२०७९ मंसिर १७ शनिबार

वीरगञ्जवासीको दैनिकीसँग जोडिएको समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता :मेयर सिंह

 वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगञ्जवासीको दैनिकीसँग जोडिएको समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

नगर प्रमुख सिंहले स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको नेतृत्व सम्हालेको सय दिन पुरा भएको अवसरमा शुक्रबार महानगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आफूले सय दिनको यो अवधिलाई कार्यकालको बाँकी समयकै निरन्तरताको रुपमा लिएको बताए ।

साे अवसरमा सय दिनमा गरिएकाे कामकाे विवरण सार्वजनिक गरिएकाे छ ।

सपथ ग्रहण गरेकै दिन घण्टाघरकाे सडक निर्माणकाे काम सुरु गरेर काम थालेकाे बताउँदै त्यसपछिका दिनमा कुनै पनि दिन फुर्सदमा नबिताएकाे बताए । अनिवार्य, आकस्मीक तथा चाडपर्व विदाको दिनमा समेत निरन्तर काम गरिरहेकाे भन्दै समृद्ध वीरञ्ज निर्माण तथा वीरगञ्जवासीको समस्या समाधान गर्दै नगरवासीका जनजीविकासँग जोडिएका कामलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताए ।

सार्वजनिक गरिएकाे सय दिनकाे उपलब्धि विभिन्न २६ बुँदामा समेटिएकाे छ ।

महानगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवाका लागि अनिवार्य शुल्क बाहेक विभिन्न बहानामा सेवाग्राहीसँग असुली गलत अभ्यासलाई पूर्ण रुपमा अन्त्य गरिएको, सेवाग्राहीलाई गलत नियत राखी अल्झाउने पद्धतिको अन्त्य गरी छिटो छरितो सेवा प्रवाह गरिएको, कर्मचारी र जनप्रतिनिधिलाई मात्रै नभई सेवाग्राहीको सहजताका लागि एसी सहितको डिजिटल टोकनको व्यवस्था गरिएको, कर्मचारीहरू समयमा उपस्थित भए नभएको अनुगमन गर्न ई–हाजिरीको व्यवस्था गरिएको, महानगरपालिका प्रत्येक वडाको सेवालाई डिजिटल बनाइएको, कम्प्युटर अपरेटरको व्यवस्था गरी व्यवसाय कर, बहाल कर, एकिकृत सम्पत्ति कर वडाबाटै तिर्ने व्यवस्था मिलाइएको, सरसफाईको जिम्मा पनि वडामा नै विकेन्द्रित गरिएको, वीरगंजलाई मैत्री सहरको रुपमा विकास गर्न सवारी व्यवस्थापन कर खारेज गरिएको लगायतका विभिन्न २५ बुँदे उपलब्धी सार्वजनिक गरिएकाे छ ।

नगर प्रमुख सिंहले यस अघि निर्वाचित जनप्रतिनिधिले महानगरको ठूलो रकम हिनामिना गरेको हुँदा कारबाहीको दायरमा ल्याउन अख्तियारलाई समेत आग्रह गरिएको पनि बताए । पत्रकार सम्मेलन वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल लगायतको उपस्थिति रहेको थियो ।

२०७९ भाद्र १७, शुक्रबार १८:२९ गते 0 Minutes 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?