
काठमाण्डौ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मंसिर ४ गते हुने चुनावमा एमालेसित सिटको बाँडफाँटमा जित्ने जनाधारलाई प्राथमिकतामा राख्ने भएको छ ।
लोसपाले तराई मधेशमा २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी( हाल जसपा) र तत्कालीन राष्ट्रिय जनता पार्टी (हाल लोसपा) ले जितेका सबै सिटमा दाबी गरेको छ ।तर जसपाले जितेको सिटमा एमाले पनि दाबी गरेको छ ।
लोसपाले एमालेसित जनाधार(ग्राउण्ड रियलिटी)को आधारमा सिटको तालमेल गर्न चाहेको छ । विगतमा एमाले अथवा लोसपा/जसपा जसले जितेको भए पनि हालको अवस्थालाई दृष्टिगत गरी सिटको तालमेल हुने लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले जनाए । लोसपाले जसपाको भागको सिट समेत मागेकाले एमाले हच्चिएको छ ।
एमाले वार्ता समितिका संयोजक विष्णु पौडेलले जसपाले जितेको सिट एमालेले राख्ने र लोसपाले जितेको सिट दिने प्रस्ताव गरिसकेका छन् ।त्यसमा लोसपा सहमत देखिएको छैन् ।
नेता भण्डारीका अनुसार दुवै दलबीच हाल वार्ता सुरु भएको छैन् । ‘हामी आ–आआफ्नो दलमा गृहकार्य गरिरहेका छौ’ उनले भने, दुई दलबीच गठबन्धन नभएकाले सिट बाँडफाँटमा ‘ग्राउण्ड रियलिटी’को मूल्यांकन गरिरहेका छौ ।
लोसपाले गत हप्ता विज्ञप्ति सार्वजनिकगर्दै विचार मिल्ने नेकपा एमालेसहितका दलहरुसित गठबन्धन गरी चुनावमा जाने बताएको थियो ।सामाजिक सञ्जालमा त्यसको व्यापक आलोचना पनि भएको थियो ।
एमालेकै चाहना अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोप लागिरहेको बेला लोसपाले उसलाई विचार मिल्ने दलको रुपमा लिएकाले मधेशी युवाहरुले आलोचना गरे ।
विधेयक प्रमाणीकरण नभएको विरोधमा सडक संघर्षमा उत्रने चेतावनी दिएको लोसपाको विरोध कार्यक्रम हुन सकेको छैन् । प्रमाणीकरण रोक्ने एमालेसित नै मिलेपछि मधेशको लोसपाप्रतिको असन्तुष्टि बढेको बताइन्छ ।
लोसपाका चार प्रमुख नेताहरुको जितसमेत सुनिश्चित छैन् ।दुई नेताको स्थिति एमालेसितको तालमेलबाट बलियो हुन सक्ने भए पनि दुई जना नेताको अवस्थामा धेरै सुधार आउने संभावना देखिएको छैन् ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पाँच दलीय गठबन्धनबाट महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा जसपाका हरिनारायण यादवले चुनौती दिने भएका छन् ।गत चुनावमा ठाकुरलाई कांग्रेस र जसपा समेतले सघाएको थियो ।जसपासित गठबन्धन र कांग्रेसले उम्मेदवारी दिएको थिएन् ।
महोत्तरी जिल्लाकै निर्वाचन क्षेत्र नम्बर २ मा जितेका लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई यस पटक गठबन्धनबाट नेपाली कांग्रेसकी किरण यादवले टक्कर दिने भएकी छन् ।
यादवबाट दोस्रो संविधान सभा चुनावमा हारेका भण्डारीले उनलाई २०७४को चुनावमा हराएका थिए ।भण्डारीलाई जसपाको सहयोग थियो । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट २०७४ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई चुनाव हराएका लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो हालसम्म चुनाव क्षेत्र निर्धारण गर्न सकेका छैनन् ।
एमालेबाट जुली महतो उम्मेदवारी दिने भएकाले महतो हच्चिएका छन् । तर सिटको बाँडफाँटमा भएको प्रारम्भिक सहमति अनुसार लोसपाले जितेको क्षेत्रमा एमालेले सघाउने भएको कारण धनुषा क्षेत्र नम्बर ३ बाट जुली महतोको उम्मेदवारी नहुन सक्छ । महतो सर्लाही २ अथवा धनुषा ३ बाट उम्मेदवारी दिने निर्णयमा पुगिसकेका छैनन् ।
लोसपाका अर्का नेता अनिल कुमार झाको अवस्था पनि कमजोर छ । पाँच दलीय गठबन्धनमा रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसित झालाई भिड्नु परिरहेको छ ।
हुनत २०७४ सालको चुनावमा झाले नेपाललाई हराएका थिए । नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरी प्रतिनिधि र प्रदेश सभाको चुनाव लडे पनि एमालेले मधेश प्रदेशमा २ सिट मात्र जित्न सकेका थिए ।
प्रदेशमा पनि उसको अवस्था कमजोर रहेको थियो । तर हालै सम्पन्न स्थानीय तहको चुनावमा एमालले भारी सफलता पाएको छ ।पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई समेत कयौं पालिकामा पराजित गरी एमालेले ३० वटा पालिका र २ सय ७४ वटा वडा जितेको छ ।
लोसपाले १४ वटा पालिका र ८७ वटा वडा मात्र जित्न सकेको छ । लोसपाले जसपाले जितेको क्षेत्रमा दाबी गरे पनि एमालेले उसको ४ जना नेताको जित सुनिश्चित गर्ने बाहेक अन्य क्षेत्रहरु दिने पक्षमा छैन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।