हुरीले आँपको टिकोला झारेपछि मर्‍यो किसानको आशा

आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी टिकोला (चिचिला) देख्दा मख्ख परेका महोत्तरी जिल्लाका फलपूmल किसानको खुशी यसपालि टिक्न सकेन। गत मङ्गलबार साँझको हुरीबतासले टिकोला बग्रेल्ती भुइँमा झारेपछि फलपूmलबाट राम्रो आम्दानी लिने किसानको आश मरेको हो।

 

‘आँपको बोटमा पातै ढाकिने गरी टिकोला देख्दा यसपालि चाहिँ राम्रै आर्जन हुने आशा थियो,’ जिल्लाको गौशाला नगरपालिका बटौवाका किसान लक्ष्मीप्रसाद सिंहले भने ‘के गर्नु? सबै आफ्नो वशमा हुँदो रैनछ, हुरीबतासले टिकोला सोत्तर बनाइदियो, राम्रो आर्जनको सबै आश तुहियो।’

यसपालि सुरुमै आँपमा राम्रो मज्जर (मञ्जरी) खेले पनि चैतको कडा धूपका बेला मधुवा (आँपको फूल डढाउने रोग) ले हैरान भएर बचेका टिकोला पछिल्लो हुरीबतासले झारेपछि बोट नाङ्गो देखिन लागेको सम्बद्ध किसानको गुनासो छ। हुरीबतासले टिकोला झारेपछि अब आँपबाट आम्दानी लिने कुरो तुहिएको मात्र नभई घरमा खान पनि नपाइने स्थिति बनेको जिल्लाकै भङ्गाहा–४ का किसान हरिदेव साहको भनाइ थियो ।

जिल्लामा बर्दिवास नगरपालिकाको १० र ११ नं वडाको खयरमारा, वडा नं ५ को चेरु, टुटेश्वर र गणन्ता, वडा नं ४ को माईस्थान बस्ती व्यावसायिक आँप खेतीका लागि पकेट क्षेत्र मानिन्छन्। त्यसैगरी बर्दिवासकै वडा नं ९को पशुपतिनगर र १२/१३ को बिजलपुराका साथै भङ्गाहा–४ रामनगर एवं गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिँया, बटौवा, पडरिया र कान्छीबजार फलफूल खेतीका लागि कहलिएका ठाउँ हुन्। गत मङ्गलबारको हुरीबतासले गौशालाको बटुवा, लक्ष्मीनियाँ, भरतपुर, बेलगाछी, बर्दिवास नगरपालिकाको बिजलपुरा र पशुपतिनगर एवं भङ्गाहा नगरपालिकाको रामनगरमा बढी क्षति गरेको छ।

हुरीबतासले आँपको टिकोला झारेपछि बोट नाङ्गा देखिएका र कैयौँ बोट जरैदेखि उखेलिएको पशुपतिनगरका फलपूmल किसान सुरजसिंह कुशवाहाले बताए। आफ्नो बारीका ६० रुख आँपमध्ये १५ वटा रुख जरैदेखि उखेलिएको र ३० भन्दा बढी रुखका टिकोला ८० प्रतिशतभन्दा बढी झरेका उनको भनाइ छ।

जिल्लामा पछिल्ला केही वर्षयता फलफूल खेतीमा किसानको आकर्षण बढ्दै गए पनि सिँचाइको समुचित प्रबन्ध नहुँदा विभिन्न रोगको प्रकोप र प्राकृतिक प्रकोपले अपेक्षित उत्पादन भने लिन नसकिएको पीडित किसानले बताए। जिल्लामा अहिले करीब तीन हजार हेक्टरमा पुरानो बगैँचा र यसैवर्ष ५०० हेक्टरको हाराहारीमा आँप, लिची र केरा खेती थपिएको जिल्लाका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश बिराजीले जानकारी दिए।

आँपमा लाग्ने मधुवासहितका रोगको पूर्वरोकथाम उपचार र उपचार हुने भए पनि हुरीबताससहितका प्राकृतिक प्रकोप भने आम किसानको वशमा हुँदैन। तर बोटमा मज्जर लाग्नुपूर्व नै जरामा खनजोत र सिँचाइ, कीटनाशक उपचार र प्रत्येक बोटमा चुन दल्न सके त्यस्ता बोटका फलको भेट्नु दह्रो हुने भएकाले कम क्षति हुने कृषि विज्ञको सुझाव छ।

Facebook Comments