
वीरगञ्ज – अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि पर्सा जिल्लाका अधिकांस स्थानीय तहले विद्यालयमा विदा दिएका छन् ।
पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, बिन्दवासिनी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, धोविनी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिकालगायतले १८ देखि २२ पुषसम्म चार दिनका लागि विद्यालय बन्द गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले मौसममा देखिएको प्रतिकूलतालाई मध्यनजर गरेर शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिए ।
अङ्ग्रेजी नयाँ वर्षको भोलि पल्टदेखि एकाएक चिसो बढेकाले पालिकाहरुले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको कर्णले बताए । जिल्लाका अधिकांश पालिकाहरुले सूचना जारी गर्दै चिसोका कारण पठनपाठनमा समस्या भएकाले विद्यालयमा तीन दिनको बिदा दिएका छन् ।
चिसो बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन् ।
सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठन्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ । चिसोले खास गरेर विद्यालयका बालबालिका, ज्येष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ । बाक्लो हुस्सुकै कारणले पर्साबाट बिहानै चल्ने सार्वजनिक सवारीसाधनसमेत प्रभावित भएका छन् ।
चिसोबाट जोगिन अति आवश्यकबाहेक सर्वसाधारण घर बाहिर ननिस्कँदा सिराहाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यात्रुहरूको सङ्ख्या अत्यन्त न्यून देखिन थालेका छन् । तराई मधेसका जिल्लाहरूमा पुष र माघमा शीतलहरले बढी प्रभाव पार्ने गरेको छ ।
पर्साका गाउँघरहरूमा शीतलहर सुरु भएसँगै आगो ताप्ने क्रम बढेको छ । गाउँघरमा अहिले गुइँठा, दाउरा र परालका आगो बालेर चिसो छल्ने गरेको स्थानीय बताउँछन् । चिसोले गर्दा बालबालिकासँगै वृद्ध वृद्धा, र दैनिक ज्याला मजदुरी गर्नेहरू मार्कामा परेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।