अख्तियारमा उजुरीपछि राष्ट्रबैंकका डेपुटी गभर्नर जिम्मेवारीमुक्त

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सामान्य सेवा र वित्तीय व्यवस्थापन विभागको जिम्वेवारीबाट मुक्त गरेका छन्। श्रेष्ठले सम्हाल्दै आएको सो विभागको जिम्मेवारी अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन्।

स्रोतका अनुसार, डेपुटी गभर्नर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाको प्रलोभनमा परी संचालक तथा प्रमुख कार्यकारी निर्देशकको कार्याकाललाई थप गर्न मद्दत गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यो कदम चालिएको हो।

सो विभागले बैंक तथा वित्तीय कम्पनीमा कार्यरत संचालक समिति तथा कार्यकारी अधिकृतको कार्यकाल थप गर्ने वा नगर्ने भन्ने निर्णय गर्छ। अख्तियारमा परेको उजुरीमा नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाको कार्यकाल थप गर्नमा उनले मिलेमतो गरेको आरोप लगाइएको छ।

कैलाश विकास बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल थप गर्दापनि प्रलोभनमा परेको आरोप डेपुटी गभर्नर श्रेष्ठमाछि लागेको छ।

श्रेष्ठमाथिको आरोप र कारवाहीको प्रक्रियाबारे नेपालखबरले राखेको जिज्ञाशामा प्रबक्ता नाराणप्रसाद पौडेलले आफूलाई जानकारी नभएको बताए। यद्यपी, ४ दिन अघिदेखि डेपुटी गभर्नर श्रेष्ठले हेर्दै आएको विभागको जिम्मेवारी सिवाकोटीले पाएको कुरा चाहिँ स्वीकार गरे।

अख्तियारका प्रबक्ता दीर्घराज मैनालीले डेपुटी गभर्नर श्रेष्ठविरुद्ध उजुरी परेको जानकारी दिए। ‘उजुरीको प्रकृति अनुसार त्यसको छानमिन हुनेछ’ प्रबक्ता मैनालीले नेपालखबरसँग भने, ‘राष्ट्र बैंक अन्तगर्तका ऐन र नियमावली हेरेर आवस्यक अनुसन्धान हुनेछ।’

व्यवस्थापिका संसदको २५ पुष ०७३ संसद बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) २०७३ पारित गरेको थियो। त्यसमा कुनैपनि संवैधानिक पद धारण गरेका व्यक्ति तथा सांसद बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था छ।

बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एउटै संस्थामा दुई कार्यकालभन्दा बढी बस्न नपाउने, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्ष पुगेपछि राष्ट्र बैङ्कको स्वीकृतिमा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न सक्ने व्यवस्थापनि त्यसमा छ।

तर नेपाल बंगलादेश बैंकको २४ भदौ ०७४ सञ्चालक समितिको बैठकले प्रमुुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई तेस्रो कार्यकालको लागि पनि नियुक्त गरेको थियो। ढुंगानाको नियुक्तिबारे उजुरी समेत परेपनि त्यो घटनालाई मिलाउन श्रेष्ठले मिलेमातो गरेको अरोप लागेको छ।

श्रेष्ठसँग नेपालखबरले सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

Facebook Comments