अनलाइनमा ठगी गर्ने गिरोह प्रहरी फन्दामा

काठमाडौं– अनलाइन व्यवसायको नाममा सर्वसाधारणलाई ठगी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइन व्यवसाय भन्दै सर्वसाधारणलाई सदस्य बनाएर र रोजगारी दिने भन्दै रोजगारीका लागि आउने आवेदकहरुबाट रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको आइबोस ग्लोबल मार्केटिङ कम्पनीका ७ जनालाई पक्राउ गरेको हो ।

कम्पनीले आइबोसको सदस्यता बनाउने भन्दै सर्वसाधारणबाट गैराकानुनी रुपमा पैसा असुलेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेर कानुनी कारवाही चलाएको जनाएको छ । प्रहरीले बुधबार चुच्चेपाट्टीमा रहेको आइबोस ग्लोबल मार्केटिङ केन्द्रीय कार्यालयका ६६ जनामध्ये ७ जनालाई दोषी ठहर गर्दै कारवाही गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले काभ्रे पाचखाल स्थायी घर भएका राजकुमार दंगाल, दोलखाका नारायण सिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रामेछापकै रविन नेपाली, सोलुखुम्बुका प्रदीप राई, रामेछापका पूर्णबहादुर श्रेष्ठ र रामेछापकी तिर्सना सुनुवारलाई ठगीको आरोपमा कारवाही चलाइएको जानकारी दिएको छ ।

Facebook Comments