२०७९ मंसिर १७ शनिबार

नगवा, मुर्ली र छिपहरमाईको पोखरी अलपत्र पार्ने ‘ठेकेदार’ सिंगासन फेरि मत माग्दै

वीरगंज – ठेकेदारहरु संसद भएपछि सत्ताको आडमा कसरी करोडौँ रुपैयाँ आर्जन गर्छन् ? त्यसको प्रत्यक्ष उदाहरण बनेका छन् पर्साका निवर्तमान प्रदेश सांसद सिंगासन कलवार । मधेश आन्दोलनको राप तापमा २०७४ मा पर्साको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट सिंगासन कलवार जितेका थिए ।

प्रदेशमा आफ्नै पार्टीको सरकार बनेपछि सिंघासनले पोखरी सौन्दर्यकरण अधिकांश ठेक्का आफ्नो निर्माण कम्पनीलाई पार्न लगाएका छन् । रन्जन निर्माण सेवा सिंगासनको कम्पनी हो । सिंघासनकी श्रीमती आशा देवी गुप्ता निर्माण सेवाकी सञ्चालक हुन् ।

मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग निकटताको आडमा सिंघासनले प्रदेश सरकारबाट पोखरी सौन्दर्यकरण, सडक निर्माण लगायतका अधिकांश ठेक्का आफ्नै कम्पनीलाई पार्न लगाएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टचार भएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरेपछि मुख्यमन्त्री कार्यालयले पोखरी सौन्दर्यकरण योजना सम्बन्धी फाइलहरु भौतिक पूर्वाधार कार्यालयमा पठाएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जनकपुरले पोखरी सौन्दर्यकरणको ठेक्का दिँदा प्रदेश सांसद सिंघासनको कम्पनीले अधिकांश ठेक्का पाएको थियो ।

सिंघासनको रन्जन निर्माण सेवाले पर्सा जिल्लामा मात्र ३० करोड ४३ लाख रुपैयाँमा ३ वटा पोखरी सौन्दर्यकरणको ठेक्का लिएको छ । मुख्यमन्त्री कार्यालयबाट लगाइएको ठेक्का ३ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि हालसम्म कुनै पनि पोखरीको सौन्दर्यकरणको काम सम्पन्न भएको छैन् ।

तीनवटै पोखरी प्रेरा निर्माण सेवासँग रन्जनले ‘ज्वाइन्ट भेन्चर’मा ठेक्का सकार गरेपनि फिल्डमा काम भने रन्जनले नै गरिरहेको ठेकेदारहरुले जनाएका छन् । रन्जन र्मिाण सेवाले वीरगन्जको मुर्ली पोखरी ९ करोड ९७ लाख र वीरगन्जकै नगवा पोखरी १० करोड रुपैयाँ ठेक्का पाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा पाएको पोखरी सौन्दर्यकरणको ठेक्का ३ वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने थियो ।

मुर्ली पोखरीमा काम गरेर साढे ५ करोड र नगवा पोखरीमा काम गरेको वापत करिब ४ करोड रुपैयाँ भुक्तानी रन्जन निर्माण सेवाले लिइसकेको छ । वीरगन्जको नगवा र मुर्ली पोखरी अहिले अलपत्र परेको छ ।  पटकट पटक म्याद थप्दा पनि पोखरी सौन्दर्यकरणको काम अधुरै छ ।

प्रदेशको भौतिक पूर्वाधार कार्यालयका अनुसार निर्माण कम्पनीले १६ महिना अगाडि म्याद थपका लागि निवेदन दिएका थिए । कार्यालयले म्याद थप नगरिदिएपछि निर्माण कम्पनीले अदालतमा मुद्दा हालेका छन् ।

२०७५/७६ मै रन्जन निर्माण सेवाले छिपहरमाईको पोखरी पनि सौन्दर्यकरण गर्ने काम पाएको थियो । १० करोड ४४ लाख रुपैयाँको उक्त ठेक्काको २ करोड रुपैयाँ निकासा भइसकेको छ । तर, पोखरी अलपत्र छ । साभार : हमार वीरगन्ज

२०७९ कार्तिक २५, शुक्रबार १७:१६ गते 1 Minute 277 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?