आजबाट विमान सेवा सञ्चालनको उद्घाटन

आजबाट विमान सेवा सञ्चालनको उद्घाटन

आन्तरिक उडान सेवा बन्द भएको ११ वर्षपछि राजविराज विमानस्थलबाट विमान सेवा पुनः सञ्चालनमा आउने भएको छ । विमानस्थल उद्घाटन भएको झन्डै ६ दशकपछि आउँदो केही दिनमै नियमित उडान सुरु हुने भएको हो । जसकारण सप्तरीवासीको दशकौंदेखिको जहाजमा उड्ने सपना साकारसमेत भएको छ ।

सदरमुकाम राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा अवस्थित विमानस्थलबाट बुधबार श्री एयरलाइन्सको ५० यात्रु सिट क्षमता भएकोसीआरजे–२०० जेट इन्जिन विमानले परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
परीक्षण उडानमा सेप्mटी डिपार्टमेन्टका क्याप्टेन डिआर निरौला र प्रशिक्षका पाइलटद्वय प्रज्जवल अधिकारी र राजेश श्रेष्ठ सहभागी भएका थिए । पाइलट श्रेष्ठले यस विमानस्थलबाट नियमित हवाई सेवाका लागि कुनै समस्या नदेखिएको प्रतिक्रिया दिए । परीक्षण उडान हेर्न विमानस्थलमा सर्वसाधारणको ठूलो भीड लागेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण राजविराज विमानस्थल परियोजना प्रमुख रामएकवाल महतोले नियमित उडानका लागि भने अझै केही प्राविधिक विषय मिलाउनुपर्ने भएकाले केही समय लाग्ने बताएका छन् ।

३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपैयाँको लागतमा कुल १ हजार ५ सय मिटर लामो तथा ३० मिटर चौडा धावन मार्ग ग्राभेल, पिचिङ, ट्याक्सी–वे, एप्रोन कालोपत्रे भई र मार्किङ गर्ने काम सकिए पनि टावर र टर्मिनल भवनको केही काम बाँकी नै रहेकाले नियमित उडानमा केही समय लाग्ने प्रमुख महतोले बताए । उनले नियमित विमान सेवा सुचारुका लागि नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र र उपकरण जडानका लागि पुगिसकेको र धमाधम काम भइरहेको जानकारी समेत दिए ।

वि.सं. २०१६ सालमा तत्कालिन उद्योगमन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धावन मार्ग पक्की नहुँदा पटक–पटक सेवा बन्द हुँदै आएको थियो । पछिल्लो पटक ०६४ साल मंसिर २ गतेदेखि यस विमानस्थलबाट हवाई सेवा पूर्णरूपमा ठप्प छ ।

यता विमानस्थलका लागि जग्गा दान गरेका जग्गादाताका छोरा महामायाप्रसाद सिंहले सप्तरीवासीले देखेको सपना अब साकार हुने भन्दै सरकारलाई धन्यावादसमेत दिएका छन् । उनका बुबा स्व. रुद्र नारायण सिंहले विमानस्थलका लागि ५५ मध्ये ४८ बिगहा जग्गा दान दिएका थिए ।

यसैबीच बिहीबार (भोलि) राजविराज विमानस्थलबाट विमान सेवा सञ्चालनको उद्घाटन तथा स्थालगत निरीक्षणका लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पूर्वनागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देव तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतको टोली आउने कार्यक्रम तय भएको परियोजना प्रमुख महतोले जानकारी दिएका छन् ।

Facebook Comments