लाहुरे संस्कृतिले जन्माएको एउटा लोकगीत

स्कुल पढ्दाको समय याद आयो । नेपाली पढाउने गुरु जसलाई हामी ‘‘हरि गुरु’’ भनेर सम्बोधन गर्थ्यो । पूरा नाम हरिप्रसाद खनाल थियो । पढाउने शैली बडो गज्जबको थियो । कक्षामा प्रवेश गर्दा सधैँ प्रायः एउटै गीत गाउँदै प्रवेश गर्नुहुन्थ्यो । हामी बुझ्दैनथ्यौँ, त्यो गीतले के भनिरहेको छ । तर गुरुको हाउभाउले भने हामीलाई खुब आकर्षित गर्थ्यो । पढाउँदा पढाउँदै पनि उहाँ यस्तै रमाइला गीतहरू, रोचक सन्दर्भहरू जोडेर नब्बे जना विद्यार्थीहरू रहेको कक्षा कोठा आफ्नो पूरै नियन्त्रणमा राख्नुहुन्थ्यो ।

लोकगीतको अनुसन्धानमा क्षेत्रकार्यको महत्वपूर्ण भूमिका हुन्छ । अझै भनौँ यो विना लोकगीतको अनुसन्धान पूर्ण र जीवन्त हुनै सक्दैन । लोकगीतको बारेमा अनुसन्धान गर्ने क्रममा जब म विभिन्न ठाउँहरूमा पुगेँ तब गुरुले त्यतिबेला गाएको गीत, त्यसले तत्कालीन समाजलाई पारेको प्रभाव र हालको अवस्थाका बारेमा मलाई गम्भीर हुन बाध्य बनायो । झोलाभरि अनुसन्धानका लागि आवश्यक सामग्री बोकेर गाउँ पसेपछि  मलाई अनुसन्धान के हो ? र यसको महत्व के छ ? लगायत विभिन्न प्रश्नहरूको जवाफ आफ् से आफ प्राप्त हुँदै गयो । अनुसन्धानमा डुब्न थालेपछि मानिसले बाहिरको संसारमा त्यति चासो दिन आवश्यक नठान्नुको कारण पनि शायद त्यही रहेछ । अहिले आएर महसुस भैरहेको छ – समाज भन्दा ठूलो पुस्तक केही रहेनछ ।

नेपाली लोकचलचित्र महोत्सवमा नेपालको तर्फबाट पहिलोपटक यस गीतका बारेमा निर्माण भएको चलचित्रले प्रस्तुत हुने अवसर पायो । नेपालका विभिन्न स्थानका साथै भारतका कलकत्ता लगायतका शहरहरुमा पनि प्रदर्शन भयो । धेरैबाट रुचाइयो पनि । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट अनुसन्धान भई पुस्तकको रुप पनि प्राप्त गर्यो ।

अनुसन्धानको क्रममा स्याङ्जा जिल्लाको कालिकाकोट काभ्रे भन्ने स्थानमा पुगेपछि त्यहाँका स्थानीय गाउँलेहरूको मुखबाट मैले दोस्रोपटक त्यही गीत सुनेँ, जुन गीत आजभन्दा चौविस वर्ष पहिले मैले हरिगुरुको मुखबाट पहिलोपटक सुनेको थिएँ ।

गुरु कक्षामा प्रवेश गर्दा सधैँ गाउने एउटै त्यो गीत थियो– ‘‘गल्लैलागुरेले रल्लै पार्यो दाइ मलाई ।’’ काभ्रेमा दोस्रोपटक सुनेपछि मलाई ती स्कुले दिनहरु पुनः ताजा बनेर आए । गीतको मर्म त्यतिबेला नबुझे पनि अहिले भने यस गीतका शब्दहरुले तान्दै लगे । र सुरु भयो गल्लैलाउरेको अनुसन्धान यात्रा । 

‘गल्लैलाउरे’ नेपाली लोकगीतको बाह्रमासे गीतअन्तर्गत पर्ने एउटा महत्वपूर्ण प्रकार हो ।  ‘गल्ला’ र ‘लाउरे’ शब्दको मेलबाट ‘गल्लालाउरे’ शब्द बनेको हो भने यही ‘गल्लालाउरे’ शब्द उच्चारणको क्रममा अपभ्रंश हुँदै ‘गल्लैलाउरे’ हुन पुगेको कुरा यस गीतका गायक, गायिकाहरूको कथन छ । नेपालको गण्डकी प्रदेशको पर्वत जिल्ला र स्याङ्जा जिल्लाको पश्चिमी भूभागमा बसोबास गर्ने विशेषतः ब्राह्मण तथा क्षेत्री जातका मानिसहरूले र सँगसँगै मगर तथा गुरुङ जातका मानिसहरूले समेत ढिलो लयमा यो गीत गाउने गर्दछन् । यो गीतलाई खेली गीतको एउटा प्रकारका रूपमा पनि लिन सकिन्छ । खेली गीत र गल्लैलाउरे गीतको बाहिरी संरचना एउटै खालको रहेको हुन्छ । यस गीतलाई ठाउँअनुसार गल्लालाउरे, गल्लैलाउरे, गल्लैलागुरे, गल्लालागुरे आदि विविध नामले सम्बोधन गर्ने  गरिन्छ । यस्ता लोकगीतमा अन्जानमै लय, छन्द, विम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू भित्रिएका हुन्छन् ।

आउँ दै र नु हो ला

लाउँ दै रहुँ ला पि र ति ।।

हरेक लोकगीतमा कुनै न कुनै कथ्य विषय भए जस्तै गल्लैलाउरे गीतमा पनि आफ्नै प्रकारको कथ्य विषय समेटिएको हुन्छ । यसमा विशेष गरी प्रेम र वियोगका विषयवस्तु भेटिन्छ । यस गीतको जन्म नै वियोगको प्रसङ्गबाट भएकाले अधिकांश गीतहरू विप्रलम्भ शृङ्गारले भरिपूर्ण भएका हुन्छन् । पूजाआजा तथा विभिन्न धार्मिक कार्यहरूमा सुरुमा आरती, भजन प्रस्तुत गरिन्छ त्यसपछि खेली दोहोरी गाइन्छ र रात छिप्पिदै गएपछि केही सिमित महिला पुरुष बसेर गल्लैलाउरे गीत गाउन थाल्दछन् । यो गीत भावपूर्ण लोकगीत हो । यसमा प्रेम, करुणा, भक्ति आदिजस्ता भावहरू अभिव्यक्त भएका हुन्छन् । विशेषतः श्रृङ्गार र करुण रसको प्रधानता गल्लैलाउरे गीतमा पाउन सकिन्छ । यस गीतमा नेपाली समाजको प्रतिबिम्ब झल्केको हुन्छ । नेपाली ग्रामीण समाजका नारीहरूले भोग्नु परेको बाध्यात्मक परिस्थितिको विषय यस गीतले बढी समेटेको हुन्छ । स्थानियताको प्रयोग पनि गीतमा प्रसस्तै गरिएको हुन्छ । समाज र सामाजिक जीवनशैली गल्लैलाउरे गीतको अर्को प्रमुख विषय हो ।

यो लोकगीत कहिलेदेखि गाउन थालियो भन्ने एकिन गर्न गाह्रो छ । वर्षौँ अगाडिदेखि गाउन सुरु गरिएको खेली गीतसँग यसको संरचना दुरुस्त मिल्नुले यसलाई खेली गीतकै एउटा लयगत भेदको रूपमा लिन सकिन्छ । यस गीतलाई ‘गल्लैलाउरे’ भनेर नामकरण भने दोस्रो विश्वयुद्धको समय देखि भएको अनुमान गर्न सकिन्छ । यही समयलाई नै यसको ऐतिहासिक सन्दर्भको रूपमा लिन सकिन्छ ।

हरेक लोकगीतका आफ्ना निजी सन्दर्भ हुन्छन् । गीतका अन्य तत्वले पुष्ट भए पनि सन्दर्भले पुष्ट नभएको गेय अभिव्यक्ति अपेक्षित लोकगीत हुन सक्दैन  । लोकगीतमा लोक सन्दर्भ धेरथोर आएकै हुन्छ । गीत गाउँदाको परिवेश, गीतमा प्रयोग हुने शब्द, भेषभुषा आदिका माध्यमबाट सामाजिक सन्दर्भ झल्किएका हुन्छन् । रिचर्ड बाउम्यानले लोकवार्ताको अध्ययन गर्दा अर्थको सन्दर्भ, संस्थागत सन्दर्भ, सांस्कृतिक क्षेत्रको सन्दर्भ, सामाजिक आधार, वैयक्तिक सन्दर्भ, स्थितिको सन्दर्भलाई मनन गर्नुपर्छ भनेका छन्  ।

यो लोकगीत कहिलेदेखि गाउन थालियो भन्ने एकिन गर्न गाह्रो छ । वर्षौँ अगाडिदेखि गाउन सुरु गरिएको खेली गीतसँग यसको संरचना दुरुस्त मिल्नुले यसलाई खेली गीतकै एउटा लयगत भेदको रूपमा लिन सकिन्छ । यस गीतलाई ‘गल्लैलाउरे’ भनेर नामकरण भने दोस्रो विश्वयुद्धको समय देखि भएको अनुमान गर्न सकिन्छ । यही समयलाई नै यसको ऐतिहासिक सन्दर्भको रूपमा लिन सकिन्छ ।

दोस्रो महायुद्धको समयमा गल्लाहरू नेपालका गाउँगाउँमा आएर नेपाली युवाहरूलाई भर्ती गरेर लैजाने चलन थियो । त्यतिबेला उनीहरूको चालचलन तथा व्यवहारबाट नेपाली युवतीहरू छिटै प्रभावित हुन्थे भने अर्कोतर्फ आ–आफ्ना दाजुभाइलाई भर्तीमा लैजाने लोभले पनि उनीहरू गल्लाहरूसँग नजिक हुन चाहन्थे । नजिकिदै जाँदा उनीहरू अन्जानमै ती गल्लाहरूलाई प्रेम गर्न पुग्दछन् । गल्लाहरूको विदाइ तथा गाउँका जवानहरूको विदाइको समयमा रातभर नाचगानका कार्यक्रमहरू गर्ने चलन त्यतिबेला थियो । आफ्नो काम सकेर गल्लाहरू फर्कने क्रममा रातभर गीत गाएर नेपाली चेलीहरूले उनीहरूलाई विदाइ गर्दथे भने अर्कोतर्फ आफ्नो प्रेमी भर्तीमा जान लागेको पीडाले पनि नेपाली चेलीहरूको मन द्रवित हुन पुग्दथ्यो । यस्तै विछोडको अवस्थामा गाउने गीत नै गल्लैलाउरे गीत हो भनी गाउँलेहरू भन्दछन् । यस्ता गीतहरू पछि गएर अन्य सन्दर्भमा पनि गाउन थालियो । यही सन्दर्भ नै गल्लैलाउरे लोकगीतको ऐतिहासिक सन्दर्भ हो ।

‘गल्लैलाउरे’ नेपाली लोकगीतको बाह्रमासे गीतअन्तर्गत पर्ने एउटा महत्वपूर्ण प्रकार हो ।  ‘गल्ला’ र ‘लाउरे’ शब्दको मेलबाट ‘गल्लालाउरे’ शब्द बनेको हो भने यही ‘गल्लालाउरे’ शब्द उच्चारणको क्रममा अपभ्रंश हुँदै ‘गल्लैलाउरे’ हुन पुगेको कुरा यस गीतका गायक, गायिकाहरूको कथन छ । नेपालको गण्डकी प्रदेशको पर्वत जिल्ला र स्याङ्जा जिल्लाको पश्चिमी भूभागमा बसोबास गर्ने विशेषतः ब्राह्मण तथा क्षेत्री जातका मानिसहरूले र सँगसँगै मगर तथा गुरुङ जातका मानिसहरूले समेत ढिलो लयमा यो गीत गाउने गर्दछन् ।

लोकगीतले अपेक्षा गरेको सन्दर्भलाई त्यस गीतको अपेक्षित सन्दर्भ भनिन्छ । असारे गीतले रोपाइको सन्दर्भको अपेक्षा गरेको हुन्छ, दाईँ गीतले दाईँ गर्दाको समयको अपेक्षा गरेको हुन्छ, कौरा गीतले मगर जातिको र मगर भेषभुषाको अपेक्षा गरेको हुन्छ ।  गल्लैलाउरे लोकगीतका पनि केही अपेक्षित सन्दर्भ हुन्छन् । सबैभन्दा पहिले त यस गीतले ग्रामीण परिवेशको अपेक्षा गरेको हुन्छ । त्यसैगरी यो गीत विशेषतः रातको समयमा गाइन्छ । एकोहोरी र दोहोरीको रूपमा गाउन सकिने यो गीत एकोहोरी रूपमा गाउँदा मेलापात, घाँसदाउरा तथा वनजङ्गलमा गाइन्छ भने दोहोरीको रूपमा यो गीत गाउँदा कुनै पूजाआजा तथा रोधीको अवसरमा गाइन्छ । पूजाआजाको समयमा सुरुमा साँझपख भजन कीर्तन गरिन्छ । जब रात छिप्पिदै जान्छ, तब अन्य मानिसहरू सुत्न जान्छन् । नाच्नेहरू पनि थकाइ र निद्राले सुस्त हुन थाल्छन् त्यसपछि गल्लैलाउरे गाउन सुरु गर्छन् गायकगायिकाहरू । यस्ता गीत गाउँदै जाँदा यति मार्मिक र भावात्मक शब्दहरू निस्कदै जान्छन् कि गाउने मानिसहरू आफै रुन थाल्छन् । सुन्नेहरूलाई पनि विरह चल्न थाल्छ । मायामा विछोड खेपेकाहरू त सबै आफ्नै कहानी महसुस गर्न थाल्छन् र भक्कानिन पुग्छन् । रातको सुनसान र चकमन्न वातावरणले त्यहाँ गीत गाउने र सुन्नेहरूलाई विरही भाव जागृत गर्न निकै मदत पुर्याएको हुन्छ । वास्तवमा शब्दमा वर्णन नै गर्न नसकिने भाव त्यहाँ छताछुल्ल भएको हुन्छ । यही सन्दर्भ नै गल्लैलाउरे लोकगीतको अपेक्षित सन्दर्भ  हो ।

नेपाली लोकजीवन अनेक किसिमले कष्टकर छ । यहाँको जीवन गरीवी र अनेक समस्याबाट गुज्रिरहेको   छ । सधैँभरि अर्काको घरमा निमेक गरेर जीवन चलाउनेहरू ग्रामीण क्षेत्रमा अहिले पनि छन् । यस गीतको नामकरण नै अर्काको मुलुकमा लाउरे हुन जाने र लाउरे बनाउन गाउँपसेका गल्लाहरूसँग सम्बन्धित भएकाले बिरानो मुलुकमा नोकरी गर्न जाँदाको पीडा यस गीतको मुख्य विषयवस्तु बनेर आएको हुन्छ । यस गीतका गायक गायिकाले आफूलाई त्यही विछोडिएका प्रेमीप्रेमिकाको रूपमा प्रस्तुत गरेका हुन्छन् । त्यसैको साधारणीकरण उनीहरूमा हुन पुग्दछ र गीत गाउँदागाउँदै रुने, आँसु झार्ने जस्ता क्रियाकलाप पनि उनीहरूमा स्वतः देखापर्दछ । त्यसैगरी अर्काको घरमा गोठालो बस्ने, साहुको काम गर्ने जस्ता कुरा गल्लैलाउरे लोकगीतमा व्यक्त भएका हुन्छन् । ग्रामीण जीवनका सुख, दुःखका भावहरू लयात्मक रूपमा अत्यन्त सुन्दर तरिकाले प्रस्तुत गरिएको हुन्छ । दोहोरी गाउँदा–गाउँदै उनीहरू भावमा चुर्लुम्म डुबेका हुन्छन् । गीत गाएरै कैयौं गायक गायिका बैबाहिक बन्धनमा समेत बाँधिएका पाइन्छन् । प्रेमका भाव, विरहका भाव, भक्तिभाव तथा नेपाली समाजका दुःखसुखका भाव आदिले गल्लैलाउरे गीत जीवन्त बनेका हुन्छन् । नेपाली ग्रामीण जनजीवन र उनीहरूले जीवन धान्नका लागि गर्नुपर्ने काम तथा व्यवहार यस्ता गीतमा अभिव्यक्त भएको हुन्छ ।

ए दाइ…..

भे टै न हु न लाई

ला ग्यो पा पी ब रि खा ।।

मानिसले बाँच्नका निम्ति गरेका विभिन्न उद्योगधन्दा, नोकरी, श्रम आदिबाट सामाजिक व्यवहारहरू सञ्चालित हुन्छन् । समाजका रीतिरिवाज, धर्म, परम्परा अनि अन्य सामाजिक संस्कारहरूको उल्लेखनीय प्रभाव सामाजिक जीवनमा पर्दछ । गल्लैलाउरे लोकगीत लोकको उत्पादन र लोककै सम्पत्ति भएकाले यस्ता गीतमा सामाजिक व्यवहारहरू प्रस्तुत भएका हुन्छन् । सामाजिक व्यवहार भन्नाले लोकप्रचलन, लोकजीवन, लोकविश्वास, ऐँचोपैँचो आदि पर्दछन् । गल्लैलाउरे गीत गाउँदा लगाउने भेषभुषा, बस्ने गुन्द्री, चकटी, बजाउने बाजाहरू पनि लोकप्रचलनमा पहिलेदेखि चलिआए अनुसारका प्रयोग गरिएको हुन्छ ।

ए बाउ….

वन् को न्याउ ली प नि

सो झो छै न म सि त ।।

ब स गुँ द री मा

कम् मल दि न सउ ति न ।।

न्याउली चरीलाई विरहको प्रतीकको रूपमा लिने नेपाली लोकविश्वास रहेको छ । न्याउली कराउँदा प्रेममा वियोग खेपेका कतिपय मानिसहरू शोकमा डुब्ने गर्दछन् । दुःखको र विरहको भाव सुसेल्ने न्याउली पनि आफूसँग सोझो नभएकाले यस संसारमा आफ्नो भन्नु कोही नभएको भाव अभिव्यक्त गर्नका लागि यस गीतका गायक\गायिकाले  लोकविश्वासको सहारा लिएका छन् । यस्तैखाले अन्य सामाजिक चालचलन, ऐँचोपैँचो आदिजस्ता सामाजिक व्यवहारले गल्लैलाउरे गीतलाई बढी भावनात्मक र जीवन्त तुल्याएका हुन्छन् ।  त्यसैगरी अर्को गीतमा आफ्नो कमजोर आर्थिक अवस्थाका कारण कम्बल दिन नसकेकाले गुन्द्रीमै बस्न आग्रह गरिएको छ । नेपाली ग्रामीण समाजमा कोही आफन्त तथा पाहुनाहरू आउँदा हुने खानेले कम्बल ओच्छ्याएर बसाल्ने र नहुनेले गुन्द्रमै भएपनि बसालेर स्वागत गर्ने लोक प्रचलनको चित्र यस्ता गीतमा आएको हुन्छ ।

गल्लैलाउरे लोकगीतमा पर्वत, स्याङ्जातिर बोलिने स्थानीय भाषिकाको प्रयोग पाइन्छ । गाउँघरमा बोलिने बोलचालको भाषाले गीतलाई प्राकृतिक र जीवन्त तुल्याएको हुन्छ ।

बो ल न म यालो    

ति म्रै बो ली सु न्न र ।।

डाइ को गल ब न्डी मा     

झु न्नि ए र मो रुँ ला ।।  

हात का टे र रउ तै

मन फा टे र बि रउ तै ।।

गल्लैलाउरे गीतमा नायकनायिकाको मिलनको आशालाई जगाउने प्रवृत्ति विद्यमान हुन्छ । यस्ता गीतमा नायक–नायिकाका बीच वैयक्तिक, सामाजिक, आर्थिक वा अन्य कुनै बाधा बन्देजका कारण प्रेम सम्बन्ध कायम हुन नसकेको अथवा पूर्व स्थापित प्रेम सम्बन्ध बीचैमा पूर्णतः वा अंशतः टुट्न गई नायक–नायिका बीच वियोग भएको स्थितिको वर्णन भएको अभिव्यक्ति प्रशस्त मात्रामा हुने भएकाले यिनमा विप्रलम्भ शृङगारको भाव अभिव्यक्त भएको हुन्छ ।

ए दाइ…

म रेँ अ से टै ले

म रिँ दै न भ न्थ्यौ नि ।।

अ से टै ले नि भ न्दा

ल से टै ले म रि यो ।।

सम्झी….

रु न्छु द शै धा रा

अ चेल काँ छौ पि या रा ।।

गाउँमा, पाखामा र मझेरीमा मात्र सिमित रहेको गल्लैलाउरेले अन्तर्राष्ट्रिय मञ्च पाउँदाको क्षण नेपाली लोकसंस्कृतिका लागि सुनौलो भविष्यको संकेत हो । नेपाली लोकचलचित्र महोत्सवमा नेपालको तर्फबाट पहिलोपटक यस गीतका बारेमा निर्माण भएको चलचित्रले प्रस्तुत हुने अवसर पायो । नेपालका विभिन्न स्थानका साथै भारतका कलकत्ता लगायतका शहरहरुमा पनि प्रदर्शन भयो । धेरैबाट रुचाइयो पनि । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट अनुसन्धान भई पुस्तकको रुप पनि प्राप्त गर्यो । गल्लैलाउरे गीत सम्मानित हुनु भनेको हाम्रा गाउँबस्ती, गाउँलेहरु, किसानहरु र ती समस्त लाहुरेहरु जसले बाध्यतावश विदेशी भूमिमा पसिना र रगत बगाएर बहादुर गोर्खालीको उपाधि पाएका छन् सबैको सम्मान भएको महसुस हुन्छ । जे होस् लाहुरे भएर कति खुसी होलान्, कति दुःखी होलान् । कतिले वरिगति पनि प्राप्त गरे होलान् तर तिनै लाहुरेहरुको कारण जन्मेको यो गीत भने सदाकाल नेपाली लोकसंगीतको दुनियाँमा गुञ्जिरहनेछ । लाहुरेका चित्कार बनेर । गाउँलेका क्रन्दन बनेर । गामबेँसीका सुसेली बनेर ।।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…