तीन दशकका खलनायकहरु र अबको क्रान्ति !

गोपालमानलाई भोट हाल्न हुँदैन आमा भन्ने वाक्यबाट ‘बहुदलीय व्यवस्थाको खलनायक को ?’ भन्ने शीर्षकको पहिलो कडीले यो स्तम्भमा लेखन यात्रा शुरु गरेको थियो । प्रिय पाठकहरुले मन पराउनु भयो, र प्रतिप्रश्नहरु पनि आए धेरै ।

भूराजनीतिक परिस्थिति यसरी मोडियो कि त्यसमा फलोअप गर्ने मौका जुरिहेको थिएन । तर संवाद केही बेरका लागि रोकिएको मात्र हो, कडी टुटाउन हुँदैन भन्नेमा भित्री अठोट थियो ।

अब फेरि प्रश्नमा नै फर्कौं–के यो व्यवस्थाको खलनायक खोज्न पर्ने बेला आएको हो ? क‍े– के सूचकहरुले यो व्यवस्थालाई असफल बनाएका छन् त ? विकल्प के हो अब ?

प्रश्न भुइँमा खस्न नपाउँदै राजतन्त्र भन्न सक्ने साथीहरुलाई सायद लिपुलेक प्रसंगले राम्रो जवाफ दियो होला । एकल शासन कुनै पनि हालतमा लोकतन्त्रको विकल्प हुन सक्दैन । लोकतन्त्रको विकल्प परिष्कृत लोकतन्त्र नै हो ।

के यो व्यवस्थाको खलनायक खोज्न पर्ने बेला आएको हो ? क‍े– के सूचकहरुले यो व्यवस्थालाई असफल बनाएका छन् त ? विकल्प के हो अब ?

तर अहिले जे भइरहेको छ–के त्यो लोकतन्त्र हो ? यसलाई मिहीन रूपमा केलाउन पर्छ ।

बेलायत र भारतको जस्तै द्विसदनात्मक व्यवस्था हामीले अंगीकार गरेका हौं–पहिलो जन–आन्दोलनपछि । तीस वर्ष लामो पन्चायतकालको अन्त्य गरेर आएको थियो नेपालमा फेरि प्रजातन्त्र । सात सालले सम्झौता ल्यायो र राणा–काँग्रेसको संयुक्त सरकार बन्यो ।

केही काँग्रेसीहरु त्यो सम्झौतामा सहमत भएनन्–पूर्ण क्रान्ति खोजिरहे–युद्ध जारी रह्यो । मातृका प्रसाद कोईराला सम्मिलित सरकारले भारतीय सेना बोलाएर विद्रोहीहरुलाई ठेगान लगाए ।

राजाले प्रदान गरेको संविधानले प्रजातन्त्रको बाटो खोल्यो तर महेन्द्रले महत्वाकांक्षा बढाए । जननिर्वाचित संसदलाई बर्खास्त गरे, नेताहरुलाई जेल हाले । व्यवस्था मुठ्ठीमा लिए । देश अब राजदण्डको इशारामा नाच्यो । विश्वबन्धु र तुलसी गिरीहरूले यू टर्न गरे ।

भ्रष्टाचारलाई मुख्य कारण देखाएर गरिएको उक्त ‘कु’ ले कुनैपनि मन्त्रीलाई भ्रष्टाचार मुद्दामा अभियोग सिद्ध गरेर जेल चलान गर्न सकेन ।

राजाको नियत ठिक थिएन भन्ने त्यतिबाट नै थाहा लाग्छ । पृथ्वीनारायणका सन्तानले देशलाई आफ्नै बाउको बिर्ता ठान्नु स्वाभाविक हो । ज्ञानेन्द्रलाई अझैपनि महेन्द्र सपनामा आएर तँ नालायकले गर्दा यो देश गुम्यो भनेर भन्छन् होला बेला बेलामा । त्यसमा अचम्म मान्न पर्दैन । त्यो भूत काबुमा राख्न सकेको भए आज उनी नागार्जुनका बनमा सीमित हुन पर्थेन ।

खैर, ‘राष्ट्र–निर्माण’मा प्रभावकारी कथानक बनाउन सफल त भए महेन्द्र, तर राष्ट्ररूपी ओदानका तीन खुट्टा–मूल मर्म धान्ने तीनवटा कुरा–राष्ट्र वा महान् आदर्श प्रतिको समर्पणभाव समृद्धि, विकास र खुशी तथा यि प्रक्रियामा जनताको सम्मति र सहभागिता– यि तीनैवटाको सन्तुलन बनाउनमा चुके महेन्द्र ।

दलहरुलाई दरकिनार गरेर त्यो सम्भव थिएन, सन्तुलन गुम्यो ।

तर, अब फेरि राजतन्त्र फर्काउन पर्छ भन्नेहरुका लागि जवाफ चाहिँ अझैपनि यो भएन । त्यसको जवाफ त यत्तिमा छ–राजतन्त्रले वा राष्ट्रवादी महेन्द्रले नक्सा छाप्दा नै लिपुलेकको भाग छुटाएका थिए ।

अब ‘बेनेफिट अफ डाउट’ दिन थाहा नभएर हो कि भन्ने सोच्नेहरुका लागि पनि त्यही जवाफ हुन्छ–राजतन्त्रले थाहा नभएर हो कि भन्ने सुविधा पाउँछ–र भोली फेरि पारस वा अरु कोही राजा हुँदा पनि भक्तहरुले यस्ता अनेक बहाना निकालिहाल्छन् ।

हाम्रो तीस वर्षे असफलताको एउटा खलपात्र त ज्ञानेन्द्र स्वयं नै हुन्–त्यसकारण लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।

तर, जुन प्रकारको ४७ सालमा परिवर्तन भयो–त्यहाँ पूर्ण क्रान्ति सम्भव थिएन । नेपालका तत्कालीन राजनीतिक शक्तिहरुले सात सालको बदला मात्र लिएका थिए–राजालाई बेनेफिट अफ डाउट दिँदै ।

बाबुराम–प्रचण्डहरु चैं खुला राजनीतिमा आएपछि जे गरे, त्यसका लागि यो तीसवर्षका मूख्य खलपात्र हुन्–ज्ञानेन्द्रपछिका ।

धेरै नेताहरु आँफै सातसाल देखि वा सत्र साल देखि नै राजनीति गर्दै गरेका नेताहरु थिए । हुनपनि तीसवर्ष कति छिटो बितेर जाँदो रहेछ–हामीले देखि सक्यौं–४७ सालबाट यता ।

द्विसदनात्मक यो प्रणालीमा ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ’ भन्दै बाबुराम–प्रचण्डहरुले शसस्त्र क्रान्ति गरे । के यो तीस वर्षको खलनायक उनीहरु हुन् ?

मेरो परिवर्तन चाहने मन उनीहरुलाई खलनायक मान्दैन, त्यो क्रान्तिका लागि ।

हो, हिंसाले नेपाली समाजलाई धेरै क्षति गर्यो, र विकासक्रमलाई अस्तव्यस्त बनाए– कमसेकम पाँच दसकको घाटा देशलाई भयो–तर केही क्रान्तिकारी छलाङ चाहिएको थियो समाजलाई । र त्यो क्रमिक विकासमा आउनु अघि नै सामन्ति संस्कारको राक्षसले समाज, राज्य र राष्ट्रलाई फेरि जकडेर पुरानै अवस्थामा फर्काउने अवस्था आउन सक्थ्यो ।

तर, बाबुराम–प्रचण्डहरु चैं खुला राजनीतिमा आएपछि जे गरे, त्यसका लागि यो तीसवर्षका मूख्य खलपात्र हुन्–ज्ञानेन्द्रपछिका । अधूरो क्रान्ति र सम्झौता त ठिकै थियो–तर जसरी मूल्य–मान्यताहरुमा स्खलन भएर आयो–त्यो घोर विचलन क्रान्तिको मर्मप्रति घात थियो ।

एक छट्टु मदारी मात्र भएर बाँचेका छन् प्रचण्ड आज–कुनै समय क्रान्तिका अगुवा युगपुरुष ।

र अवसरवादी ढोंगीबाबा भन्दा कम लाग्दैनन् आज बाबुराम भट्टराई–कुनै समयका आगो र आदर्शका पथप्रदर्शक ।

तर स्खलनको बिउ त्यो संसदीय व्यवस्थाको मूल चरित्रमा छ । त्यो व्यवस्था संवैधानिक राजा हुँदा उसलाई स्पेस दिँदै लोकतन्त्रको अभ्यास गर्ने व्यवस्था हो बेलायतको, जहाँ लोकतन्त्र संस्कारले धानिएको छ, लिखित संविधान नहुँदा पनि ।

तर हाम्रोमा त्यो व्यवस्था टाउकाको किनबेचको खसीबजार मात्र भयो ।

जब, गणेशमान, कृष्णप्रसादहरु बाहिरिन बाध्य भए–र मदन भन्डारीहरुलाई कुनै शक्तिले पन्छाईदियो–आदर्श र नैतिकताको खडेरीको युग शुरु भयो ।

जब, गणेशमान, कृष्णप्रसादहरु बाहिरिन बाध्य भए–र मदन भन्डारीहरुलाई कुनै शक्तिले पन्छाईदियो–आदर्श र नैतिकताको खडेरीको युग शुरु भयो ।

यहाँ नामै तोकेर गिरिजा, देउवा, केपी, बामदेव वा माकुने आदि खलनायक खोज्न त सकिन्छ, तर यि सबै तयो घुमाउरो ओरालो यात्राका पडावहरुमात्र हुन पुगेका हुन् । यि तीसवर्षका खलनायक यि सबै हुन् भनेर भन्नू त कसैको पनि दोष छैन भने जस्तै हो ।

त्यसकारण, दोष कसको त ?

स्पष्ट छ–समय पछाडि फर्कदैँन । तर गहिरिएर हेर्दा अर्को कुरापनि देखिन्छ–नेपालको राजनीतिक परिवर्तनको यात्रा क्रमिक रूपमा अगाडि बढिरहेको छ, र हरेकपटक रूढीवादी सामन्ति शक्ति कम्जोर हुँदै गैरहेको छ, सुस्त सुस्त ।

के अब अर्को क्रान्तिकारी छलाङको समय भएको हाे ?

अहिलेको नेतृत्व र अहिलेका सम्भ्रान्त–यही यथास्थितिवादबाट फाइदा लिएकाहरुले त होईन भन्नेछन् पक्कै ।

तर सधै युग छेंडेर परिवर्तन ल्याउने समाजको तीखो अग्रगामी टुप्पोले हो–बहुमतको सम्मतिले ईतिहासमा कुनै क्रान्ति भएको छैन ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…