‘पोखरालाई हातमा वियर र साथमा गर्लफ्रेन्ड भएको टुरिष्ट आउने शहर बनाउँछु’

पोखरा लेखनाथ महानगरपालिका–२१ का वडाध्यक्ष खगराज आचार्यले आफ्नो वडालाई प्रेम जोडी घुम्ने पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेका छन् ।

‘अबको तीन वर्षभित्र एक हातमा बियर, एक हातमा मिल्ने साथीसँग घुम्ने जाने ठाउँ बनाउँछु’, वडाध्यक्ष आचार्यले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘वडामा खानेपानीको पाइपबाट पानी झर्न सुरु गरेपछि एक घर, एक जोडी पर्यटक राख्ने योजना छ।’

उनले यो अभियानको लागि एकिकृत गुरुयोजनाको सम्झौता पनि गरिसकेको उल्लेख गरेका छन्।

पोखराको दक्षिणी भेगमा पर्ने यो क्षेत्र पछिल्लो समयमा महानगरमा गाभिएको हो। पोखराबाट करिब १२ किलोमिटरको दूूरीमा रहेको यो क्षेत्रको निर्मलपोखरी कृस्ती क्षेत्रमा पर्यटकको चहलपहल खासै बढ्न सकेको छैन।

पोखराको उत्तर–पश्चिम भागमा रहेको सराङकोटलगायतका डाँडाहरु पर्यटकीय गन्तव्य बन्दा यो क्षेत्रमा रहेको फोक्सिङ अझै पनि ओझेलमै छ। अहिलेका पर्यटनमन्त्री रवीन्द्र अधिकारी पोखराको निर्मलपोखरीसँगै जोडिएको भरतपोखरीका बासिन्दा हुन्।

सामाजिक सञ्जालमा सक्रिय वडाध्यक्ष आचार्यले आफ्नो वालमा आएका सुझाव वा बिरोधको उत्तर दिन समेत छुटाएका छैनन्। शंकर भण्डारीले बियर होइन, विश्वका मान्छेलाई अर्गानिक खाना खुवाउने गन्तव्य बनाउन सुझाए लगत्तै उनले अङ्ग्रेजीमा जवाफ फर्काएका छन्, ‘तपाईंको रोजाई, तपाईंको मात्र रोजाई होइन।’

टंकप्रसाद संग्रौलाले वडाध्यक्षको घोषणाको चर्को आलोचना गर्दै ‘अबको तीन वर्षमा पोखरा महानगरपालिकामा एक हातमा रक्सी (बियर) र अर्को हातमा वेश्या (तरुनी) लिएर हिँड्ने वातावरण बनाउन खोजेको?’ भन्दै विनाशकाले विपरित बुद्धि भन्ने कमेण्टले पनि खगराज टसमस भएका छैनन्। यस्तो कमेन्टको जवाफमा उनले भनेका छन्, ‘पहिला कुरा बुझ्नुहोस्, पर्यटक भनेका विदेशी मूलुकबाट नेपालमा आउने गैर नेपाली नागरिकलाई सम्झनुपर्छ।’

त्यसको लागि उनले पर्यटन ऐन २०५३ को परिच्छेद १ को दफा २ को दलिल पेश गरेका छन्। पर्यटन व्यवसायीले ऐनमा भएको यही छिद्रको प्रयोग गरी नेपालीलाई सुविधाजनक पर्यटकीय बसको यात्रामा रोक लगाएको प्रसङ्ग झिक्दै उनले अहिलेका पर्यटन मन्त्रीलाई ऐनमा भएको यो प्रावधान हटाउनुस् भन्नको लागि आग्रह समेत गरेका छन्। उनले पर्यटनमन्त्री अधिकारी सोही क्षेत्रका बासिन्दा हुन्।

उनले आफ्नो अभियानको बिरुद्ध र समर्थनमा आएका प्रतिक्रियाहरुबारे थप चर्चा गर्दै भनेका छन्, ‘यो नेपाली समाज जति सोझो छ, त्यति आक्रामक छ, त्यसैले मैले भन्ने गरेको छु, एकपटक डिग्री (स्नातकोत्तरको प्रमाणपत्र) लिएर हुँदैन। गुप्तेश्वर,महेश्वर, गलेश्वरको दर्शन गर्नुका साथै दैनिक एक दुई घण्टा गुगलेश्वर (गुगल सर्च) को पनि दर्शन गर्नुहोस् ।’

त्यसो त, उनको भनाईमा समर्थन जनाउनेहरुको पनि कमी पनि छैन। ‘लाइक’ गर्नेहरुले मुख नखोले पनि मुख खोलेकाहरुले चाहिँ उनलाई नकरात्मक र सकारात्मक दुबै खालका सुझाव दिएका छन्।

पत्रकार केशव पाठकले ‘बियर नै किन? ग्लासमा दही मही लस्सी र जुस भए हुन्न र?’ भन्ने प्रश्न तेस्र्याएका छन् भने हरि अधिकारीले समाज, संस्कार र जीवनपद्दतिको कुरा उठाएका छन्। बिना सिलुवालले बियरलाई घटाउन सुझाएकी छन् भने अन्य धेरैले खगराजको अभियानले आफ्नो क्षेत्रको विकास हुने विश्वास व्यक्त गरेका छन्।

वडाध्यक्ष आचार्य

प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय पर्यटन परिषदको सदस्य समेत रहिसकेका खगराज पोखराका औंलामा गन्न मिल्नेमध्येका ‘सिटी टुर गाइड’ पनि हुन्।२०४९ सालमा स्नातक सकेपछि उनी गाइडको रुपमा पर्यटन उद्योगमा छिरेका थिए। अहिले पनि उनी ट्राभल एजेन्सी सञ्चालन गर्छन्। संसारका धेरै देश घुमेका उनले पर्यटक भनेका नियमभित्र रहेर खुसीमा रमाउने पाहुना भएको बताउँदै आएका छन्।

पर्यटन क्षेत्रमा लामो समय बिताएको र संसारका धेरै क्षेत्र घुमेकाले आफूले पर्यटकहरुको चाहनालाई हेरेर यो घोषणा गरेको नेपालखवरलाई बताए। ‘मैले पर्यटकको चाहना बुझेको छु र यो कुरा अगाडि सारेको हुँ’, टेलिफोनमा उनले भने, ‘पर्यटन क्षेत्रमा लागेकाहरुले नीतिगत तहमा भएका त्रुटीहरुको सुधार गर्नको लागि घच्घच्याउनु पनि पर्छ।’

उनको संकेत पर्यटनमन्त्री रवीन्द्रले ऐन नियममा भएका त्रुटी हटाउन भन्नेतर्फ लक्षित थियो।

वडा नम्बर २१ हिमाल हेरेर स्थानीय जनजीवनसँग रमाउने उत्कृष्ट थलो भएको जिकिर गर्दै उनले सोही ठाउँको चिलाउनेखर्कमा रहेको होमस्टेबाट स्थानीयले फाइदा लिन थालेको जिकिर पनि गरे। ‘अहिले त्यहाँका बासिन्दाले कमाउन सुरु गरेका छ्न्, उनीहरु सिक्दैपनि छन्’, उनले थपे, ‘विदेशबाट आउने पर्यटकहरुलाई राख्न पाए उनीहरुले अझ धेरै कमाउनेछन्।’

आफ्नो क्षेत्रको बिरौटाबाट मट्टिखाना हुँदै दोपहरे र त्यहाँबाट फोक्सिङ, सिवालय निर्मलपोखरी,भरतपोखरीको हुँडीकोट, बागमारा हुँदै भण्डारडिकसम्मको डाँडैडाँडाको एकदिने पदयात्रा र हिमाल हेर्ने संस्कृति हेर्ने, छोरपाटन हुँदै फेदीपाटन, बागमारा, भण्डारढिकसम्मको हर्सं राइडिङ, मर्निङ वाक मार्ग यो क्षेत्रको सबैभन्दा सुन्दर गन्तव्य बन्ने पनि उनले दावी गरे।

डाँडाबाट हिँड्दा उत्तरमा हिमाल र दक्षिणमा जंगल, अनि समथर भागमा हिँड्दा स्थानीयहरुसँगको सामिप्यताले पर्यटक खुसी हुने पनि उनको जिकिर छ।

Facebook Comments