२०८० चैत्र १६ शुक्रबार

वीरगञ्ज महानगरले ल्यायो ३ अर्ब ३३ करोड बढीको नीति कार्यक्रम तथा बजेट सार्वजनिक

वीरगञ्ज, १० अषाढ । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल) मा जारी नगरसभाको ११ औं अधिवेशनमा “औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर” भन्ने नारा सहित वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

मधेश प्रदेशको एक मात्र महानगरपालिकाले आगामी वर्षमा चालु तर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । महानगरले चालुतर्फ ६२.०४ प्रतिशत र पूँजीगततर्फ ३७.९६ प्रतिशत बजेट विनियोजन गरेको हो ।

महानगरपाले चालु आर्थिक वर्षमा तीन अर्ब ५५ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षमा चालु तर्फ १ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ र पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख रुपैयाँ विनियोजित गरेको थियो । यद्दपी यसअघिका जनप्रतिनिधिले पूरा बजेट खर्च गर्न सकेको थिएनन् । 

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारको (वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत ) १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट (वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत ) ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाएको छ ।

यस्तै क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख आउने अनुमान गरिएको छ । अपुग हुने ४४ करोड १९ लाख ५९ हजार चालु आर्थिक वर्षको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट  व्यहोर्ने उपप्रमुख आलमले जानकारी दिए ।

महानगरले शिक्षा, युवा तथा खेलकुद सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १ करोड २० लाख ३० हजार, कृषि तर्फ ३ करोड २६ लाख ९० हजार, पूर्वाधार तर्फ १ अर्ब १९ करोड ९३ लाख, सामाजिक विकास तर्फ ९९ करोड ३५ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै सूचना प्रविधि र सञ्चारतर्फ १ करोड ५ लाख ९५ हजार, सेवा प्रवाह संगठन सुद्दृढीकरणतर्फ ९३ करोड ५३ लाख २१ हजार, सरसफाई व्यवस्थापनमा ८ करोड ९१ लाख, वन तथा वातावरण र विपद व्यवस्थापनका लागि ५ करोड ९९ लाख, आर्थिक विकासका लागि १० करोड ४२ लाख ९० हजार रुपैयाँ, महिला, बालबालिका तथा जेष्ठ नागरिक र अपांगता, संस्थागत विकास, राजश्व तथा अन्य आय संकलन व्यवस्थापनका लागि पनि बजेटको व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

बजेटमा भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन, सूचना प्रविधि, ज्येष्ठ नागरिक सम्मान जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

करको दर नबधाई, दायरा बढाउने

महानगरपालिकाले करको प्रलानीलाई वैज्ञानिक र व्यवहारिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै कर प्रणालीलाई पुनरावलोकन गर्दै करको दर नबढाई दायरा बढाउने नीति लिएको छ । त्यस्तै महानगरपालिकाको वडा नम्बर १७ देखि ३२ सम्म घरको नक्सा पास नगारई घर बनाउने व्यक्तिले आगामी पौष मसान्त भित्र घरको नक्सा बनाए दस्तुरमा ५० प्रतिसत छुटको व्यवस्था मार्फत गरिएको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए । त्यसैगरी व्यवसाय दर्ता नगरेका र घर तथा भवन भाडामा लगाई घर बहाल कर नतिरेकाहरुले पनि पौष मसान्त भित्र व्यवसाय दर्ता गराएर र घर बहाल कर तिरे तोकिएको प्रतिशतले छुटको व्यवस्था गरिएको सिंहले बताए । तोकिएका करहरु वडा कार्यालयबाट तिर्ने गरी अनलाइन प्रणालीको विकास गरी भदौंको मसान्तको दोस्रो सातासम्ममा लागू गरिने समेत सिंहले जानकारी दिए ।

फोहर व्यवस्थापनको जिम्मा वडालाई

सिंहले वीरगञ्ज महानगरपालिकाले फोहर व्यवस्थापनको सम्पूर्ण जिम्मा वडालाई दिने निर्णय गरेको जनाएका छन् । वडा कार्यालयलाई आवश्यक उपकरण र जनशक्ति प्रदान गर्दै फोहर व्यवस्थापनको सम्पूर्ण जिम्मा वडालाई दिने निर्णय गरिएको उनले बताए । त्यस्तै ल्याण्डफिल साइतको लागि फोहर व्यस्थापन गर्न थप पूर्वाधार तथा उपकरणको व्यवस्थापन गरिने पनि उनले भने । नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिने र पूराना शौचालयहरुको मर्मत सम्भार गर्दै व्यवस्थित बनाइने सिंहले बताए । उनले शहरभरि जालो झैँ जेलिएका टेलिफोन, ईन्टरनेट, तथा टेलिभिजन सेवा प्रदायकहरुको तार र जथाभावी राखिएका होर्डिङ बोर्डहरुको पनि व्यवस्थापन गरिने उनले बताए ।

मेयर सिंहले वीरगञ्ज प्लास्टिकको कालो झोलाको प्रयोग नियूनिकरण गर्दै सबै प्रकारका प्रदूषण नियन्त्रणका साथै खुल्ला दिशा मुक्त बनाइने र जनचेतना कार्यक्रम गरिने बताए ।

ट्रान्सपोर्ट नगरको स्थापना

सिंहले वीरगञ्जमा देशमै नमुना हुने गरी व्यवस्थित गोदाम, पार्किङ्, र अन्य सुविधासहित ट्रान्सपोर्ट नगरको स्थापना गरिने जनाएका छन् । त्यसैगरी उनले वीरगञ्जमा चक्रपथको निर्माण गरी महानगरको ३२ वटै वडालाई सडक सञ्जालसँग जोडिने पनि सिंहले बताए । महानगरको पर्यटकीय क्षेत्रका रुपमा परिचित बिन्दवासिनी मन्दिर, पिपरा नृसिंह मन्दिर र भिष्वा चैत्य विहारको डीपीआर तयार गरी वृहत निर्माण कार्य अघि बढाउने योजना समेत रहेको सिंहले बताए । वीरगञ्ज महानगरपालिकाको एकिरित शहरी विकास योजना बनाएर सोही अनुसार शहरी विकास कार्यलाई अगाडि बढाइने, महानगरका महत्वपूर्ण स्थानहरुमा सीसीटिभी क्यामेरा जडान गरी आधुनिक सीसीटीभी कन्ट्रोल रुमको स्थापना गरी वीरगञ्जलाई सुरक्षित बनाइने उनले बताए । सिमावर्ती शहर रक्सौलसँग सहकार्य गरी वीरगञ्जलाई मैत्री शहरको

रुपमा विकिसित गरिने योजना पनि आफूहरुको रहेको सिंहले जनाए । उनले वारुण यन्त्र (दमकल) र एम्बुलेन्श सेवालाई महानगरको ग्रामिण क्षेत्रसम्म पुर्याई सेवा विस्तार गरिने जनाए ।

आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस । 

२०७९ असार १०, शुक्रबार १७:२९ गते 1 Minute 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार