किमकी स्टाइलिस पत्नीले पाइन् प्रथम महिलाको उपाधि

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नी पत्नी री सोल जुलाई प्रथम महिलाको उपाधि दिएका छन्। यसले रीको हैसियत र प्रतिष्ठामा ठूलो वृद्धि गर्ने बताइएको छ।

री सोल जु सार्वजनिक कार्यक्रमहरुमा प्रायः पतिसँगै देखिन्छिन्। तर हालै एक चिनियाँ कलाकार टोलीको सार्वजनिक कार्यक्रममा भने उनी एक्लै उपस्थित थिइन्।

सो कार्यक्रममा उनी उपस्थित भएपछि सरकारी सञ्चारमाध्यमले उनलाई ‘प्रथम महिला’ को रुपमा सम्बोधन गरेको थियो।

यो समाचार प्रस्तुत गर्न उत्तर कोरियाकी स्टार टेलिभिजन प्रस्तोता री चुन ही आफैँ उपस्थित भएकी थिइन्।

री, किम, सी र पेङ

री, किम, सी र पेङ

दक्षिण कोरियाली तथा अमेरिकी राष्ट्रपतिहरुसँग शिखरवार्ताअघि रीलाई यो पदवी दिइनुको कारणबारे अनेकौँ अनुमान चलेका छन्। केहीले उत्तर कोरियालाई सामान्य राज्यका रुपमा प्रस्तुत गर्न यस्तो कदम चालिएको बताएका छन् भने केहीले दक्षिण कोरियाली तथा अमेरिकी प्रथम महिलाहरुसँग बराबरीको हैसियत निर्माण गर्न रीलाई प्रथम महिला घोषित गरिएको तर्क गरेका छन्।

यसअघि सन् १९७४ मा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङपत्नी किम सङ एलाई यो उपाधि दिइएको थियो।

री अहिले २९ वर्ष पुगेको र उनका तीन सन्तान रहेको बताइन्छ। सामान्य परिवारबाट आएकी उनी गायिकाका रुपमा चर्चित थिइन्।

हालै चीन भ्रमणमा जाँदा स्टाइलिस प्रथम महिलाको छवि बनाएकी रीले चिनियाँहरुको मन चोर्न सफल भएकी थिइन्। एजेन्सी

Facebook Comments