के हो लोकवार्ता ?

 तुलसी प्रभास । सुन्दा अलि नौलो नाम हो लोकवार्ता । नसुनेको विषय नौलो हुनु स्वाभाविक पनि हो । हामीले लोकसाहित्य, लोकसंस्कृति, लोकविश्वास, लोककला, लोकोक्ति, लोकाचार आदि सुन्दै र पढ्दै आएका नाम हुन् । तर लोकवार्ता भने नेपालमा धेरै पछिमात्र प्रयोगमा आएको शब्द हो ।

‘लोक’ र ‘वार्ता’ को संयोजनबाट ‘लोकवार्ता’ शब्द निर्माण भएको हो । अंग्रेजीमा यस शब्दको समानार्थी ‘फोकलोर’ (Folklore) प्रयोग गरिन्छ । मानव विकासका क्रममा साधारण मानिसले व्यवहारमा ल्याएको परम्परागत पेशा, व्यवसाय, चालचलन, जीवनशैली, औषधीमूलो, यन्त्रविद्या, कृषिप्रविधि, वातावरण व्यवस्था, वास्तुकला, नाचगान, वाद्यवादन, अभिनय, रंगमञ्च, चित्रकला, साजसज्जा, आभूषण, अनुष्ठान अदि विषय र यससँग सम्बन्धित क्रियाकलापको अध्ययन, अनुसन्धान, अभ्यास आदिलाई एकमुष्ठ रुपमा बुझाउने शब्द नै लोकवार्ता हो । यसले मानव जातिको समग्र जीवनपद्धतिलाई बुझाउँछ । पछिल्लो समयमा यो शब्द विश्वमै निकै लोकप्रिय बन्दै गएको छ ।

लोकवार्ता हिजोका हाम्रा पुर्खाले गर्दै आएका र तपाइँ हामीले आजसम्म पनि अपनाउँदै आएका सबैखाले जीवनपद्धतिको नाम हो । यसलाई एकथरि विद्वानहरुले लोकसंस्कृति नाम दिएका छन् । तर लोकवार्ता लोकसंस्कृतिको व्यापक रुप हो । यसले ज्ञानको विशाल भण्डारलाई बुझाउँछ । त्यसैले आजभोलि लोकसाहित्य, लोकसंस्कृति, लोकविश्वास, लोककला, लोकोक्ति, लोकाचार, लोकभाषा र लोकजीवनका सट्टामा एउटै लोकवार्ता शब्द प्रचलनमा आएको छ । लोकवार्ता शब्दको प्रथम प्रयोग बेलायती लेखक विलियम थम्सले सन् १८४६ मा गरेका हुन् । थम्सले लोकजीवन र मिथकहरुको अनुसन्धानका सिलसिलामा यो शब्द पहिलोपटक प्रयोगमा ल्याएका हुन् ।

संयुक्त राष्ट्र संघले  लोकवार्तालाई अमूर्त सम्पदाअन्तर्गत राखेर व्याख्या गरेको छ । प्रचलनहरु, प्रतिनिधित्वहरु, अभिव्यक्तिहरु, ज्ञान, सीपहरु साथसाथै साधनहरु, वस्तुहरु, कलावस्तुहरु र त्यससँग  जोडिएका सांस्कृतिक स्थलहरु, जसलाई ती समुदायहरु, समूहहरु तथा कतिपय अवस्थामा व्यक्तिहरु समेतले सांस्कृतिक सम्पदाको अंगको रुपमा चिनारी गरिरहेका हुन्छन् तिनलार्ई बुझ्नुपर्दछ भनेर अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि पेरिस, १७ अक्टोबर, २००३ मा उल्लेख गरिएको छ  ।

नेपालको सन्दर्भमा लोकवार्ता (Folklore) नितान्त नौलो विषय हो ।  नेपाली लोकवार्ता तथा संस्कृति समाजका अध्यक्ष संस्कृतिविद् तुलसी दिवस ले भनेझैँ पहिला–पहिला नेपालमा लोकवार्तालाई निकै पुरातन दृष्टिले हेरिन्थ्यो। तर, लोकवार्ता र लोकसंस्कृति आधुनिक दृष्टिमा समेत उत्तिकै महत्त्वपूर्ण छन् । लोकवार्ताभित्र गाउँखाने कथा, उखानटुक्का, रीतिरिवाज, अनुष्ठान, जीवनशैली सबै पर्छन् ।

त्यसैगरी प्राध्यापक अभि सुवेदी लेख्छन्  – “फोकलोर अविनाशी विषय हो, किनभने यो मानिसको भित्री सिर्जनशील शक्तिसँग जोडिएको छ । मानिसको ऊर्जा मिथकको फिनिक्स पंक्षीजस्तो खरानी भएर थुप्रो लागे पनि त्यहीँबाट फेरि पानी हुँदै अनि नाद भएर उही आकारमा उठ्छ । मानिसको यही शक्ति फोकलोरको अन्तर्यमा रहेको छ ।”

साहित्यलाई लोकसाहित्य र शिष्ट साहित्य भनेर बुझ्ने गरिन्छ । लोकसाहित्यलाई अशिष्ट र अपठितहरुको साहित्य भनेर परिभाषित गरिएको छ । यसको जन्म त्यस्तै परिवेशमा भएकाले पनि त्यसरी परिभाषित गरिएको हुन   सक्दछ । तर अबको समाज त्यस्तो छैन । अब गाउँले र अपठित साहित्य भनेर सबैले हेलाका रूपमा हेर्ने गरेको  लोकसाहित्य अहिले सहरिया समाजले पनि प्रयोगमा ल्याउन थालेको छ । समयसँगै गाउँले र पाखे शब्दमा पनि रुपान्तरण हुन थालेको छ । अब गाउँ र शहरको सीमारेखा मेटिइसकेको  छ । मानव जातिको बसोबास रहेका जुनसुकै ठाउँमा पनि लोकसाहित्य र लोकवार्ता विकसित हुन सक्दछ भन्ने मान्यता अहिले आएर स्थापित भैसकेको छ ।

हाल नेपालमा लोकवार्तासँग सम्बन्धित विभिन्न संघ संस्थाहरु स्थापना भई लोकवार्ताका विविध गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । तिनीहरुमा संस्कृतिविद् तुलसी दिवसको नेतृत्वमा रहेको नेपाली लोकवार्ता तथा संस्कृति समाज, प्रा.डा. प्रेमखत्री अध्यक्ष रहेको लोकवार्ता परिषद् नेपाल, नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गतको लोकवार्ता विभाग प्रमुख रहेका छन् । त्यसैगरी नेपालको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा लोकवार्ता विभाग गठन भई यस विषयमा पठनपाठन पनि सुरु भैसकेको छ भने त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरुमा पनि विभाग गठनको प्रक्रियामा छ । यसबाट नेपालमा विस्तारै लोकवार्ता अध्ययनको आवश्यकता महसुस हुन थालेको देखिन्छ ।

समग्रमा र सबैले बुझ्नेगरी भन्दा तपाईँ हामी गाउँघरमा बिरामी पर्दा थिचेर खाने जडिबुटी, लामाधामी, पिनासको कथा, झारफुक, हामी बस्ने गुन्द्री, पिर्का, बिरालोले बाटो काट्दा साइत पर्दैन भन्ने लोकविश्वास, मिथकहरु, किंवदन्तीहरु, पूजापाठ, परम्परागत पेशा, व्यवसाय, हाम्रा ढिकी जाँतो, खरको छानो, माटाको घर, हामीले खाने गिठा, तरुल, भ्याकुर, नाचगान, लोकनाटक, लोककथा, गाउँखाने कथाहरु, उखानटुक्का, हाम्रा चाडपर्व, अतिथि सत्कारको शैली लगायत जनजीवनसँग गाँसिएका परमपरागत सबै कुराहरु लोकवार्ताअन्तर्गत पर्दछन् । 

आज संसारमा विकास र उन्नतिका नाममा धेरै भौतिक चमत्कारहरु भएका छन् । भौतिकताले हाम्रो जीवनशैलीलाई यान्त्रिक बनाइदिएका छन् । हाम्रा बहुमूल्य मान्यताहरु लोप हुँदैछन् । हाम्रो प्राकतिक जीवनशैलीलाई कृत्रिमताले ढाकिदिएको छ । जसका कारण मानव जीवनमा अनेकथरि समस्याहरु उत्पन्न हुन थालेका छन् । विकासले विनासको बाटो निर्धारण गरिरहेको छ । हाम्रा परम्परमा रहेका वैज्ञानिक तथ्यहरुको प्रयोग गरेर पुरानै जीवनपद्धति अबलम्बनमा सघाउनका लागि लोकवार्ताको अध्ययन अनुसन्धान आवश्यक देखिएको छ ।

नेपाल लोकवार्ता अध्ययनका लागि संसारमै उत्कृष्ट मुलुक मानिन्छ । यहाँका अभौतिक सम्पदाहरुका कारण यो देशलाई लोकवार्ताको जीवित संग्रहालय भन्ने गरिन्छ । यिनै अभौतिक सम्पदाहरुको समुचित प्रयोग गर्न सकियो भने यो देशको समग्र विकास सम्भव छ । अरुको देखासिकी गरेर हामी हाम्रो परम्पराबाट विमुख हुँदै गयौँ भने हामी जहाँको तहीँ रहने निश्चित छ । यहाँका अनेक जातिका अनेक विश्वासहरु, चालचलनहरु, व्यवहारहरु, जीवनशैली आदि आदि सबै कुरा वैज्ञानिक छन् । हाम्रा पुर्खाले जोगाउँदै आएका यस्ता विरासतलाई आजको पुस्ताले नष्ट गर्दैछ त्यसैले त समयसमयमा हामी पछुताउनु परेको छ । त्यसैले आउनुस् सबै मिलेर लोकवार्ताको अध्ययन गरौँ र हाम्रो परम्परागत जीवनशैलीका वैज्ञानिक पक्षहरु पहिल्याई त्यसलाई पुनर्जीवन प्रदान गरौँ ।

जय लोकवार्ता !!

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…