२०७९ माघ १७ मंगलवार

टिकट वितरणमा सुझबुझ नहुँदा पराजित भयौँ : डा. कोइराला

वीरगञ्ज – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुने गरी चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बताए । प्रेस युनियन पर्साले वीरगञ्जको नगर सभा गृहमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले मंसिरको पहिलो सातासम्म हुने प्रदेश र संघिय निर्वाचनसम्म पनि गठबन्धनले निरन्तरता पाउने संकेत गरे ।

स्थानीय तहको निर्वाचनमा पनि सबैभन्दा बढी स्थानीय तहमा जित हाँसिल गरेको र सबैभन्दा पूरानो पार्टी भएको कारण पनि कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन कायमै रहने बताए । उनले भने, “माओवादी, जसपा र एकिकृत समाजवादीले कुराहरु उठाइरहनुभएको छ, उहाँहरुलाई के लागिरहेको छ भने हामी नै सबै हौँ भन्ने बुझाई छ, तर त्यस्तो हैन, नेपाली कांग्रेस सबैभन्दा ठूलो अनि पूरानो पार्टी हो ।”

आर्थिक र सामाजिक रुपान्तरणको बारेमा तालमेल गर्ने राजनीतिक दलहरुको बिचमा एउटै धारणा हुनुपर्ने बताउँदै उनले त्यसका लागि अरु दल तयार छन् भन्दै प्रतिप्रश्न गरे । वैदेशिक नीतिमा पनि आपसी समझदारी हुनुपर्नेमा उनले जोड दिए । उनले भने, “गठबन्धन गरेका छौँ, उहाँहरु पनि हामीसँगै सत्ता गठबन्धनमा हुनुहुन्छ, तर एमसिसीकै सवालमा सडकमा ढुंगा मुढा गर्नुभयो, प्रदर्शन गर्नुभयो । त्यसरी चल्दैन अब ।”

‘पाँच वर्षसम्म नेपाली कांग्रेसकै नेतृत्वमा स्थायी सरकार बनाउने पक्षमा हामी सचेत छौँ । यसका लागि छलफल पनि भइरहेको छ । माओवादीले २०७४ सालकै जसरी सिट मागीरहेको छ त्यसरी हामी जाँदैनौ’, कोइरालाले भने । 

कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै डा. कोइरालाले सहमति, सहकार्य र एकताको भावनाले अगाडी बढे मात्रै कांग्रेसको भविष्य उज्वल हुने तर्क गरे । नागरिकता विद्येयक पास भएको विषयमा उनले मधेशमा धेरै जनताहरुमा खुशी छाएको आफुले पाएको प्रतिक्रिया दिए । 

पर्सा जिल्ला नेपाली कांग्रेसको गढ भएपनि टिकट वितरणमा केही सुझबुझ नहुँदा पराजित हुनुपरेको बताउँदै उनले अबको प्रदेश र संघीय निर्वाचनमा १२ वटै क्षेत्रमा कांग्रेसले जित्ने दावी गरे । 
पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टीभित्र गुट हुनु स्वभाविक भएको बताउँदै अन्य पार्टीसँगको लडाईमा एक हुनुपर्ने धारणा राखे । उनले भने, “विदेशमा पनि पार्टीभित्र गुट हुन्छ , अनि के नेपालमा हुँदैन ? राष्ट्रिय सवाल र अन्य पार्टीसँगको लडाइमा एक हुनुपर्छ ।”

प्रेस युनियन पर्साका सभापति रामनारायण कुर्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेताहरु सञ्ज्य गौतम, रामकृष्ण यादव, शोभाकर पराजुली, संविधान सभा सदस्यद्वय राजेन्द्र बहादुर अमात्य, अजय द्विवेदी, राजकृष्ण अमात्य, बिरेन्द्रलाल नेपाली महाधिवेशन प्रतिनीधि श्याम पटेल, नेपाली कांग्रेस वीरगञ्ज महानगरका सभापति मणिन्द्रलाल नेपाली लगायतको उपस्थिती रहेको थियो । 

२०७९ श्रावण ११, बुधबार १६:३२ गते 1 Minute 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार