“कबाडी फोहोर होइन, मोहोर हो, कबाडी बटुलेर कलेज खर्च

“कबाडी फोहोर होइन, मोहोर हो, कबाडी बटुलेर कलेज खर्च

काठमाडौं, अचेल सहरमा भाले बास्दैन । भालेको डाकसँगै पूर्व क्षितिजमा रातो डोरो पनि बस्दैन । ‘कबाडीवाला’ले लिएर आउँछन् बिहान । यस्तो लाग्छ– काठमाडौँ सहरका गल्लीहरूमा घाम पस्दैनन्, तर कबाडीवाला पस्छन् ।

‘खाली सिसी… पुराना कागज…. फलाम….’ एकाबिहानै कबाडीवालाका यी आवाज सुन्दै ब्युँझन्थिन् गौरी तिमल्सिना । तिनै कबाडीवालालाई ‘पुराना’ कापी किताब थमाएर थुप्रै पटक खुसी साटेकी छिन् गौरीले । कापी–कलम किन्ने पैसा जोहो गरेकी छन् । तर, समय स्थिर कहाँ रहिरन्छ र ! बदलियो ।

अहिले तिनै कबाडीवालाझैँ खाली सिसी, पुराना कापीकिताब, फलामका टुक्राटाक्रीमा जीवनका रङ खोजिरहेकी छन् उनी । सहरका गल्लीगल्लीमा साइकल डोर्‍याउँदै कबाडी सामान बटुलेर जिन्दगीको सपना संगालिइरहेकी छिन् गौरी ।

गएको हप्ताकोमात्रै कुरा हो, गौरी एकाएक सामाजिक सञ्जालमा ‘भाइरल’ बनिन् । काँडाघारीचोकमा कबाडी सामग्री राखेर साइकल डोहोर्‍याउँदै गरेको तस्बिर बाटो हिँड्दै गरेकी गरिमा घिमिरेले खिचिन् ।

सरगम भट्टराईले त्यसलाई सामाजिक सञ्जालमा हाले । वायुवेगमा फैलियो । प्रतिक्रियाको ओइरो लाग्यो । स्थानीय गान्धी आदर्श मावि, गोठाटारमा कक्षा १२ मा पढ्ने गौरी सामान्य किशोरी थिइन् । एकाएक ‘सेलिब्रिटी’ बनिन् ।

काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा कबाडी सामग्री संकलन गर्ने प्रायः तराई–मधेशमूलका छन् । पहाडिमूलका भेटिनै मुस्किल । महिला त छँदै छैनन् भन्दा हुन्छ ।

१२ कक्षामा अध्ययनरत किशोरी साइकल डोर्‍याउँदै कबाडी संकलन गरेर हिँड्दा सामाजिक सञ्जालमा आश्चर्य प्रकट गर्नु स्वभाविकै थियो ।

रोजीरोटीका लागि बरु विदेश जान तत्पर हुने तर स्वेदशमा सामान्य काममा पसिना बगाउन लाज मान्नेहरूलाई गतिलो जवाफ पनि थियो त्यो ।

तर, उनलाई त्यसले चैनको स्वास फेर्न दिएन । तस्बिर सामाजिक सञ्जालमा फैलिएको रातआँखा झिमिक्क पनि गर्न सकिनन् । निदाउँदै ननिदाइ छ्याङ्ग उज्यालो भयो ।

“ला मैले त फोटो आउने काम पो गरेँछु ! ” मनमनै यस्तो सोचेर उनलाई निकै लज्जाबोध भयो ।सानैमा सामाजिक इज्जत तथा प्रतिष्ठाको बोझले थिचिएकी गौरीलाई घरपरिवारले के भन्ला भन्ने पिरले पिरोल्नसम्म पिरोल्यो ।

उरन्ठेउला साथी न हुन् । फोन नै गरेर जिस्क्याए, “फेसबुकमा तैँले साइकल डोर्‍याएको फोटो छ । कबाडी सामान उठाउँदिरैछेस्, हाम्रो घरमा पनि पुरानो दराज छ, लिन आइज !”

निकै ग्लानी भयो उनलाई । साइकल डोर्‍याएर हिँडेकोमा पश्चाताप पनि । फोटो खिच्ने गरिमालाई बाबु विनोदले झाँको झारे– “हाम्रो छोरीको इज्जत लिलाम गर्ने ?” सम्झाउन हम्मेहम्मे पर्‍यो उनीहरूलाई ।

गरिमा सुनाउँछिन्– “सामाजिक इज्जत, प्रतिष्ठामा कतै दाग नलागेको परिवार । परिश्रमलाई अत्यन्त सम्मान गर्ने छोरी । तर, स्कूलका साथीसंगातीले हेयभावले हेरिदिएपछि उनी अत्ताल्लिएकी रहिछन् ।

बुझाउन निकै पापड बेल्नुपर्‍यो ।”तर, गौरी अहिले फेरिएकी छन् । अनुहार पूर्णचन्द्रझैँ उज्यालो छ । गर्वले शीर ठाडो भएको छ ।रुँदारुँदै थाकेका आँखामा बिहानी छाएको छ ।

कारण– सामाजिक सञ्जालका प्रतिक्रियाले उनलाई हौस्याएको छ । प्रेरणाले पुलकित तुल्याएको छ । भरथेगका वचनले उद्देश्यप्रति अविचलित रहन सुझाएको छ । र त, पूर्ववत् लयमा काँडाघारीका गल्लीहरूमा निर्धक्क साइकल डोर्‍याउँदै कबाडी सामग्री उठाउने प्रण गर्छिन् उनी ।

तस्बिरभित्रको कथा

दोलखा कालिञ्चोक गाउँपालिकाको रैथाने तिमल्सिना परिवार । पुस्तैनी गरिबीको टोकसोमा परे । खेतीपातीको आयस्ताले वर्षदिन खान नपुग्ने भएपछि बाबु विनोदले २०५४⁄०५५ सालमा गाउँमा सानोतिनो पसल खोलेका थिए, ऋणपान गरेर । तर, ऋणले ऋण नै कमायो, उकासिन सकेनन् ।

गरिबीको दुश्चक्रबाट पार नपाउने देखेर ६० को दशकमा पुख्र्यौली थातथलो छाडेर भक्तपुर झरे । “बिहान खाए बेलुका के खाउँ हुने, बेलुका खाए बिहान चुल्हो बाल्नै धौधौ । गरिबीले माया दया नराखी लखेट्न थालेपछि गाउँ नछाडी सुखै पाइनँ,” सहर पस्नुको दुःख सुनाउँछन् उनी

गरिबीलाई काँधमा बोकेर आएकाले होला, भक्तपुर आएपछि पनि विनोदको जीवनमा पारिलो घाम लागेन । दुई छोरीको जन्म गाउँमै भइसकेको थियो । छोरा जन्मिए । गरिबीमाथि अभाव थपिएझैँ भयो ।

भक्तपुरमा शुरूमा विनोदले ज्यामी काम गरे । बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म सिमेन्ट र बालुवा घोल्थे । तर, पनि जीवनमा सुख मिसिएन । शारीरिक रूपमा बलियाबाङ्गा होइनन् । हावाको वेग थाम्न मुस्किल हुने ‘फुकिढल’ ज्यान । पैसा होइन मनग्गे रोगचाहिँ कमाए । अन्ततः त्यही रोगले ज्यामी कामसँग विमुख गरायो उनलाई ।

ज्यामी पेसाबाट विस्थापित भएपछि उनले कुक तालिम लिए । स्वयम्भुको एक निजी स्कुलमा कामसमेत पाएका थिए । भक्तपुरदेखि स्वयम्भु पुग्नुपर्ने काठमाडौँको भीडभाड र जाम बाधक बन्यो ।

समयमा पुग्न जहिल्यै समस्या । स्कूल सञ्चालकको बुहार्तन सहनुभन्दा स्कूल छाड्नु उत्तम ठानेर कुक पेसालाई समेत तिलाञ्जली दिए उनले।

अहिले गरिबीमाथि ऋणको भारी थपेर भक्तपुरमै चिया पसल चलाएका छन् । चिया पसलले मात्रै साहूलाई तिर्न र बुझाउन नसक्ने देखेपछि कबाडी सामानसमेत उठाउन थालेका छन् । र, गौरी अनि १४ वर्षीया उनकी बहिनीले बाबुलाई सघाउँदा रहेछन् ।

बाबुआमा भन्दा एक वर्षपछि सहर आएकी हुन् गौरी । बाल्यावस्था नै किन नहोस् गाउँको दुःखसँग राम्रै चिनापर्ची भयो । सहर आएपछि फोक्सो भरिनेगरी सुखको सास फेर्न पाइन्छ भन्ने लागेको थियो । तर, झन् ठूलो दुःख आइलाग्यो । केही समय उनले बाबुसँगै ज्यामी काम पनि गरिन् ।

मुटु कठ्यांग्रिने शीत याममा बालुवा चालिन् । सिमेन्ट घोलिन् । यतिमात्रैले चढ्न पुगेन शिक्षाको खुट्किलो । अहिले पढाइ खर्च जुटाउन उनी अरूका घरका जुठाभाँडा माझ्छिन् ।

लुगा धुन्छिन् । “बाबु–आमाको दुःख कति टुलुटुलु हेर्नु भनेर फुर्सद हुनेबित्तिकै अरूकहाँ भाँडा माझ्न जान्छु, लुगा धोइदिन्छु,” कारण प्रष्ट्याउँछिन् उनी ।

लुगा धुने र भाँडा माझ्ने कामले मात्रै पढाइ खर्चको जुगाड नभएपछि कबाडी सामान बटुल्न थालेकी हुन् उनले । जिन्दगीलाई अभावको आँखाबाट मात्रै पढेकी गौरीसँग थुप्रै सपना छन् ।

कुनै समय सेनामा जागिर खाएर बाबुको अनुहार उज्यालो पार्छु भन्ने लागेको थियो उनलाई । गरिबीबाहेक जिन्दगीको परिभाषा नै नबुझेकी गौरीको सेनामा प्रवेश गर्ने सपनाले अहिले मृत्युवरण गरिसकेको छ । किन ?

“जिन्दगी सोचेजस्तो हुँदैन र बनाउन पनि सकिँदैन । किनकि जिन्दगीको गति आफ्नै हुँदो रहेछ !,” दार्शनिक प्रतिउत्तर छ उनको । १६ वर्षे जीवन यात्रामा जिन्दगीलाई गहिरोसँग छामिन् ।

अभावलाई राम्रोसँग पढिन् । दुःखलाई आँखाले नापिन् । त्यसैले अहिले जीवनको लक्ष्य बदलेकी छिन् उनले । शिक्षा शास्त्र संकायकी छात्रा गौरीको शिक्षक बन्ने अभिलाषा छ । त्यही उद्देश्य पूर्तिका लागि गल्लीगल्लीमा साइकल दौडाउँदैछिन् । कबाडी उठाइरहेकी छन् । जीर्ण साइकलले लक्ष्यमा पुग्न सघाइरहेको छ भनौँ ।

गरिबी निर्मम हुँदो रहेछ !

निधारमा रातो ठाडो टीका । कानमात्रै होइन रुद्रघन्टीमा पनि लपक्कै चन्दन टाँसेका छन् विनोदले । धर्मसँगै कर्ममा पनि उस्तै तिलस्मी लगाव छ उनको ।

आफूले हड्डी घोटे पनि छोराछोरीले पढून् नै भन्ने इच्छा थियो । भरमग्दुर प्रयास नगरेका पनि होइनन् । बनिबुतो गरेरै भए पनि छोराछोरीलाई शिक्षाले आँखा देखाउने रहर थियो ।

तर, गरिबीले घुँडा टेकायो उनलाई । “दुःखले आहत भएर कहिलेकाहीँ ‘हातखुट्टा लाइदेको छँदैछु, गरेर खाओ भन्थेँ’ कुरा बुझेर होला जेठी साइकल लिएर कबाडी उठाउन पो थालिछ !,” भावुक हुन्छन् बाबु ।

चिया पसलले मात्रै उँभो लगाउने छाँट नदेखेपछि उनले कहिलेकाहीँ कबाडी संकलन गर्थे । घरमै कबाडवाला बोलाएर बिक्री गर्ने गर्थे । “दिदीबहिनीले नै त्यसकै सिको गरेछन्,” अनुहारमा पश्चाताप भाव छाउँछ उनको । कबाडीवालाप्रतिको धारणा तीन महिना भयो गौरीले कबाडी सामान बटुल्न थालेको ।

कहिलेकाहीँ बहिनीले पनि सघाउँछिन् । तर, बाबुआमालाई सुइँकोसम्म दिएका थिएनन् । साँझ, बिहानको समय पारेर कबाडी सामग्री जम्मा पार्न जान्छन् तर कबाडीवालालाई हेर्ने समाजको नजरीया राम्रो छैन । घरको फोहोरतुल्य सामग्री उठाउने सफाइदूत हुन् उनीहरू । तर समाजले हेय भावले हेर्छ भन्छिन् गौरी ।

कतिपय कबाडीलाई मानिसहरुले तुच्छ गाली गरेको सुन्दा उनको चित्त दुख्छ । “कबाडी फोहोर होइन, मोहोर हो । यसलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ ।

आम्दानीको स्रोत बनाउन सकिन्छ भनेर मानिसले थाहा पाउनै बाँकी हो कि !”आश्चर्य व्यक्त गर्छिन् उनी । यसैका कारण हुनसक्छ, कबाडी क्षेत्रमा काम गर्ने अधिकांश दशगजा पारिका छन् । तराई–मधेशमूलका मात्रै छन् । र, अपवाद बनेकी छिन् गौरी ।

समाज परिस्कृत र सुसंस्कृत भइसकेको छैन । कबाडी कामलाई ‘लाज–घिन’ सोच्छ समाज । “आय–आर्जनको स्रोतका रूपमा उपयोग गर्दै जाँदा समाज बदल्ने तहमा पुगूँला नि !,”गम्भीर हुँदै कुराकानी टुंग्याउँछिन् उनी । आमुख तस्बिर सौजन्य : गरिमा घिमिरे, बार्हखारिबाट साभार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।