
वीरगंज । नेपाली कांग्रेस पर्साले स्थानिय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे छ । कांग्रेसकाे जिल्ला कार्य समिति पर्साले साेमबार बधाई तथा सम्मान कार्यक्रमकाे आयाेजना गरि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेकाे हाे ।
वीरगंजीस्थत नगर सभागृहमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले आवश्यक्ता भएको ठाउँमा मात्र गठबन्धन हुने बताए । उनले गठबन्धन गर्नु गलत कुरो नभएको तर आवश्यक्ता भएका ठाउँहरुमा मात्रै गर्नु पर्ने धारणा राखे ।
कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले स्थानीय निर्वाचनमा गठबन्धन रहरले नभएर बाध्यताले गर्नुपरेको बताए । निर्वाचनमा गठबन्धन गर्ने आफ्नो इच्छा नभएपनि पार्टीका शिर्ष नेताहरुको दवावमा मिलेर चुनाव लड्नु परेको उनको भनाई थियो । रिजालले संघ र प्रदेशको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो ५ वर्षे कार्यकालमा मालिक नबनी जनताको सेवक भएर काम गर्ने सुझाव दिए ।
पार्टीका पूर्व जिल्ला सभापति अजय द्विवेदीले गठबन्धन कै कारण भारतामा कांग्रेस पार्टी अोझेलमा परेको हुँदा नेपालमा पनि गठबन्धन गरेर अघि बढे कांग्रेसको पत्ता साफ हुने बताए । उनले आफू सुरुवातदेखि नै गठबन्धनको विपक्षमा रहेको बताउँदै आगामी संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेर अन्य दलका नेताहरुलाई मत दिएर विजय गराउनु पर्ने अवस्था आए कांग्रेस पार्टी अझ बढी कम्जोर बन्दै जाने बताए ।
यसैगरी नेपाली कांग्रेसका वीरगंज महानगरपालिकाका नगर सभापति मणिन्द्र लाल नेपालीले पर्सा जिल्लामा नेपाली कांग्रेसलाई जोड्न निकै प्रयास गरेपनि असफल भएको बताए । उनले महानगर कार्य समितिले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दा नेताहरु कहिलै उपस्थिति नभएको दुखेसो पोखे ।
आफूले आयोजना गर्ने कार्यक्रम व्यक्तीगत नभई चार तारे झण्डा र प्रजातन्त्रको मूल्य र मान्यता मान्ने पार्टीको भएको भन्दै कार्यक्रहरुमा सहभागिता जनाईदिन अनुरोध समेत गरे ।
कार्यक्रममा वक्ताहरुले गठबन्धन कै कारण पार्टीले चाहे अनुसारको परिणाम नआएको बताए । वक्ताहरुले गठबन्धनलाई ठगबन्धन भएको वताउँदै आगामी संसदिय तथा प्रदेश चुनावमा गठबन्धन नगर्न आग्रह गरे । गठबन्धनमा रहेका दलहरु कतिको ईमानदार छन् भन्ने कुरा जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रस्ट भएको उनीहरुकाे भनाई थियाे ।
नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, जिल्ला कार्य समितिका उपसभापति रामनारायण प्रसाद कुर्मी, प्रदेश सभा सदस्य राजेश्वर साह, पर्सा क्षेत्र नम्बर ४ का सभापति एवम् जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वीरगंज महानगरपालिकाका उप–प्रमुख ईम्तियाज आलम लगायतका नेता तथा कांग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिहरुको सभागिता रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।