‘बा’ले सफल होइन, असल बन्ने मन्त्र सिकाउनु भा’छ’

बा !
जब म सानो थिएँ । मेरा बा’ कामको शिलशिलामा कतै जानुहुन्थ्यो । अनि म बालाई रातिसम्म कुर्ने गर्थेँ । म जान्दिन थिएँ बा’को काम बन्थ्यो या बन्दैन थियो । तर, मलाई देखेपछि बा’ जहिले मुस्कुराउँदै झोलाबाट बिस्कुट, मिठाई (खानेकुरा) झिक्नुहुन्थ्यो ।

आज समयले लामो कालखण्ड बितायो । बिस्कुट, मिठाई … खाने त्यो छोरा अब कलेज पढ्ने भयो । मुस्कुराउने त्यी बा’का गालाहरुमा बुढेसकालका बक्र रेखाहरु सल्बलाउन थाले । समयको खेल भनौं या जमानाको । हिजो मैले बालाई कुर्थेँ । आज बा’ मलाई कुर्नुहुन्छ । बा’ त्यो ओझेल पारिएको पात्र हो जो साहित्य र गीतसंगीतमा विरलै प्रयोग गरिन्छ । त्यसैले कवयात्री निरा शर्माले भनेकी छन् ‘आमालाई धर्ती भन्नेहरुले कहिल्यै बालाई आकाश भनेनन् ।’ सायद बा’को प्राकृतिक बनोट र जिम्मेवारीले पनि होला बा’ द्वन्द्वात्मक पात्र जस्तो देखिन्छन् ।

हो बा’ हारिरहे । को सँग हारेनन् र बाले ? कहिले आमासँग हारे । कहिले छोराछोरीसँग हारे । कहिले समाजसँग हारे र सबैभन्दा बढी बा’ आफैसँग हारिरहे । बा’ कहिले ईमान्दार बनेन् आफैसंँग ।

कुन बा’ले नचाहेका होलान् र आफ्ना सन्ततिका इच्छा परिपूर्ति गर्न । तर बा’ विवश छन, बा’ घेरिएका छन् सयौं कुराहरुले । त्यसैले होला बा’को हृदयले नचाहँदै गर्दा पनि बा’को मुखमा बाध्यतामा छ ‘नाइ’ भन्न ।

समयले आज कोल्टे फेरेको छ । तर बा’का कथा उही छन् । बा’ले छोराछोरीका सपनासँग आफ्ना पसिना साटिरहेछन् । आफ्ना सपना बन्धकीमा राखेका छन् । थुप्रैका बा’ छुनु र मुनुको खाना र नानाका लागि मुग्लान भासिए । पोल्नुपर्ने बा’को खुइलिएको तालुमा जेठको घामले । छिर्नुपर्ने माघको चिसो च्यातिएको ज्याकेटबाट । तर बा’लाई न त पोल्यो न त गलायो । बा’ त बगिरहेछन् उही अविरल इन्द्रवती झै । सहेरै अनेकन आँधी र भेरी ।

बा’को गतिशीलताले मलाई अचम्मित बनाउँछ । मलाई थाहा छ, बा’का गोडाले बा’लाई साथ दिन अन्कनाइरहेका छन् । बा’ चिप्लिनुहुन्छ आजभोलि भारी बोक्दा । म लक्काजवान र पनि बा’ले कहिले बोकाएनन् मलाई गह्रौं भारी । बा’ले घाँसको भारी मात्रै पनि होइन । समयसँगै र मेरो हुर्काइसँगै तमसुक पत्रको भारी पनि अचेल ठुलै बोक्न थालेका छन् । राम्रोसँग बुझेको छु बा’को तलब के कति हुन्छ । तर अहँ ! बा’ कहिले झर्किएनन् । बा’ आज साथीसँग घुम्न जानु छ । बा’ मलाई नयाँ जुत्ता चाहिएको छ । बा’ मामाघर जानु छ । बा’ कलेजको फि । यस्तै यस्तै प्रश्नहरु फेरिरहन्छु म । तर, बा’को उत्तर जहिले उही हुन्छ, हस् छोरा कति चाहियो ? बा’ पनि त मान्छे नै हुन् । जब मेरा इच्छाहरु हुन्छन् भने बा’का पनि किन नहुन् । बा’ पनि त चाहन्थे होलान् आमालाई मखमलको चोली र फाइबरको साडीमा सजाएर आफु सुटेड र बुटेड भएर राराको त्यो काख र आमाको साथमा सुस्केरा हालेर आनन्दको सास फेर्न । रारा त के घरको छेउमै रहेको कालीको वगरमा बसेर आनन्दको सास फेर्ने फुर्सद पाएनन् ।

छिमेकी काका छोराले अष्ट्रेलिया बोलाएर जाँदै गर्दा बसपार्कसम्म छोड्न पुगेका मेरा बा’लाई पनि त रहर होला एकपटक अष्ट्रेलिया घुम्ने । तर, आफ्ना सबै सपनाहरुलाई लत्याईदिए सायद छोराले गर्ला, छोरीले गर्ली भनेर । बा’ रुदैनन् भन्ने जस्तो लाग्थ्यो सानोमा । तर म सरासर गलत थिएँ । दिदीलाई अन्माएको दिन सबैभन्दा बढी कोही रोएका थिए भने त्यी बा’ नै थिए प्रकृतिले नै आमा बा’लाई फरक–फरक जिम्मेवारी दिएको छ । तर सधैँ बा’ छत्रछायाँमा परिरहे । एकपटक सोध्नु मन छ साहित्यकारहरुलाई आमाको ममता लेख्ने तिमीहरुले बाका गाली किन लेखेनौ ? जुन गालीले तिमीलाई यस लायक बनायो । सोध्नु मन छ त्यी चेलीलाई आमाको फाटेको चोली देख्ने तिमीले कसरी देखिनौ फाटेको बा’को टोपीलाई ? र अन्तिममा सोध्नु छ त्यो छोरोलाई तिम्रा लागि दुनियाँका अनेकन लघुताभास र लाञ्छना सहेरै सधैँ सधेँ तिमीसँग हारेका त्यी बा’लाई किन रुवाउँछौ बुढेसकालमा ?

बा’ पनि त चाहन्थे होलान् आमालाई मखमलको चोली र फाइबरको साडीमा सजाएर आफु सुटेड र बुटेड भएर राराको त्यो काख र आमाको साथमा सुस्केरा हालेर आनन्दको सास फेर्न । रारा त के घरको छेउमै रहेको कालीको वगरमा बसेर आनन्दको सास फेर्ने फुर्सद पाएनन् ।

हो बा’ हारिरहे । को सँग हारेनन् र बाले ? कहिले आमासँग हारे । कहिले छोराछोरीसँग हारे । कहिले समाजसँग हारे र सबैभन्दा बढी बा’ आफैसँग हारिरहे । बा’ कहिले ईमान्दार बनेन् आफैसंँग । सायद बा’ आफैसँग ईमान्दार बन्थे भने हाम्रा बा’ पनि अरु देशका बा’हरु जस्तै हाफपाइन्ट लगाएर कोक पिउँदै डुल्थे होलान् युरोप र अमेरिकामा जस्तै ।

फर्किएर हेर्याैं भने जीन्दगीका हर कुरा हिजो जस्तै लाग्ने रहेछ । बा’को काँध चढेर गाउँ डुलेको अस्ति जस्तै लाग्छ । बाले थप्पड लगाएपछि बा’का विरुद्ध आमाको अदालतमा उजुरी नहालेको पनि अचेल धेरै भएछ । हिजो बा’लाई नबुझेर एउटै प्रश्न पटक–पटक सोध्ने छोरोका जिज्ञासा आजभोलि गुगलले मेटाउन थालेछ । एकपटक अनुरोध गर्नु मन छ त्यो निष्ठुरी समयलाई ।

ए समय तँ यति विघ्न गतिशील पनि नबनि दे न ! हिजो बा’लाई बुझ्दिन थिएँ र सधैँ टाढा टाढा रहिरहेँ । आज बा’लाई बुझ्छु तर समयले एउटा यस्तो मोडमा अल्झाएको छ कि बा’लाई बुझेर पनि लाचार बनिरहेछु ! मलाई अझै पुगेको छैन बा’लाई घोडा बनाएर । बा’लाई साइकल किनिदिनु भनेर झगडा गरेर । अनि बा’को स्वादिलो थप्पडले रोएर । तर जीन्दगीलाई मन्जुर रहेनछ क्यार हिँडिसकेको बाटो फेरि हिँड्नु । हिजो जे भयो सो भयो । बा’ यत्ति भन्छु अब दबिएको तिम्रो मुस्कान झरीपछि उघ्रिएको आकाश जस्तै खुल्ने छ । यति सबै कुरा भन्दै गर्दा बा’ तिम्रो यो छोरालाई आजभोलि प्रत्येक रात एउटै कुराले पिरोलिरहन्छ कतै योग्य पिताको सुयोग्य पुत्र बन्न सकिन भनि ?
ह्याप्पी फादर्स डे बा !

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…