‘साथी सबैभन्दा माथि …’


लगभग बिहानको ७ बज्दै थियो । आँखा खुल्नासाथ नजर छेउमै रहेको मोवाइलमा पुग्यो । म्यासेन्जर के खोल्न भ्याएको थिएँ, म्यासेजको घन्टी वर्षाको झरी झै बर्सियो । झट्टै म्यासेजहरु हेरेँ । जुलाई ३०, अर्थात अन्तराष्ट्रिय मित्रता दिवसको अवसरमा साथीहरुले दर्साएको माया पो रहेछ ।
मन बडो प्रफुल्लित भयो । एक अर्थमा मन दिनभरि नै नाचिरहयो । मलाई थाहा छैन यो दिवस के कसरी कहिलेबाट मनाउन लागियो । तर, यसरी धेरै जना साथीहरुले मित्रता दिवस भनेर सम्झिएको भने यो नै पहिलो पटक थियो । साथीहरुका त्यी शुभेच्छाहरु पढ्दै गएँ । प्रायः म्यासेन्जरका म्यासेजहरु एकदुई पटक पढेपछि सामान्य अर्थमा रिप्लाई दिने गर्थें । तर, आज लामा–छोटा सबै म्यासेजहरू बारम्बार पढिरहेँ किनकि तिनले यसपटक अक्षरको संरचना वा सन्देश मात्रै होइन गहिरो भावना बोकेका थिए ।

जीवनमा मैले व्यतित गरेको एउटा पलको त्यो सुन्दर प्रतिविम्ब थियो । साथीहरुका शुभेच्छासँगै उनीहरुँंग विताएका दिनहरु सम्झिए । आजसम्म आइपुग्दा मैले धेरै साथीहरुको संगत गरेको छु । साथीहरुसँग सधैँ एकनासको सम्बन्ध रहँदैन । कहिले कामविशेष र भावनाहरुले नजिकिन्छ त कहिले असमझदारीले टाढिन्छ पनि । मान्छेको मन न हो सानो कुराले जोडिन्छ अनि सानै कुराले तोडिन्छ ।

तर, मित्र जस्तोसुकै होस् अनि कारण जे सुकै किन नहोस कुनै पनि मित्रलाई गुमाउँदा आजसम्म मन रमाएको अनुभव भने छैन मसँग । साथीहरु फरक–फरक पृष्ठभूमिका हुने भएकाले होला साथीसँगको हरबसाइमा केही न केही सिक्ने मौका भने जुरिरहेको हुन्छ । फरक यत्ति हो हामी धेरैले यो पक्ष कम नै केलाउने गर्छौं । साथीहरुमा त्यस्तो के शक्ति छ म जान्दिन, साथीहरु भेट्दा मन चङ्गा हुन्छ । साथीहरु मनका भावनाहरु बिसाउने चौतारी हुन् । जहाँ मनका सकारात्मक र नकारात्मक दुवै भाव अभिव्यक्त हुन्छन् । कति साथीहरूका बिचमा प्रिय बन्छन् र फुल्छन् । कति साथीहरुका हप्की पछि बिलाएर जान्छन् त कतिले मित्रतालाई नै बिदा गर्छन् ।

मित्रता त चट्नी जस्तो होस्, धेरै कुराले बनेको चट्ट मीठो पिरो । मित्रता भावानात्मक सम्बन्ध भएकाले पनि होला यसलाई भावना कै फूलले उन्नु पर्छ जस्तो लाग्छ । वर्षौं भेट नभएको साथीसँग बाटोमा कतै भेटियो भने पनि एक कप चियासँगै मन खुल्छ । जन्मदिनमा पुरानो साथीले सम्झिएर शुभकामना पठायो भने, जन्मदिन यसै विशेष बन्छ ।

कामको शिलशिलामा भौतारिँदै गर्दा कतै आफ्नो साथी भेटियो भने आनन्द मिल्छ । जीवन गतिशील छ । यो गतिशीलताको वेगसंगै हिड्नुको विकल्प छैन । जिन्दगीका अनगिन्ती मोडहरुमा अनेकन पात्रहरु साथी बन्छन्, कोही जुट्छन् त कोही फुट्छन् तर पनि यादहरु ताजै रहन्छन् । र, लाग्छ यस्तै कुराहरुले जीवनलाई जीवन्त राख्छ ।

मानवीय स्वभाव न हो हामी केही कुरालाई गुमाई सकेपछि मात्रै त्यसको महत्व बुझ्छौँ । र फर्किएर हेर्दा जुन कुराले हामी पहिले हाँसेका थियौं, आज त्यही कुराले रुने गर्छौं । कलेज गएपछि स्कुले साथीहरुको महत्व बारे बुझेँ । सायद अब कलेज सकेपछि कलेजका साथीहरु बारे बुझौंला । पछि जागिरे साथी जोडिएलान । यो क्रम यसै गरी नै चल्ला र पनि जीन्दगी त साथीकै साथ या त याद । यही दुईको दोसाँधमा चलिरहेछ ।

आजभोलि त सामाजिक संजालमा पनि साथीहरु जोडिन्छन् । कोही चैते हुरी जस्तो मौसममा एकपटक स्पर्श गरेर जान्छन् त कोही निरन्तर वगिरहने वायु जस्तो प्रत्येक पटक स्पर्श गर्छन् । चिन्ताचासो पोखिरहन्छन् । मैले बुझेकोमा बा–आमा सबैभन्दा नजिकका साथी हुन् । आमाको काखमा बसेर कुरा लुकाउन सकिदैन त बा’को साथ बिना जीन्दगीमा मुस्कुराउन । सबैको प्रिय छ त्यो बालापन–जहाँ कहिले साथीका लागि आफूले गाली खाइयो त कहिले आफ्नालागि साथीले ।

घरमा धेरैपटक वहानाहरु बने खेल्न र डुल्न जान । साथीका जन्मोत्सव मनाउन, नयाँ कपडा किन्न, मामाघर जान । आखिर समय कै खेल, हिजो चाहनाहरु पूर्ति गर्न वहानाहरु थिए । आज चाहनाहरु पनि छन्,त्यसैको परिमाणमा वहानाहरु पनि छन् । तर पनि चाहना र वहाना यी दुवैमा साथीको सुगन्धको मिठास छैन् । हिजो भाँडकुटी खेल्ने साथी थिए, आज सहपाठी छन् । भोलि सहकर्मी अनि जीन्दगीका त्यी अन्तिम दिनहरु कटाउन घाम ताप्ने साथीहरु । आखिरमा जीन्दगी साथीकै वरिपरि घुम्दो रहेछ । जब खाली हुन्छु, यस्तै यस्तै कुराहरुले मनको पिङ्गमा मच्चिन खोज्छन् । अक्षर बनेर डायरीका पानाहरुमा कोरिन पुग्छन् अनि फर्किएर कुनै दिन पढ्न पुगेँ भने फेरि यिनै शब्दहरु मुहारमा मुस्कान बनेर झझल्किन्छ । मित्रता सबैको सधैं अमर रहिरहोस् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…