जातीय विभेदको अन्त्य सम्भव छ, तर कसरी ?

रुकुम पश्चिममा केही दिन पहिले एउटा अमानवीय घटना घट्यो । समाचारहरुमा सुनेअनुसार घटना यस्तो थियो – कथित तल्लो जातको युवा र कथित माथिल्लो जातकी युवतीमा प्रेम भयो । प्रेम यस्तो गहिराईमा पुग्यो कि युवती गर्भवती नै भइन् । पहिला पनि एकदुई पटक ती युवाले छोरी माग्ने प्रयत्न गरे तर असफल भए । कोरोना लकडाउनकै समय त्यसमा पनि साँझ पारेर ती युवाका अन्य साथीहरु सहित १९ जनाको समूह युवतीलाई भगाएर ल्याउने उद्देश्यले उनको गाउँ पुगे । युवतीका आफन्त र गाउँलेहरुले आक्रमण गरे । छ जनाको मृत्यु नै भयो । देशभरि चर्चा चल्यो । घटनाले जातीय रुप लियो । संसदमा हङ्गामा मच्चिइरहेको छ । एकथरि बाबुआमा पीडामा छन् अर्कोथरि यसैलाई राजनीतिकरण गर्दैछन् । अब फेरि चुनावमा यसैलाई भोटबैंक बनाउने निश्चित भइसकेको छ ।

घटना सुन्दा  कुनै सिरियल हेरे जस्तो, फिल्म हेरेजस्तो, दन्त्यकथा सुनेजस्तो, स्वस्थानी पढेजस्तो पनि लाग्छ । प्रेम हुन्छ, भागी विवाह, गन्धर्व विवाह पनि हुन्छ यो कुरा सुन्दै, देख्दै आएको पनि हो । कैयौँ यस्ता अन्तर्जातीय विवाहका घटना हाम्रो समाजमा विद्यमान छन् । तर यो घटना अलि अचम्मलाग्दो छ । घटना घट्नुमा जातीय कारण पक्कै हो तर त्यो भन्दा एउटा आवेग, उत्तेजना र कर्तव्यहीनता पनि त हो । कसैका बाबुआमाले सहमतिविना अर्कोथरि हुल बाँधेर आउँदैमा टीको लगाएर छोरी कसैले पठाउन्न । आफ्नै जातमा पनि पठाइन्न । यो तीतो सत्य हो । कसैलाई मन नपरे पनि यो सत्य हो । एकपटक आफै बाबुआमा भएर सोचौँ ।

यसो भन्दै गर्दा उपल्लो जातको मानसिकता भन्ने आरोप पनि लाग्न  सक्छ । तर घटनालाई ससर्ती बुझ्दा सामान्य भन्दा सामान्य मानिसले पनि यसलाई आवेग र उत्तेजना भनेरै बुझ्छन् । जातीय नभै मानवीय अपराध भनेर बुझ्छन् ।

यो घटनाको जरो जातीय विभेद नै हो । तर कुनैपनि घटनाका पछाडि तत्कालीन कारण पनि रहेका हुन्छन् । आफ्नी छोरीले प्रेम गरेको पनि थाह छ, गर्भवती भएको पनि थाह हुँदाहुँदै युवतीका आफन्त युवकको गाउँमै गएर आक्रमण गरेको भए यसलाई जातीय स्वरुप दिन मिल्थ्यो तर युवती भगाउनका लागि हूल बाँधेर जानुलाई पनि जातीय कारण भन्न थालियो भने त्यो जातिवादी धारणासँगै अतिवादी धारणा हुन सक्छ । घटनाको तत्कालीन कारण त्यही उत्तेजना र आवेग हो ।

स्याङजाबाट काठमाडौंका लागि छुटेको बस त्रिशुलीमा दुर्घटना भयो । कसलाई दोष दिने ? बसको आविष्कार गर्ने वैज्ञानिकलाई ? कि बस बनाउने कम्पनीलाई ? कि ड्राइभिङ सिकाउने स्कुललाई ? कि लाइसेन्स दिने यातायातलाई ? कि होटेलमा रक्सी बेच्ने साहुनीलाई ? कि ड्राइभरलाई ?….यस्ता धेरै तत्वहरुले काम गरिरहेका हुन्छन् दुर्घटनामा । रुकुम घटना यस्तै एउटा मानवीय जीवनमा आइपरेको दर्दनाक दुर्घटना हो । यसलाई मानवीय अपराध मानेर सजायँ हुनुपर्छ न कि जातीय मुद्दा बनाएर राजनीति ।

यो घटना अमानवीय घटना हो । हामी पहिला मानव हौं त्यसपछि मात्र अरु कुरा हौं। मानव पछि नै जातपातका कुरा आएका हुन् । न मानव सृष्टि हुँदा जात थियो । न हाम्रा धर्मग्रन्थहरुमा जातीय विभेदका कुरा छन् । धेरै समयपछि लहडका भरमा, कामका आधारमा जातीय कुरा विकसित हुँदै आएको कुरा इतिहासले बताउँछ । त्यही इतिहासकै कारण यो परम्परा बन्यो । परम्परा नै भएपनि गलत परम्परा संस्कृति हुन सक्दैन । त्यसैले जातीय भेदभाव हाम्रो संस्कृति होइन । यो गलत परम्परा र मान्यता मात्र हो यसलाई अन्त्य गर्नु नितान्त आवश्यक छ ।

नेपालमा जातीय भेदभाव र छुवाछुतका बिरुद्धमा संविधानमै उल्लेख भएको छ । विगतका संविधानहरुमा पनि यसबारे धेरथोर सम्बोधन भएको हो । नेपालको संविधान २०७२ मा त भेदभावविरुद्ध धेरैकुरा लेखिएको छ । संविधानको प्रस्तावना लगायत धारा १८, भारा २४ र धारा ४० मा भेदभाव, छुवाछुत र दलितका अधिकारका बारेमा धेरै कुरा लेखिएको छ । त्यसैगरी नेपालमा निर्माण भएका कानूनमा पनि यसबारेमा धेरै चर्चा छ । नेपालमा भर्खरै विस्थापन भएको मुलुकी ऐन, २०२० ले नै छुवाछुतलाई दण्डनीय भनेको थियो। कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुने छैन भनेर पुनर्स्थापित सांसदले २०६३ जेठ २१ मा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । हाल प्रचलनमा रहेको मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १० मा भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसुरको व्यवस्था गरिएको छ। कुनै पनि नागरिकमाथि जानीजानी भेदभावपूर्ण व्यवहार गर्नु हुदैन्। कसुर गरे वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैँयासम्म जरिवाना वा दुवै सजाय हुनेछ भनी स्पष्ट उल्लेख भएको छ। परिच्छेद १० अन्तर्गतका दफाहरूमा विस्तृत रूपमा सो कसुर र सजायका सम्बन्धमा व्यवस्था गरिएको छ। सरकारको नीतिहरूले प्रष्टरूपमा छुवाछुतमुक्त राष्ट्रको रूपमा नेपाललाई चिनाएको छ ।

त्यसो हो भने अब समस्या के मा छ त ? यसको एउटै जवाफ छ – ‘‘व्यवहार’’ । कागजमा सबैखाले भेदभावलाई अपराध मानेपनि व्यवहारमा यस्ता कुरा कायम रहनु अर्को अपराध हो । यो परम्परा धेरै हदसम्म कम भएपनि पूरै अन्त्य भइसकेको छैन । यो मानव सभ्यताका लागि एउटा लाजमर्दो कुरा हो । यसको अन्त्य हुनु जरुरी छ ।

केही समय पहिले स्याङ्जाको वालिङमा वन्डरफुल वालिङले आयोजना गरेको रमाइलो मेलामा दलित समुदायसँग सम्बन्धित एउटा बहस कार्यक्रम सञ्चालन भयो । त्यसका वक्तामा एकजना दलित नेता र अर्का वेदका ज्ञाता ब्राह्मण थिए । कार्यक्रमको सहजीकरण यसै स्तम्भकारले गरेको थियो । कार्यक्रमको उद्देश्य हाम्रा शास्त्रमा दलित बारेका धारणा र दलितहरुका आरोपमा केन्द्रित थियो । यस बहसबाट एउटा निष्कर्ष के निस्केको थियो भने, हाम्रा हिन्दू शास्त्रका ग्रन्थहरुमा जातीय भेदभाव र छुवाछुतलाई कतै महत्व प्रदान गरिएको छैन । नेपालमा अब कोही दलित छैन । दलित शब्द नै हटाइनुपर्छ र सबै एकमन भएर समाज परिवर्तन गर्नुपर्छ ।

रुकुम घटनाको लगत्तै सामाजिक सञ्जालहरुमा निकै क्रिया प्रतिक्रियाहरु आए । धरैले ब्राह्मणवादको आरोप लगाए । घटनामा ठकुरी र विश्वकर्मा जोडिएका छन् तर ब्राह्मणवादको चर्चा किन हुन्छ त भनेर यसै विषयमा अर्को परिचर्चा कार्यक्रम भयो । वक्ताका रुपमा एकजना दलित संघका अध्यक्ष/सांसद/पूर्वमन्त्री र अर्कोतर्फ ब्राह्मण समाजका केन्द्रीय अध्यक्ष सहभागी थिए । दुबैका कुरामा केही असामञ्जस्य देखियो । दलित नेताले सबै नियम, परिपाटी, व्यवस्थाको आरोप ब्राह्मणवादलाई लगाए । सबै समस्याको जरो ब्राह्मणवाद भएको उनको तर्क   थियो । यतिसम्म कि ब्राह्मणहरु शिक्षित भएको पढेर, बुद्धि भएर हैन सबै आफन्तको भाइबन्दीका कारण हो भन्ने उनको तर्क रह्यो । अर्का वक्ता ब्राह्मण समाजका अध्यक्षले भने ब्राह्मणवादको चर्चा कुनै ग्रन्थमा नभएको र यो मिथ्या आरोप हो भन्ने कुरामा आफ्ना तार्किक विचार राखे ।

यसरी एकापसमा बाझाबाझ र आरोप प्रत्यारोपले यो समाजमा कलंक बनेको भेदभावको अन्त्य कदापि हुँदैन । हामीले सबैभन्दा पहिला आफूलाई  मानव भन्ने सोच्न सकेनौँ भने र सबैलाई बुझाउन सकेनौँ भने एकादुईले अन्तर्जातीय विवाह गर्दैमा, थर फेर्दैमा, एउटै भान्सामा खाँदैमा र कसैलाई गाली गर्दैमा यसको अन्त्य हुने होइन । मानवीय सद्भाव, सहिष्णुता र समझदारीबाट मात्रै समानता सम्भव छ । अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन् । आफ्नो अधिकार खोज्दा अर्काको अधिकारको सम्मान गर्नु नै कर्तव्य हो । कानुनमा अधिकार छ तर त्यसलाई कर्तव्यको कसीमा पनि दाँजेर हेर्नु आवश्यक  छ ।

एउटा सत्य घटना छ । हाम्रो गाउँमा एकजना हजुरबा हुनुहुन्थ्यो । उहाँलाई सबैले पञ्डितबा भनेर बोलाउँथे । उहाँले कसैले छोएको र कसैले पकाएको पनि खानुहुन्थेन । घरका छोरा बुहारीले समेत छोएको नखाँदा कहिलेकाहीँ निकै समस्या उत्पन्न हुन्थ्यो । मर्नेबेलामा समेत कसैले छोएको खानुभएन । सबैले उहाँलाई सम्मान नै गर्थे । दलित समुदायले पनि उहाँलाई निकै मान्थे । कसैले हामीले छोएको खानैपर्छ भनेनन् । त्यो उहाँको अधिकार थियो वा आडम्बर ? यसको ब्याख्या तपाई हामी आआफ्नै तरिकाले गरौँला । तर हरेक मानिसमा आफ्नो व्यक्तिगत स्वतन्त्रता हुन्छ, त्यसलाई सबैले सम्मान गर्नुपर्छ । अधिकारका नाममा कसैको घरभित्र पस्ने, जबर्जस्ती छोएको खानुपर्छ भन्नु पनि त अर्को अपराध हो । 

ब्राह्मण जाति होइन आचरण हो । जातिव्यवस्थाका प्रणेता भनेर आरोप लगाउने गरेका मनु स्वयम् भन्छन् –

“जन्मना जायते शूद्र कर्मणा द्विज उच्यते।

वेदपाठात् भवेत विप्र ब्रह्म जानाति ब्राह्मण।।”

जन्मले सबै शूद्र हुन्छन् । कर्मले मात्र ब्राह्मण कहलाउने हो । व्यक्तिका आचार, विचार र व्यवहारले मात्र उँचनिच ठहरिन्छन् । जसले शास्त्र पढ्यो, वेदलाई चिन्यो ब्रह्मलाई जान्यो त्यो ब्राह्मण हुने हो । यसमा जातको कुरा छैन । वर्तमान समयमा हरेक कुरालाई राजनीतिको दुषित र स्वार्थी नजरले हेर्ने गरिएकाले केही निश्चित स्वार्थीहरुले लगाउने गरेको आरोप हो ब्राह्मणवाद । अन्यथा यसबादका बारेमा कतै चर्चा    छैन ।

न्यायसूत्रमा जातिको वर्गीकरण उद्भवका आधारमा गरिएको छ । भनिएको छ – “समानप्रसवात्मिका जातिस्” अथवा जसको जन्म समान प्रकृतिले हुन्छ त्यो एक जाति हो । यसका आधारमा हेर्दा प्राणी जगतमा चार जाति छन् : उद्भिज जाति, अंडज जाति, पिंडज जाति र उष्मज जाति । धरतीमा उम्रने रुख, झारपात, वनस्पति आदि उद्भिज जाति हुन् । अण्डाबाट निस्कने पंक्षी, सरिसृप आदि अंडज जाति हुन् । स्तनधारी मनुष्य र पशुहरु पिंडज जाति हुन् । तापमान तथा परिस्थितिजन्य अनुकूल अवस्थामा उत्पन्न हुने जीव, भाइरस आदि उष्मज जाति हुन् । मानव मानवका बीचमा जाति व्यवस्थाको चर्चा र विभेदबारे कुनै शास्त्रमा उल्लेख गरिएको छैन । 

हाम्रो समाजमा अर्को एउटा कुरा अझै अचम्मको छ । जातीय समानताका कुरा गर्ने, भेदभावविरुद्धका कुरा गर्ने दलित समुदायभित्रै छुवाछुत छ । उनीहरु एकापसमै छुवाछुत मान्दै आएका छन् । बिहेबारी पनि एउटा दलित र अर्को दलितमा हुँदैन । सबैभन्दा पहिला दलित समुदायले यसलाई पनि सुधार गर्न आवश्यक छ ।

नेपालमा १२५ जातिको बसोबास रहेको छ । सबै जातिले आआफ्ना जातीय पहिचानमा गर्व गर्छन् । जातिव्यवस्थाको अन्त्य नै गर्ने हो भने संविधानमै एकमात्र जाति ‘नेपाली’ भनेर उल्लेख गरे के हुन्छ ? समानताका कुरा गर्ने जातिवादी नेताहरुले यस कुरामा ध्यान किन दिँदैनन् ? समानताकै कुरा गर्ने हो भने जातीय आरक्षणले सबैभन्दा बढी असमानता सिर्जना गरेको छ । आरक्षण आवश्यक छ, तर वर्गीय आरक्षण । हरेक जातिभित्रका गरीबलाई आरक्षण प्रदान गरेर उनीहरुलाई सबल बनाउन आवश्यक छ । 

लडाइँ भन्ने कि, युद्ध भन्ने कि, क्रान्ति भन्ने ? ती सबै भैसके । तिनले दिलाउने अधिकार सबै प्राप्त भैसक्यो । कानुनमा, कागजमा विभेद छैन । उल्टो आरक्षणले गर्दा अन्य जातिलाई विभेद गरिएको छ । अब समानताको आवश्यकता भनेको व्यवहारमा हो । व्यवहारमा परिवर्तन आउन मनमा परिवर्तन आउनपर्छ । मन मिल्न पर्छ । मन त्यसै मिल्दैन । मनले मनलाई प्रेमले र आत्मीयताले जित्नुपर्छ र बल्ल व्यवहारमै ठूलो सानो भनिँदैन । अर्कालाई गाली गर्ने अनि तिनैबाट राम्रो व्यवहार खोज्ने ? मन मिले जातपात केही भनिँदैन, भेदभावको त कुरै आउन्न । एउटै टेबलमा बसेर खाइन्छ । घरभित्रैसम्म, भान्सासम्मै स्वागत गरिन्छ र बोलाए आफू पनि गइन्छ । जसरी अहिले धेरै दलित भनिएकाहरुसँग बसिएको, खाइएको र आत्मीय भइएको छ तर मन नमिलेका आफ्नै जातकासँग पनि सँधै टाढा भइन्छ ।

अन्त्यमा, हामी मानव हौँ । हाम्रो पहिलो जात भनेको मानव हो । आउनुस् मनसँग मन साटौँ, दुःखसुख बाडौँ । बेकारको जातीय दुष्मनी किन ?? जातीय सहिष्णुता र सद्भाव एकतर्फी मात्र प्रयासले कायम हुँदैन । खोसेर अधिकार पाइएला मन जित्न सकिन्न । यस्ताखाले मतभेदले नयाँ पुस्तामा विकास हुँदै गएको जातीय सद्भाव फेरि पहिलाकै अवस्थामा नपुगोस् । यसमा सबैले ध्यान पुर्याउनु आवश्यक छ । याद राखौँ ! मन नमिलेसम्म व्यवहारमा समानता आउन्न । युद्धले अधिकार दिलाउला तर मनलाई जितिँदैन ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…