गगन थापा ज्यु ! कांग्रेस हुँ भन्नै लाज लाग्न थाल्यो र पार्टी छोडें !

नेपालि कांग्रेस भित्र एउटा निकै सम्भावना बोकेको युवा नेता गगन थापा माथि आफ्नै पार्टी भित्र बाट भएको अत्याचार, राजनीतिमा चाख राख्ने जो कसैले पनि सजिलै बुझ्छ सक्छ, हामि अनुमान लाउन सक्छौं !

एउटा निडर एबं स्पष्ट वक्ता जो राष्ट्रको हितमा संधै खरो उत्त्रन्छ तर आफ्नो पार्टी र आस्थाको लागि कालोलाई सेतो भन्दै दिन भरि चिच्याउछ अनि बेलुका ओछ्यानमा पुगेर आफुले बोलेको झुट प्रति ग्लानि गर्दै रातभरी छटपटाउछ !

म तपाइको विवस्ता राम्ररी बुज्छु ! नचाहंदा नचाहंदै पनि आफ्नो पार्टीको अस्तित्व बचाउन दुनियाँ सामु झुटो भाषण गर्नु परेको बाध्यता मैले बुझेको छु !

“तपाइले बोलेका हरेक शब्द दिब्य बाणी लाग्थ्यो, भोकाएको बेला थालमा पस्केको भातले भन्दा तपाइको भाषणले बढी सन्तुष्टि दिन्थ्यो !”

तपाइले बोलेका हरेक शब्द दिब्य बाणी झैँ लाग्थ्यो ! मलाई अझै पनि स्मरण छ, बाह्र बर्ष अघि तपाइले इलामको म. ब. क्याम्पसको चौरमा दुई घण्टा दिएको भाषण मलाई दुई मिनेट जस्तो लागेको थियो !

राजनीतिमा खासै चासो नराख्ने म त्यही दिनबाट राजनीति प्रति आकर्षित भए ! भोकाएको बेला थालमा पस्किएको भातले भन्दा मलाई तपाइको भाषणले बढी सन्तुष्टि दिन्थ्यो !

टेलिभिजन बाट आउने तपाइका कुनै पनि कार्यक्रम, अन्तर्वार्ता छुटाउदिन थें ! तपाइकै प्रभावले राजनीति बुज्न हौसला पाए, राजनीतिक बिषयमा दुइ चार शब्द लेख्न सक्ने भए, तपाइकै कारणले सम्झौता गर्दै भए पनि आजका दिन सम्म एउटा इमान्दार कार्यकर्ता भएर कांग्रेस कै आस्थावान भए तर पार्टीको नेतृत्वले तपाईमा भएको ऊर्जा र सम्भावनालाई गरेको वेवास्ता, अवमुल्यन र पार्टीको घृणित कुकर्म, भ्रष्ट्राचार, राष्ट्रघात, सत्तालिप्सा प्रवृतिले मलाई पछिल्ला दिनमा कांग्रेस हुँ भन्न पनि लाज लाग्दै गयो !

यो लेख्दै गर्दा मेरा हातका औलाहरु कामिरहेका छन्, आँखामा आँशु रसाई रहेका छन्, आफुले आदर्श मानेको व्यक्तिलाई बिदाइ पत्र लेख्दा निक्कै पिडा हुदो रैछ तर आफुलाई सम्हाल्दै छु, किनकी सिंगान झर्दा पो नाक पुस्नु पर्छ तर क्यान्सर नै लागे पछि त नाकै काट्नु पर्दो रहेछ !

संधैभरि शिर निहुर्याउदै कांग्रेसी हुँ भन्नु पर्दाको पिडा सहन नसकेर कांग्रेस छोड्ने निर्णय गरे, जसले थोरै भए पनि राहत अनुभूति भएको छ, तर गगन थापा छोड्नु पर्दाको पिडा म यहाँ शब्दमा ब्यक्त गर्न सक्दिन, मनलाई निक्कै दह्रो पारेर अनुभूत मात्रै गर्न सक्छु !

राजाको सकृय शासन रहेको बेला तपाइले खुल्ला मन्चबाट राजतन्त्रको बिरुद्ध भाषण गर्दा तपाइका आवाज नारायणहिटीको पर्खालमा ठोकिन्थे जतिबेला नेताहरु जेल पर्ने डरले राजा संग डराएर मुन्टो लुकाउदै काठमाडौँ छोडदै थिए !

निरङ्कुस्ताको बिरुद्धमा आवाज उठाउदा देशद्रोहिको मुद्दा खेप्नु पर्यो ! जन आन्दोलन ६२/६३ मा झोलामा आफ्नै कात्रो बोकेर निरंग्कुसताको बिरुद्ध देशै भरि युवा परिचालन गर्न् होमिनु भयो !

बिद्यार्थी कालदेखि नै सक्रिय राजनीतिमा लाग्नु भयो, जेल नेल भोग्नु भयो तर आज सत्तालिप्सा हरुले सबै भुले ! युवाहरु कहिले सम्म सत्ता प्राप्तिको लागि बलिको बोका हुने ?

तपाई जतिको क्षमता र उमेर भएका व्यक्ति अमेरिका, बेलायत, क्यानाडा, फ्रान्स जस्ता देशमा कार्यकारी भएका प्रमुख भएका छन ! व्यवस्थापिका संसद्को बैठकमा बोल्दा तपाइको मुखबाट निस्केका ज्वालाहरु किन भोलिपल्ट सानेपाको पार्टी कार्यालय नपुग्दै सेलाउछ्न ?

मलाई थाहा छ, तपाई आफुलाई भन्दा आफ्नो पार्टीलाई बढी माया गर्नु हुन्छ तर पार्टी भन्दा ठुलो त देश र जनता हो नि, हैन र ? यदि देश र जनताको हित हुन्छ भने पार्टी र सिद्दान्त हजार पटक त्याग्न सक्नु पर्छ ! तपाइले आदर्श मानेका बिपीले पनि पार्टी र सिद्दान्त परिबर्तन गर्नु भाकै थियो नि हैन र ?

सगरमा हुटिट्याउ जस्तो कति कराउनु हुन्छ एक्लै ? छाडदिनुस ! त्यहि अंकगणितीय खेल र यस्मा जोड घटाउको घिनलाग्दो राजनीति खेल्ने खेलाडीहरुको संगत छोड्नु भएन भने सम्बृद्ध नेपाल निर्माणको लागि तपाइले बनाउनु भएको सपना गर्भमै तुहिन्छ !

बरु बैकल्पिक राजनीतिक शक्ति संग सहकार्य गर्नु भयो भने तपाइँ र देशकै लागि हितकारी हुने छ र यो अहिलेको आवश्यकता पनि हो ! तपाइको उपस्थिति बिना बैकल्पिक राजनीतिक शक्ति पनि अपूर्ण रहने महसुस गरेको छु !

Facebook Comments