
वीरगंज – पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । १ सय ६७ मतदान स्थलमा तयार गरिएको ४ सय १२ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको हो । हाल मतगणना स्थलमा मतपेटिका संकलनकाे कार्य भइरहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
क्षेत्र नं. १ र २ अन्तर्गतका मतपेटिकाहरु मतगणना स्थल ठाकुर राम क्याम्पस वीरगंजमा संकलन कार्य भइरहेकाे छ भने क्षेत्र नं. ३ र ४ काे मतगणना स्थल श्री जिल्ला उच्चांगल मावि पाेखरिया मतपेटिका संकलन कार्य भइरहेकाे छ ।
जिल्लामा ५१ प्रतिशत भन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । ‘मतदान अधिकृत आएर मतपेटिका नबुझाएसम्म यकिन तथ्यांक आउँदैन,’ उनले भने, ‘सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ५१ प्रतिशत भन्दा बढी मत खसेको अनुमान छ ।’
पर्सा क्षेत्र नं. ४ मा ५५ प्रतिशत जति मत खसेकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का सूचना अधिकारी सुरेन्द्र यादवले वताए । मतगणना स्थलमा क्षेत्र अन्तर्गतका सम्पूर्ण मतदान केन्द्रकाे मतपेटिका पुगिसकेपछि सर्वदलिय बैठक बसेर मतगणना सुरु गरिने उनले वताए । मतगणनाकाे लागि सम्पूर्ण तयारी पुरा भइसकाे सूचना अधिकारी यादवले जानकारी दिए ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्सामा ७० प्रतिशत मत खसेको थियो । ४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा ३ लाख ४५ हजार ९ सय २८ मतदाता छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।