अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप छनोटमा नेपालको छनोट पक्का

काठमाडौं : नेपालले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको छ।

मलेसियामा मंगलबार भएको खेलमा भुटानमाथि एक सय १७ रनको सजिलो जितसँगै नेपालले अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा आफ्नो सहभागिता निश्चित गरेको हो।

भुटानमाथिको जितसँगै चार खेलबाट आठ अंक बनाएको नेपाल सात टोली सम्मिलित प्रतियोगिताको अंकतालिकाको शीर्ष स्थानमा कायमै छ। सिंगापुरको समेत आठ अंक नै भए पनि नेपाल रन रेटका आधारमा अगाडि रहेको हो।

मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५० रन बनाएको थियो।

जवाफी ब्याटिङमा ओर्लिएको भुटानले भने १६.४ ओभरमा ३३ रनमात्र बनाउन सक्यो। नेपालको जितमा ब्याटिङतर्फ प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरीले अविजित सर्वाधिक ७५ रनको योगदान गरे भने बलिङतर्फ सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान तीन÷तीन विकेट लिए। प्रदीपले ६८ बलको सामना गरी दुई छक्का र ६ चौका प्रहार गरे।

यसैगरी अनिलकुमार शाहले २१ बलमा २७ रन जोडे भने आरिफ शेख १३ र दीपेन्द्रसिंह ऐरी १५ रनमा आउट भए। करण केसी पाँच बलमा ११ रन जोड्दै अविजित रहे।

प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारी भने शून्य रनमै आउट भए। अनिलले एक छक्का र दुई चौका प्रहार गरे भने करणले एक छक्का र दीपेन्द्रले दुई चौका हिर्काए।

स्पिनरद्वय सन्दीप र ललितनारायणबाट बलिङ आक्रमण सुरु गरेको नेपालले भुटानलाई सुरुबाटै दबाबमा राखेको थियो। ललितनारायणले पहिलो ओभरको दोस्रो र तेस्रो बलमै भुटानको लगातार दुई विकेट लिएका थिए।

चौथो ओभरमा सन्दीपले पनि लगातार दुई विकेट लिँदा भुटान चार विकेटको नोक्सानीमा चार रनको दयनीय अवस्थामा पुगेको थियो।

नेपाली बलरले नियमित रूपमा विकेट निकाल्दा भुटानले १०.५ ओभरमा केवल १६ रन जोड्दै नौ विकेट खर्चिएको थियो। नवौं क्रमका ब्याट्सम्यान तेन्जिङ वाङ्चुकले ११ रन जोडेपछि मात्रै भुटानको योगफल केही अघि बढेको थियो।

तेन्जिङबाहेक भुटानका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। वसन्त रेग्मीले दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक÷एक विकेट हात पारे।

नेपालसँगको पराजयपछि विश्वकप खेल्ने भुटानको योजना भने पहिलो चरणको एसियाली छनोटमै टुंगिने सम्भावना बढेको छ। अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न भुटानले प्रतियोगितामा बाँकी रहेको आफ्नो दुईमध्ये दुवै खेलमा जित हात पारेर मात्रै पुग्ने छैन।

थाइल्यान्डले पनि बाँकी रहेको आफ्नो अन्तिम खेलमा पराजय व्यहोर्नु पर्नेछ। जारी प्रतियोगिताबाट शीर्ष तीन टोली अन्तिम चरणको छनोट प्रतियोगिताका लागि चयन हुनेछन्।

मलेसियाले पूरा गर्‍यो ६ रनको लक्ष्य

जारी विश्वकप छनोटअन्तर्गत मंगलबार भएको खेलमा मलेसियाले म्यानमारबाट पाएको ६ रनको झिनो लक्ष्य पार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै हुने यस्तो खेलमा मलेसिया आठ विकेटले विजयी भयो। वायुमास ओभलमा पहिलो ब्याटिङ गरेको म्यानमारले निकै कमजोर प्रदर्शन गर्‍यो।

म्यानमारले १०.१ ओभरमा आठ विकेट गुमाउँदै नौ रन बनाएको थियो। वर्षाका कारण म्यानमारको पाली पूरा हुन नपाउँदा डकवर्थ एन्ड लेविस नियमका आधारमा घरेलु टोली मलेसियाले आठ ओभरमा केवल ६ रनको परिमार्जित लक्ष्य पाएको थियो। उक्त लक्ष्यलाई मलेसियाले १.४ ओभरमै दुई विकेट गुमाएर पार गरेको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: