२०८० मंसिर १६ शनिबार

विद्यार्थीको अपहरण गरि हत्या गर्ने शिक्षकसहित २ जना पक्राउ

वीरगञ्ज  – वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया खल्वाटोला निवासी श्रीराम हजरा दुसादले गत मङ्सिर ६ गते आफ्नो छोराको खोजी गर्न आग्रह गर्दै प्रहरीमा निवेदन दिए । मङ्सिर ५ गतेदेखि हराइरहेको १४ वर्षीय छोरा निरजकुमार पासवानलाई खोज्न आग्रह गर्दै श्रीरामले भोलिपल्ट स्थानीय प्रहरी चौकीलाई खबर गरेका थिए । श्रीरामले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले निरजको तस्विरसहितको हुलिया मातहतका सबै प्रहरी कार्यालयमा खोजतलासका लागि परिपत्र गर्‍यो ।

निरज बेपत्ता भएको १२ दिनपछि श्रीरामलाई एउटा नेपाली नम्बरबाट ५० लाख रुपैयाँ फिरौती रकम माग गर्दै फोन आयो । उनले यस बारे प्रहरीलाई मङ्सिर २५ गते खबर गरे ।

फिरौती रकम माग भएको जानकारी पछि प्रहरीले बालकको खोजीलाई तीव्र बनाउँदै फोन आएको नम्बरलाई ट्रेस गर्‍यो । फोन ट्रेस गरेर शङ्काको आधारमा पुष ९ गते प्रहरीले सोही गाउँमा बस्ने एकजना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढायो । अनुसन्धान गर्ने क्रममा पक्राउ परेका व्यक्तिले निरजलाई हत्या गरेर गाउँकै एउटा शौचालयको सेप्टिक ट्याङ्कीमा फालेको बयान दिए ।

पक्राउ परेका व्यक्तिको बयानको आधारमा प्रहरीले पुष १० गते सिर्सिया खल्वाटोलस्थित श्री गुरुकुल पन्ना मेमोरियल इङ्गलिस बोर्डिङ् स्कूलको कक्षा ८ मा अध्ययनरत निरजको शव स्कूलकै पुरानो भवन अगाडिको शौचालयको सेप्टिक ट्याङ्कीमा फेला पार्‍यो । शव फेला पर्दा निरजको शरीर पूर्ण रुपले गलिसकेको थियो । अनुहार हेरेर पहिचान गर्ने अवस्था नरहेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् । पोष्टमार्टम मार्फत शव निरजकै भएको पुष्टि भएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।

एसपी शाहका अनुसार घटनास्थलबाट फिरौती रकम माग गर्न प्रयोग भएको सिम कार्डसहितको १ थान मोबाइल, मृतकको निलो रङ्गको जिन्स पाईन्ट र खैरो रङ्गको पेटी पनि बरामद गरिएको छ ।

अनुसन्धानको क्रममा फिरौती माग्न प्रयोग गरिएको सिम कार्डलाई ट्रेस गर्दा घटनामा ३ जना संलग्न रहेको आशंकाका आधारमा २ जनालाई पक्राउ गरेको एसपी शाहले बताए । उनका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ निवासी २४ वर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ घोडदौडपिप्रा निवासी ३० वर्षीय दिलिप कुमार पटेल रहेका छन् । एक जनालाई पुष ९ गते र अर्का एकजनालाई पुष १२ गते पक्राउ गरिएको हो।

पक्राउ परेका दुवैलाई बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै उनीहरुविरुद्ध पर्सा जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक बनाई कर्तव्य ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको एसपी शाहले जानकारी दिए ।

२०७९ पुष १३, बुधबार १५:५८ गते 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार