मिटरमा हिँड्न नमान्ने ट्याक्सी चालकले भेटे कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी चालकलाई कारबाही तिब्र पारेको छ।

 

चालकले ट्याक्सी मिटरमा हिँडाउन नमानेको व्यापक जनगुनासो आएपछि महाशाखाले अनुगमनलाई तीव्रता दिएको हो। महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मिटरमा हिँड्न नमान्ने दैनिक ५० देखि ७० ट्याक्सीलाई कारबाही गर्ने गरिएको जानकारी दिए।

‘पहिले दैनिक १५-२० ट्याक्सी कारबाहीमा पर्थे, अहिले कारबाही बढेको छ,’ उनले भने। ट्याक्सी मिटरमा हिँड्न नमाने हटलाइन १०३ मा खबर गर्नसमे मरासिनीले आग्रह गरेका छन्।

मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवानासमेत गर्ने गरेको छ। सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने ट्याक्सी अनुगमनका लागि दैनिक ३० जनाको जनशक्ति परिचालन गरिएको बताए।

महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा हिँड्न नमान्ने झण्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको छ।

Facebook Comments