प्रवक्ता शर्मा भन्छन्–‘संविधान संशोधनको बिषयमा नेपाली कांग्रेसलाई जोड्नु आपत्तिजनक छ’

काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक कार्यसूची हटेपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । एकाएक संशोधन प्रस्ताव हटेपछि सरकार र प्रतिपक्षबीच शीतयुद्ध सुरु भएको छ । आरोप र प्रत्यारोपको दोहोरी चलेकोे छ ।

नेपाली कांग्रेसको आग्रहमा संशोधन प्रस्ताव हटाइएको भन्ने विभिन्न खाले सरकारको भनाई र समाचारहरुका बारे नेपाली कांग्रेसले आधिकारिक रुपमै आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक’ हटाइएको बिषय र त्यसमा नेपाली कांग्रेसलाई जोडेर प्रेषित गरिएका समाचारप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।’ राष्ट्रिय एकताको भावना अनुसार कार्य गर्न सरकारसँग कांग्रेसले अपिल गरेको छ ।


बुधबार साँझ नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिका बुदाँहरु ।
१. कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भू–भाग हुन्, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र ती भू–भागमा नेपालको हक निर्वाध कायम हुनुपर्छ भनेर विगत देखिनै नेपाली कांग्रेसले प्रष्ट धारणा राखेको सर्वविदितै छ ।

२. सन् २०१५ को मे मा भारत र चीन बीच लिपुलेकको नाका बारे सहमति हुंदा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले दुवै राष्ट्रलाई प्रोटेस्ट नोट पठाएर ती भू–भाग माथि नेपालको हक रहेकोे तथ्यलाई साझा राष्ट्रिय मुद्दाका रूपमा विकसित गरेको सत्य पनि सर्वविदितै छ ।

३. सन् २०१९ को नोभेम्बरमा भारत सरकारले हाम्रा भू–भाग समेत समेटेर नक्सा सार्वजनिक गरेपछि त्यसप्रति सबैभन्दा अघि विरोध प्रकट गर्दै राष्ट्रिय सहमति साथ निरन्तर उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्न नेपाली कांग्रेसले नेपाल सरकारलाई निरन्तर सुझाव र दबाब दिएको तथ्य पनि सर्वविदितै छ ।

४. प्रधानमन्त्रीले हिजो जेठ १३ गते बोलाउनु भएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले लिपुलेकमा भारतले बनाएको सडकप्रतिको आफ्नो प्रष्ट विरोध र नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नक्साप्रतिको आफ्नो समर्थन प्रष्ट भाषामा प्रस्तुत गरिसकेको छ । यस्तो पृष्ठभूमिमा संविधान संशोधनको प्रस्तावप्रति पार्टी केन्द्रीय समितिकै बैठकबाट संस्थागत निर्णय लिइने पूर्व घोषणा सर्वदलीय बैठकमा जानकारी गराइएको बिषयलाई ‘कांग्रेसले समय मागेको’ भन्ने ढंगले उच्च तहबाट सम्प्रेषण गरिनु र आज संसदको कार्यसूचीबाट संशोधन विधेयक हटाएर त्यसको दोष नेपाली कांग्रेसलाई थोपर्न खोज्नु नियोजित, निन्दनीय र आपत्तिजनक छ ।

५. संशोधन प्रस्ताव दर्ता हुँदै गर्दा प्रतिपक्ष लगायत संसदमा रहेका कुनै पनि दलसँग परामर्श गर्ने कर्तव्य सरकारले स्मरण नगरे पनि संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जांदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने धारणामा नेपाली कांग्रेस प्रष्ट छ । प्रधानमन्त्री स्वयंले सर्वदलीय बैठकमा सर्वसम्मतिको अपेक्षा प्रस्तुत गर्नु भएको तथ्य पनि यहाँ स्मरणीय छ ।

६. तर संसदको प्रक्रियालाई अन्य कुनै कारणले मुल्तविमा राख्ने र दोष अरुलाई लगाउने प्रवृत्ति गम्भीर र खेदजनक छ । संशोधन प्रस्तावलाई संभावित कार्यसूचीबाट हटाउन न त नेपाली कांग्रेसले माग गरेको थियो न त यसको पूर्व सूचना संसदीय दलका साथीहरुलाई दिइएको थियो । त्यसैले पनि यसका पछिल्तिरको नियतप्रति सजग बन्न हामी सबैलाई सतर्क गराउन चाहन्छौं ।

६. राष्ट्रवादको अडान जिम्मेवारपूर्ण र परिणाममुखी हुनुपर्छ भन्ने मान्यता साथ पार्टी केन्द्रीय समितिको बैठकबाट नेपालको नयाँ नक्सा र संशोधन प्रस्तावमा संस्थागत निर्णय गर्न नेपाली कांग्रेस पूर्व घोषणा अनुरुप प्रतिबद्ध छ ।

गोयवल्स शैलीका प्रोपोगन्डाहरु स्वदेशको सत्तादेखि बिदेशको संचार माध्यम जो कोहिबाट जुन रुपमा भएको होस् त्यसप्रति सजग रहंदै कुनै पनि खाले भ्रमबाट मुक्त रहन नेपाली कांग्रेसले आग्रह गरेकाे छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…