनको प्रदर्शन औसत रह्यो। ७ महिना केसिटिसीमा अभ्यासपश्चात घरेलु समस्याले उनी पुनः कपिलवस्तु फर्के।

भारतको जयपुरमा दिदी भिनाजु रहेछन्। उनीहरुसँग भेटघाट अनि घुम्न भनेर उनी जयनगर गए। त्यही समय उनलाई त्यहाँको क्रिकेट बुझ्न मन लाग्यो। र स्थानीय जयपुर जिल्ला क्रिकेट एकेडेमीमा २ महिना प्रशिक्षण समेत लिए।

जयनगरको दुई महिने बसाइपश्चात कपिलवस्तु फर्केका रोबिनले डीपीएलको अक्सनका लागि फारम खुलेको थाहा पाए र आवेदन दिए।

रोबिनले विभिन्न प्रतियोगितामा राम्रो प्रदर्शन गरेको महेन्द्रनगर युनाइटेडका टोली सञ्चालकहरुले देखेका रहेछन्। सोही आधारमा टोलीले अक्सनमा उनको न्यूनतम मूल्य (२५ हजार) तिरेर टोलीसँग अनुबन्ध गर्‍यो।

एकेडेमी भइदिए हुन्थ्यो
रोबिनलाई कपिलवस्तुमा राम्रो एकेडेमीको अभाव खड्किरहन्छ। राम्रो प्रतिभावान खेलाडीहरु भएर पनि उनीहरुले आफ्नै गाउँठाउँमा प्रशिक्षण पाउन नसकिरहेकोमा उनको गुनासो छ।

रोबिन क्षेत्री

रोबिन क्षेत्री

‘कपिलवस्तुमा राम्रो प्रतिभा भएका थुप्रै खेलाडीहरु छन्,’ उनी भन्छन्, ‘तर राम्रो एकेडेमी र दक्ष प्रशिक्षकको अभावमा उनीहरुको प्रतिभा निखार्ने ठाउँ नै छैन।’

आफ्नो पनि भविष्यमा राम्रो एकेडेमी सञ्चालन गर्ने सोच रहेको उनले बताए। ‘राष्ट्रिय टोलीमा कपिलवस्तुको प्रतिनिधित्व गर्ने खेलाडी होस् भन्ने मेरो चाहना छ,’ उनले भने, ‘त्यसको आधार हामीले जिल्लामा तयार गर्नसक्नुपर्छ।’

राम्रो गर्दै गए भोलि नेपाली क्रिकेटले राम्रो प्लेयर पाउछः विनोद दास
महेन्द्रनगर युनाइटेडका प्रशिक्षक विनोद दासले रोबिनको प्रदर्शनले उनलाई र महेन्द्रनगर युनाइटेडलाई अघि बढ्न सघाउ पुगेको बताए।

‘फ्रेन्चाइजी क्रिकेटमा प्रदर्शन गर्नु महत्वपूर्ण हो,’ दास भन्छन्, ‘ऊ लेफ्ट आर्म स्पिनर हो। डीपीएलका पीच केही स्पिनरलाई सघाउ पुर्‍याउने खालको पनि थियो तर दबाबमा आफ्नो क्षमता प्रदर्शन गर्नु महत्वपूर्ण हुन्छ। डीपीएलमा रोबिनले त्यो देखाएको छ। यसर्थमा डीपीएलको उसको यात्रा सफल नै मान्नुपर्छ।’

तर आगामी दिनमा अघि बढ्न उसले अझै संघर्ष गर्नुपर्ने दास बताउँछन्। ‘ऊ कहाँसम्म पुग्छ भनेर अहिले नै भन्नु त छिटो हुन्छ तर अहिलेसम्म ऊ ठिक ट्रयाकमा अघि बढिरहेको छ र आशा गरौं, आगामी दिनमा आफ्नो फिल्डिङ लगायत अन्य डाइमेन्सनहरु पनि सुधार्दै लानेछ। त्यसो भए भोलि नेपाली क्रिकेटले एउटा राम्रो प्लेयर पाउँछ जस्तो लाग्छ।’

युवा खेलाडीको क्षमता निखार्ने नेपालमा कुनै संरचना नभएको स्मरण गर्दै दासले आगामी दिनमा आफूलाई उत्कृष्टता दिलाउन उनले मेहनत गर्नुपर्ने बताए। ‘अब रोबिन क्षेत्रीलाई मान्छेले चिन्छन्, उसका विरुद्ध पनि रणनीति बन्छन्,’ दासले भने, ‘त्यसैले अगाडि बढ्न अब उसले त्यस अनुसार नै आफूलाई तयार पार्न सक्नुपर्छ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।