
वीरगञ्ज – ठेकेदारबाट नेता बनेका सिंघासन साह कलवारले राजनीतिको आडमा ठेक्कापट्टा लिई छोटो समयमा करोडौको सम्पती आर्जन गरेका छन् ।
झोले ठेकेदार भएर पेटी कन्ट्रयाक्टको काम गर्ने कलवार प्रदेशसभा सदस्यमा निर्वाचित भएदेखि करोडौँको ठेक्कापट्टा हातमा लिई राजनीतिको दुरुपयोग गरीरहेका छन् ।
पेटी कन्ट्रयाक्ट ठेकेदार भई ५/१० लाखसम्मको सामान्य ठेक्काको काम गर्दै आएका कलवार प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि राजनीतिको आडमा करोडौको ठेक्का लिने ठेकेदार बनेका छन् ।
निर्वाचन अघि टुटेफुटेका मोटरसाइकल लिई पेटी कन्ट्रयाक्टका लागि ठूला ठेकेदारको घरदैलो चाहार्दै हिँड्ने उनले निर्वाचित भएदेखि मधेश प्रदेश सरकारको पोखरी सौन्दर्यकरणको मात्रै करिब ७ सय करोडको योजना हात पारेर करोडौँको सम्पती आर्जन गरेको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियानअन्र्तगतको पोखरी सौन्दर्यकरण कार्यक्रममध्ये मधेश प्रदेशका अधिकांश पोखरीको ठेक्का कलवारकै निर्माण कम्पनी रञ्जन निर्माण सेवाले पाएको छ ।
मुख्यमन्त्रीसँग नजिकिएर कलवारले पोखरीसँगै अन्य मधेश प्रदेशका ठेक्काहरु पनि हात पारेका छन् । वीरगञ्जको मुर्ली पोखरी, नगवा पोखरी, छिपहरमाई पोखरी लगायत बारासहित अन्य जिल्लाका पोखरीहरुको ठेक्का पनि कलवारकै कम्पनीले पाएको छ ।
ठेक्का पाएपनि अधुरै काम छोड्नुका साथै अधिकांश स्थानमा कमशल सामाग्रीको प्रयोग गरेर करोडौँ भ्रष्टाचार गरेको आरोप पनि उनलाई लागिरहेको छ ।
गुणस्तरहिन तथा कमशल सामाग्रीको प्रयोग गरेर कम खर्च र बढी फाइदा गर्न उनी विभिन्न तानाबुना बुनीरहेका हुन्छन् ।
वीरगञ्जस्थित मुर्ली पोखरीमा ठेकेदार कम्पनीकै लापरवाहीका कारण २ जना बालकको समेत डुबेर मृत्यु भएको थियो । मुर्ली पोखरी सौन्दर्यकरणको ठेक्का लिएका कलवारले निगरानी नगर्दा र अलपत्र अवस्थामा छोड्दा २ जनाले अकालमै ज्यान गुमाउनुपरेको भन्दै स्थानीयले पनि आक्रोश पोखेका थिए ।
सोही ठेक्कापट्टाकै कामबाट कलवारले वीरगञ्जको घरमा तलामाथि तला थप्दै ४ तला बनाएका छन् भने बारामा हुलास स्टिल नजिकै १३ कट्ठा जग्गा, वीरगञ्जको सेकेण्ड बाईपास (४० फिट) सडक नजिकै पनि जग्गा जोड्न सफल भएका छन् । उनले संघिय राजधानी काठमाण्डौमा पनि घर बनाएका छन् ।
ईन्जिनियर भगवान झामार्फत ६० प्रतिशतभन्दा बढी पोखरी सौन्दर्यकरणका ठेक्का कलवारले प्राप्त गरेका हुन् । कलवारले आफ्नो क्षेत्रको विकास र त्याहाँका जनताको जीवनस्तरमा सुधार गर्नुको साटो आफ्नै जीवनयापनमा सुधार गर्नुका साथै आफ्ना आसेपासेहरुलाई मात्रै हेरेको जनताको गुनासो छ ।
नेता बनेपछि त्यसकै बलमा ठेकेदारी गर्दा फाइदा हुने देखेपछि फेरी यसपटक पनि लाखौ खर्च गरेर नेतालाई रिझाएर टिकट हात पार्न उनी सफल भएका छन् । यसरी राजनीतिको ठेकेदारी गर्ने नेतालाई फेरी जनताले निर्वाचित गर्छन् कि गर्दैनन् त्यो मंसिर ४ गते हुने निर्वाचनको नतिजाले बताउला ।यात्रा डेलीबाट सभार
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।