
काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्मको चुनावी अभियान घोषणा गरेको छ।
शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ भन्ने अभियान घोषणा गरेको हो। पहिलो चरणको अभियान भदाै १० गतेदेखि वीपी जन्मजयन्ती भदौ २४ गतेसम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटिने उनले बताए। पत्रकार सम्मेलनमा प्रवक्ता महतले आगामी निर्वाचनमा गबठन्धनको तालमेललाई प्रभावकारी बनाउने र परिणाम धेरै लिने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताए। गठबन्धनमा सिट बाँटफाँट टुंगो लगाउने कोसिस भइरहेको भन्दै जटिल भए पनि टुंगो लगाउनै नसक्ने अवस्था नरहेको उनले बताए।
प्रवक्ता महतले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनः पारित गरेर पठाएपछि नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुपर्ने बताए। उनले यसअघिको नागरिकता सम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले हुबहु तत्काल अनुमोदन र अहिले फिर्ता गर्दा पनि ठोस कारण दिन नसकेको तर्क गरे।
कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धी एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु-सूचित गर्ने जनाएको छ भने निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने जनाएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।