बसपार्कका ‘दलाल’ काउन्टर हटेपछि एकद्वार प्रणाली लागू, अनलाइन टिकट बुकिङकाे तयारी हुँदै

काठमाडाैं । गाेंगबुस्थित नयाँ बसपार्ककाे दृश्य फेरिन थालेकाे छ । बसपार्कमा यात्रुलार्इ तानातान गरी ठग्ने र पैसा कमाउने टिकट ‘दलाल’हरुको रजगज अन्त्य भएसँगै काउन्टरमा एकद्वार प्रणाली लागू भएकाे छ ।

सरकारसँग बसपार्क व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुद्देश्यीय प्रालिले आफ्नै काउन्टर राखेको छ । योसँगै यात्रु ठगिने सम्भावना पनि हटेकाे दाबी लाेत्सेकाे छ । अब दलालबाट ठगिनुपर्ने अवस्थाको अन्त्य भएको ल्होत्सेका महाप्रबन्धक सुनिल कुँवरले बताए ।

‘अहिलेसम्म नयाँबसपार्क पुग्दा दलालहरु कहाँ जाने भन्दै झोला नै तान्न अइपुग्थे । अब दलालहरुसँग ल्होत्सेको सम्बन्ध हुँदैन । हाम्रा कर्मचारीले तोकिएको भाडादरमा टिकट काट्छन्,’ कुँवरले भने, ‘अब फिल्म हलमा टिकट काटेको जस्तै पारदर्शीरुपमा बसका टिकट काट्ने छौं ।’

नयाँ बसपार्कमा टिकट काट्न ड्रेस लगाएका कर्मचारी खटिएका छन् । अब टिकट काट्न पुग्नेले विगतको जस्तो दुर्व्यवहार पनि खेप्नुनपर्ने दाबी ल्होत्सेको छ ।

विगतमा याताया समितिहरुबीचकाे आपसी मिलेमतोमा टिकटमा सिन्डिकेट कायम थियाे । तर अब यात्रुको टिकट व्यवस्थापनकाे काम ल्होत्सेले नै गर्ने बताइएकाे छ । बस कम्पनीहरुसँग समन्वय गरेर यात्रुलाई आफ्नो आवश्यक्ताअनुसारको सेवा व्यवस्थापन गर्ने योजना ल्होत्सेको छ ।

सरकारले पछिल्लाे समय यातायात क्षेत्रकाे सिन्डिकेट ताेड्दै बसपार्कका काउन्टर समेत हटाएपछि नयाँ प्रणाली लागू गर्न थालिएकाे हाे । यससँगै अनलाइन टिकट बुकिङ लागू गर्ने याेजना रहेकाे ल्होत्सेले जनाएकाे छ । निकट भविष्यमा नयाँ बसपार्कबाट छुट्ने कम्पनीका बसहरुलाई एकीकृत गरेर अनलाइन टिकेटिङ सुरु गर्ने तयारी भइरहेकाे कुँवरले बताए ।

सबै यातायात कम्पनीहरुले बसपार्कभित्रै टिकट काउन्टर पाउन नसक्ने भएकाले पनि उनीहरु समेत अनलाइन बुकिङमा जाने तथा बसपार्क बाहिर आफ्नै काउन्टर राख्नुपर्ने अवस्था अाएकाे बताइन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।