ट्रायलविनै धमाधम लाइसेन्स : परीक्षा दिने १ सय २९, पास गराइयो ३ सय ४०

ट्रायलविनै धमाधम लाइसेन्स : परीक्षा दिने १ सय २९, पास गराइयो ३ सय ४०

काठमाडौं – यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत ३ वैशाखमा लिएको हेभिवेटतर्फको सवारी चालक अनुमतिपत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) मा जम्मा ४५ जना परीक्षार्थी मात्रै सहभागी भए । तर, यातायात व्यवस्था विभागले ८२ जना उत्तीर्ण भएको नतिजा प्रकाशन गर्यो ।

परीक्षा दिने जम्मा ४५ जना, उत्तीर्ण हुनेचाहिँ ८२ जना देखेपछि परीक्षार्थी नै चकित परे । उनीहरूले ट्रायलका लागि खटाइएका यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर श्याम केसी र महानगरीय ट्राफिक महाशाखाबाट खटिएका प्रहरी नायब निरीक्षक ९सई० श्रीराम तिवारीसँग प्रश्न गरे । उल्टै पास भएको लाइसेन्स पनि नपाइएला भन्दै धम्कीको सामना गरे ।

हेभिवेटजस्तो सवारी चालकले ट्रायलविनै लाइसेन्स पाउने देखेपछि एक परीक्षार्थीले यातायात विभागमा तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईलाई भेट्न खोजे । उनका सहयोगीले के कामका लागि भन्दै सोधेपछि परीक्षार्थीले आफूले सवारी चालक परीक्षा उत्तीर्ण गरेको, तर ट्रायल नै नदिएका थुप्रै व्यक्ति पास भएको सूचीमा परेका कारणबारे जानकारी दिन भने ।

ती परीक्षार्थीको कुरा सुन्नासाथ भट्टराई सचिवालयका कर्मचारी मुखामुख गर्न थाले । अनि अनेक बहाना बनाएर फिर्ता पठाए । ‘यस्तो नचाहिँदो कुरा लिएर नआउनुस् फेरिफेरि, लाइसेन्सको कुरै सुन्न चाहनुहुन्न, अहिले त भेट्न सम्भव नै छैन,’ भट्टराई सचिवालयका कर्मचारीले भने । ती परीक्षार्थीलाई लाइसेन्स पाएकाले कति मानिस मार्ने हो भन्ने चिन्ता बढ्यो, पटक–पटक भट्टराईलाई भेट्न खोजे, तर सम्भव भएन ।

यता, परीक्षा लिन खटिएका यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर केसी र महानगरीय ट्राफिक महाशाखाबाट खटिएका सई तिवारीले आर्थिक लाभ लिएर धमाधम लाइसेन्स परीक्षामा सहभागी नै नभएकालाई उत्तीर्ण गराउने काम जारी राखे । ३ वैशाखमा ३७ जनालाई परीक्षामा सामेल नभए पनि उत्तीर्ण गराएका केसी र तिवारीले १० गते झनै बढाए ।

त्यस दिन ट्रायल परीक्षामा सहभागी नै नभएका ८५ जना हेभिवेटका परीक्षार्थीलाई उत्तीर्ण गराइयो । जम्मा ४७ जना परीक्षामा सहभागी भएका थिए १० वैशाखमा । तर, १ सय ३२ जना उत्तीर्ण भए । ट्रायलमा बसेर हेर्नेदेखि परीक्षा दिनेसम्मले बढीमा ५० नकटेको जानकारी गराए पनि १ सय ३२ जना उत्तीर्ण भएपछि ट्राफिकमै चर्चा चल्यो । ‘अलिक बढी नै भयो जस्तो छ, आर्थिक चलखेल धेरै छ, हाम्रा मान्छे पनि बिकेजस्तो छ,’ ट्राफिक महाशाखाका एक प्रहरी निरीक्षकले आफूभन्दा माथिल्लो तहका अधिकृतसँग गुनासो गरे ।

ती अधिकृत कसरी सम्भव होला र रु सिसिटिभी नै छ भन्दै तर्किए । यस्तै, १९ वैशाखमा उनीहरूले झनै सीमा नाघे । ट्रायलमा समावेश नै नभएका ८९ जना हेभिवेट सवारी चालकका परीक्षार्थीलाई पास गराए । ‘आफू त ट्रायलमै गइएन, पास पनि भइयो, सेटिङ मिलाउन जान्नुपर्छ,’ १९ वैशाखको नतिजा प्रकाशन भएकै दिन उत्तीर्ण भएका एक परीक्षार्थीले एक रेस्टुरेन्टमा भने ।

त्यसको केही समयपछि महानिर्देशक भट्टराईसम्म लाइसेन्समा भइरहेको बदमासीबारे जानकारी पुग्यो । स्रोतका अनुसार भट्टराईले तत्कालै महानगरीय ट्राफिक प्रहरीका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश रञ्जितकारसँग टेलिफोन सम्वाद गरे । रञ्जितकारले यसअघि नै अनुसनधान अघि बढाएको र फाइल पठाउने जानकारी दिए । उनीहरूले सबै सेटिङ मिलेकाले यो कुरा भइरहेको खुलस्त पारे । यता, ट्राफिक प्रहरीभित्रै अति भयो, खाने पनि सीमा हुन्छ भन्दै ट्राफिक प्रहरी जवान नै रिसाउन थाले ।

भट्टराईले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसम्मलाई यसबारे जानकारी गराई छानविन गर्न सुझाए । छानविन गर्दा तीन दिनको ट्रायल परीक्षामा हेर्दा जम्मा १ सय २९ जना मात्रै हेभिवेटको ट्रायलमा सहभागी भएको देखियो । तर, यातायात व्यवस्था विभागले परीक्षामा सहभागी नै नभएका २ सय ११ जनाको नाम थपेर ३ सय ४० जना उत्तीर्ण भएको सूची प्रकाशन गरेको थियो ।

एकै दिन यति ठूलो संख्यामा हेभिवेटको प्रयोगात्मक परीक्षा हुनै नसक्ने भए पनि सेटिङमा मिलाएको भन्दै केसी र तिवारीले ज्यान मार्ने लाइसेन्स दिने निर्णय गरे । स्रोतका अनुसार उनीहरूले प्रतिव्यक्ति ६५ देखि ८५ हजार रुपैयाँ घुस लिएर ट्रायल परीक्षामा सहभागी नै नभएका व्यक्तिलाई उत्तीर्ण गराएको नतिजा प्रकाशन गरेका हुन् । महानगरीय ट्राफिकले ट्रायलमा भएको बदमासीको सप्रमाण बिभागका महानिर्देशक भट्टराईलाई पठायो ।

भट्टराईले घटनाको प्रकृति हेर्नसाथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाइ दिए । सोहीअनुसार अख्तियारले इञ्जिनियर केसी र सई तिवारी, कमल स्याङतान, हरिबहादुर थापा र मीनबहादुर तामाङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । उनीहरुले तीन दिनमा २ सय ११ जनालाई परीक्षाबिनै पास गराएको पुष्टि भएपछि पक्राउ गरिएको अख्तियारले जनाएको छ । सौर्य दैनिकमा समाचार छ ।

Facebook Comments