विदेशी खेलाडीको कीर्तिमानी प्रदर्शनपछि काठमाडौं डीपीएलको फाइनलमा

विदेशी खेलाडीद्धय सुबोध भाटी र सन्नी पटेलले कीर्तिमानी प्रदर्शन गरेपछि काठमाडौं गोल्डन्सले दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

बलिङमा पटेलले एकै इनिङमा सर्वाधिक बढी विकेट लिने कीर्तिमान र ब्याटिङमा भाटीले सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान कायम राखेको खेल जित्दै काठमाडौंले फाइनलमा टीम चौराह धनगढीसँगको भेट पक्का गरेको हो।

टीम चौराह धनगढीले यसअघि पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल शुक्रबार हुनेछ।

टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले दिएको १ सय ४३ रनको लक्ष्य काठमाडौं १८.२ ओभरमा ५ विकेट गुमाइ भेटायो।

ओपनर भाटीले डीपीएलकै सर्वाधिक छिटो अर्धशतक प्रहार गर्दै काठमाडौंका लागि जितको आधार खडा गरेका थिए।

१७ बलमा भाटीले ४ चौका र ५ छक्काको मदतमा अर्धशतक(५२) पूरा गरेका थिए। अर्को बलमा भाटी विकेट किपर विनोद भण्डारीबाट स्टम्पिङ भएका थिए।

यसअघि प्रतियोगिताको सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान विराटनगर किंग्सका बाबर हायातको नाममा थियो। हायातले रुपेन्देही च्यालेन्जर्सविरुद्ध लिगचरणमा २८ बलमा अर्धशतक प्रहार गरेका थिए।

काठमाडौंका लागि अमित श्रेष्ठले २६, ज्ञानेन्द्र मल्लले २५, भुपेन्द्र थापाले १५ रन जोडे। बलिङमा पुनित मेहराले २ तथा भुवन कार्की र रोविन क्षेत्रीले समान १ विकेट लिए।

त्यसअघि सन्नी पटेलले ६ विकेट लिने कीर्तिमान कायम राखेपछि टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनाउन सक्यो।
सन्नीले महेन्द्रनगरले १० रन जोड्दा ६ विकेट झराइसकेका थिए। उनी प्रतियोगिताको एकै इनिङमा सर्वाधिक विकेट लिने बलरपनि बनेका थिए।

तर, पुनित मेहरा र आरिफ सेखले सातौं विकेटका लागि ८५ रनको साझेदारी गरेपछि टोलीले सो स्कोर बनाएको थियो। उसका पुनित मेहरा ५८ रनको नटआउट पारी खेले। ४२ रनको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरे।

यस्तै आरिफ सेखले ४३ तथा करण केसीले २१ रन जोडे। काठमाडौंका सन्नी पटेलले ६ तथा पुष्प थापा र सुबोध भाटीले समान १ विकेट लिए।

काठमाडौंका भारतीय खेलाडी सन्नी पटेलले एकपछि अर्को विकेट लिएपछि महेन्द्रनगरका सुरुवाती पाँच खेलाडीले खाता नै खोल्न सकेका थिएनन्।

सन्नीले विनोद भण्डारी, आसिफ सेख, हरिशंकर साह, रोहितकुमार पौडेल र भुवन कार्कीलाई शुन्य रनमै पवेलियन फर्काए भने ७ रनमा खेलिरहेका पुनित विष्टको पनि विकेट लिदैं कीर्तिमान कायम गरेका थिए।

पहिलो ओभरको दोस्रो बलमै सन्नीले महेन्द्रनगरका कप्तान विनोद भण्डारी(०)लाई एलबिडब्लु आउट पारेका थिए। तेस्रो ओभरको पहिलो बलमा आसिफ सेखलाई र अन्तिम बलमा हरिशंकर साहलाई पुनः शुन्य रनमै आउट गर्दै सन्नीले महेन्द्रनगरको तेस्रो विकेट झारे।

बाँकी तीन विकेट भने उनले पाचौं ओभरमा लिए। पाँचौ ओभरको तेस्रो बलमा पुनित विष्ट(७)लाई ललितनारायण राजबंशीको हातबाट क्याच गराएका सन्नीले पाँचौं बलमा रोहित पौडेल(०)लाई बोल्ड तथा अन्तिम बलमा भुवन कार्की(०)लाई पहिलो बलमै सुबोध भाटीको हातबाट क्याच गराउँदै छैटौं विकेट लिए।

चार ओभरको स्पेलमासन्नीले १ ओभर मेडन राख्दै १० रनमात्रै खर्चेर ६ विकेट लिदै सनसनीपूर्ण बलिङ गरेका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।