
वीरगञ्ज – हिन्दू स्वयंसेवक संघ नेपाल पर्साले वीरगञ्जमा गुरुदक्षिणा उत्सव मनाईएको छ । संघले शनिबार वीरगञ्जको आदर्शनगरस्थित जैन भवनमा आयोजना गरेको उत्सवमा सहभागि स्वयंसेवकहरूले परम पवित्र भगवाद्ध्वजको पूजा गरी गुरुपूर्णिमा मनाएका हुन् ।
उत्सवमा सहभागि स्वंयसेवकहरुले यस दिन गुरुको रूपमा ज्ञान, त्याग, सौर्य जस्ता तत्वका प्रतीकका रूपमा स्थापित परम् पवित्र भगवाध्वजलाई विधिवत् पूजा गर्दै आफूले सञ्चय गरेको दक्षिणा ‘गुरुदक्षिणा’का रूपमा समर्पण समेत गरेका छन् ।
राष्ट्रिय स्वयंसेवक संघ, भारतका पूर्व उत्तर प्रदेशका बौद्धिक शिक्षण प्रमुख मिथलेश नारायणले गुरुपूर्णिमा पर्वको महत्व, गुरुदक्षिणा र भगवाध्वजलाई गुरुका रूपमा स्थापित गरिनु पछाडिको आवश्यकता र उद्देश्यबारे स्पष्ट पारेका थिए ।
उनले आफ्नो धर्मको सम्मान र रक्षाको निम्ती विश्वका हिन्दूहरु संगठित हुनुपर्ने बताएका छन् । उनले भने, ‘आफनो धर्म र संस्कारले सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय भाव सिकाउँछ अर्थात हिन्दू धर्मले कुनै एक धर्म समुदायको कुरा गर्दैन, विश्वका सम्पूर्ण धर्म र मावनताको सम्मानको कुरा गर्छ ।’
आषाढ पूर्णिमालाई हिन्दू समाजमा भगवान् वेदव्यासको प्राकट्य दिवसका रूपमा मनाइन्छ । यस दिन समग्र हिन्दू समाजले आफ्ना गुरुप्रति कृतज्ञता अर्पण गर्दछ । हामी हिन्दू स्वयंसेवक संघ नेपालका स्वयंसेवकहरूले वर्षभरि मनाउने ६ वटा मुख्य पर्वमध्ये गुरुपूर्णिमा पनि एका हो । हिन्दू पञ्चाङ्ग–अनुसार प्रत्येक वर्ष आषाढ पूर्णिमाका दिन गुरुपूर्णिमा पर्व मनाइन्छ ।
हिन्दू स्वयंसेवक संघ वीरगञ्ज नगर संघचालक रामलक्षणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका राष्ट्रिय प्रचारक वेद प्रकाश, राष्ट्रिय संघ सम्पर्क प्रमुख अशोक बैद्य, संघका जनकपुर सम्भाहक रञ्जीत साह, विभाग संघ चालक ललन द्धिवेद्धी लगायतको उपस्थिती रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।