हाम्रो संस्कारमाथिको निकृष्ट आक्रमण

‘‘जंगलमा गाडियो गुल्मीका कोरोना संक्रमितको शव’’ आजको लेखन यही शीर्षकको समाचारबाट सुरु गरेँ । घटना कोरोनाका कारण मरेका गुल्मीका शिक्षकसँग सम्बन्धित रहेछ । हरेक दिन बिहान ब्युँझेपछि ओछ्यानमै पल्टेर समाचारहरु हेर्ने बानी परेको छ । झन यतिबेला त हरेक बिहानीका मृत्युका समाचारले मनलाई विचलित बनाउँछन् । यो समाचार एक अक्षर नबिराई पढिसकेपछि अरु समाचार हेर्नै मन लागेन । मन निकै अधीर भयो । एउटा क्याप्सन राखेर यो समाचार शेयर गरेँ र तत्काल एउटा स्टाटस लेखेँ – ‘‘हे भगवान ! यो मानव जातिलाई मृत्यु अनिवार्य छ भन्ने चेत भरिदेऊ । यो महामारीले भन्दा अनेकौं रोग, भोक र दुर्घटनाले दैनिक हजारौं मान्छे मरिरहेका थिए र छ्न् । महामारीले मानवको मात्र हैन मानवताकै सत्यानाश गरेको अनुभूत अहिले भैरहेको छ । मानवीय जिजीविषा यति निर्दयी र क्रुर हुन्छ भन्ने मैले सोचेको सम्म थिइन । जनावर बरू यो सर्वश्रेष्ठ भनाउँदो मानव भन्दा धेरै माथि लाग्न थाल्यो अहिले । कम से कम आफ्नालाई संकट पर्दा त एकजुट हुन्छ्न् !!’’

उठेर सधैँ झैँ योगा गरेँ । ध्यानमा बस्न खोजेको पटक्कै ध्यान लागेन । त्यही समाचारका अक्षरहरु आँखा अघि नाचिरहे । बिहान बिहानै झरी परिरहेको थियो बाहिर । अति सौम्य, शान्त र शीतल आजको यो बिहानीले मेरो मनलाई शान्त पार्न सकेन । मनमा अनेक थरि तर्कना खेलिरह्यो । दिमाग तात्न थाल्यो, दाँत कट्कटाउन थाले ।

के साँच्चै यो कोरानाले मानवता सिध्याएकै हो ? विवेक भन्ने अंश डढाएकै हो ? हाम्रा संस्कार, संस्कृति, परम्परामा डढेलो लगाएको हो ? विचरा ! ती मास्टरका परिवार, आफन्त, गाउँले कोही थिएनन् ? थिए भने के हेरेर बसेका थिए ? कि छोयो भने सबै मरिन्छ भनेर ? साँच्चै मानिसका आफन्त भन्नु भ्रम रहेछ भन्ने सावित गर्यो यो घटनाले । यो देशमा सरकार भन्नि जिनिस छ भन्ने त विश्वास गर्न छाडेका छन् सबैले । अब त आफन्त र परिवार पनि आफ्नो भन्ने दिन हराउन लागेछ ।

समाचारमा लेखिएको छ –‘असहज परिस्थिति भएकाले शव उठाउनका लागि कागजमा हस्ताक्षर गरेका हौं । तर, यसको मतलब हामीले माग छाडेका होइनौं’, उनले भने, ‘स्वाब संकलन गर्दा एकजना मर्चवारतिरबाट क्वारेन्टाइनबाट आएका बिरामीको पनि स्वाब संकलन गरिएको र त्यसको फाराम इमेलमार्फत पठाउँदा यताउता भएर रिपोर्ट पोजेटिभ आएको हुनसक्ने शंका पनि छ ।’

समाचार अनुसार लासलाई जङ्गलमा लगेर गाड्ने अनुमति परिवारले दिएका हैनन् रे । त्यसो भए किन जबर्जस्ती ? किन कोही बोल्दैनन् यो विषयमा ? यदि आफन्तले अनुमति दिएका हुन् भने यो घटनाले अबका दिनमा ठूलो सामाजिक र पारिवारिक समस्या निम्त्याउनेछ । के का लागि परिवार भन्ने ? के का लागि समाज भन्ने ? हाम्रो संस्कार कता हरायो ? हिन्दू राष्ट्रको भजन गाउनेहरु कुन दुलोमा छन् ?

केरोनाको बिरामीलाई छुँदैमा सरिहाल्ने होइन भनेर पटक पटक डाक्टर, विशेषज्ञहरुले भनिरहेका छन् । अनेक सावधानीका उपायहरु छन् । यति हुँदाहुँदै पनि लासलाई संस्कार बिपरीत जङ्गलमा लगेर गाडियो । दाहसंस्कारको कुनै पनि विधि गर्न परिवारलाई दिइएन । यति क्रुर र यति विवेकहीन नियति  कसैले भोग्नु    नपरोस् ।

हाम्रा सांस्कारिक कर्ममा वैज्ञानिक सत्यता छन् । हाम्रो हिन्दू संस्कारले अग्नि अर्थात् ताप तत्वलाई अत्यधिक महत्व दिएको छ । अग्नीलाई हामी पूजा गर्छौ । अग्नीमा धान, जौ, तिल, घिउ र अनेक थरि प्राकृतिक सुगन्धहरु हवन गरेर वरिपरिको वातावरण स्वच्छ पार्नु हाम्रो संस्कृति हो । मरेपछिको लासलाई गंगामा वा कुनै नदी तटमा लैजाने,  किनारमा तुलसी, श्रीखण्ड आदि दाउराको चिता बनाएर जलाउने र खरानी समेत बगाएर सफा बनाएर छोड्ने हाम्रो मृत्यु संस्कारको विशिष्ट परम्परा हो । यसरी जलाउँदा मृतकमा रहेका हरेक रोग, व्याधि, किटाणु सबै मर्ने सत्य अहिले अन्य संस्कारका मानिस मर्दा पनि अपनाउन थालिएको छ । लासलाई जलाउँदा जस्तो उत्तम अरु केही हुँदैन भनेर विशेषज्ञ भन्छन् । अब भन्नुस् यसरी जङ्गलमा लगेर एउटा जनावरलाई भन्दा पनि निकृष्ट तरिकाले गाड्दा त्यो कति सुरक्षित भए होला । यस्तो अवस्थामा हाम्रो विज्ञान, हाम्रो मानवता, र हाम्रो धर्म–संस्कारले हामीलाई धिक्कार्दैन ? 

बिडम्बना ! चलि आएको चलन बिपरीत, मर्यादा बिपरीत, मानवता बिपरीत आज एउटा हिन्दू नेपालीले मरेपछि पनि संस्कार पाएन । तिनका सन्तानले अकालमा र यो राज्यको अकर्मण्यताका कारण मर्नु परेको बाबुको चितामा दागबत्ती समेत दिन पाएनन् । हाम्रो संस्कार र मान्यताअनुसार तर्लान् अब ती ?

समय समयमा यस्ता विपत्तिहरु आउँछन् त्यो स्वाभाविक हो ? विपत्तिलाई सहज तरिकाले व्यवस्थापन गर्नु बुद्धिमान मानिसको महानता हो । त्यही भएर त मानवलाई सर्वश्रेष्ठ भनिएको होला । एउटा विपत्ति आउनासाथ सबै मूल्य र मान्यताहरु ध्वस्त पारेको भए कसरी स्थपित हुन्थे होलान हाम्रा परम्पराहरु ? हिजो हैजा, बिफर जस्ता डरलाग्दा महामारी पनि नआएका हैनन् । हैजा पनि सरुवा रेग हो भनेर सावधानी अपनाइन्थ्यो । मनिसहरुलाई सकेसम्म बचाउन प्रयत्न सबै मिले गर्थे, घर परिवारले कहिल्यै छिछि दुर्दुर् गर्दैनथे । मरिहालेछन् भने पनि आआफ्नो रीत अनुसार काजकिरिया गर्थे । जस्तोसुकै आपतविपतमा पनि हाम्रा पुर्खाले आफ्नो संस्कार, धर्म, परम्परालाई भुलेनन् । त्यसैले त हामीले अहिले पनि हाम्रो परम्परामा गर्व गर्न पाएका छौँ ।

यो घटना सामान्य नजरले हेर्दा त्यति गम्भीर नलाग्ला । तर यसको भित्री मर्म सोचनीय विषय हो । किन आज हाम्रा संस्कारमाथि आक्रमण भैरहेको छ ? यति सानो कुरामा पनि हामीले आफ्नो परम्परालाई जोगाउन किन सकिरहेका छैनौँ । धर्मका नाममा राजनीति गर्ने, हिन्दू राष्ट्रका नारा लगाएर जनता विखण्डित पार्नेहरुले यो बुझ्न जरुरी छैन ?

हाम्रो संस्कारले संसारलाई नै मानवता र उदारताको संदेश दिन्छन् । कुनै पनि सांस्कारिक कर्महरुमा सबै आफन्त, छरछिमेकी जम्मा हुने एकापसमा सहयोग गर्ने, मानिसको मृत्यु हुँदा सबै भेटीसहित भेट्न जाने आदि जस्ता संस्कारमा हुर्किएका हामी अहिले मृत्युभयले सबै मानवता र संस्कार हराउँदै जाँदा पनि टुलुटुलु हेरेर बस्न बाध्य भएका छौँ । एकातिर रोगले हाम्रो संस्कारमै र मानवतामाथि नै आक्रमण गरिरहेको छ भने अर्कोतर्फ यसैको बहानामा संस्कार विरोधीहरुले मौकाको फाइदा उठाएर संस्कार र संस्कृति विनास गर्ने सम्भावना पनि बढेको छ ।   

के अब हामी यसरी जङ्गलमा बेवारिस गाडिनु पर्ने हो ? यी मृतकको के अपराध थियो ?  यिनलाई साँच्चै कोरोना नै भएको भन्ने पनि विश्वास भैरहेको छैन । कोरोनाकै कारण मृत्यु भएको भएपनि यो हालतमा संस्कारको धज्जी उडाउन आवश्यक थिएन । सम्पूर्ण हिन्दूवादी मात्र हैन, समस्त मानवता भएका मानवजाति एक हुने बेला आएको छ । मेरो व्यक्तिगत माग छ, तुरुन्त त्यो गाडिएको लासलाई निकालेर सद्गतिको व्यवस्था मिलाइयोस् । हाम्रो संस्कार र संस्कृतिको धज्जी नउडाइयोस् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…