२०८० फाल्गुन १० बिहीबार

अपराध अनुसन्धानमा अझ बढी केन्द्रित हुन प्रहरी महानिरीक्षककाे निर्देशन

काठमाडौँ – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले हालै सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित भएर लाग्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा महानिरीक्षक सिंहले जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना र टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।

आर्थिक रूपमा पारदर्शिताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे । कार्य क्षेत्रमा गरेको कामको मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्ष रूपमा देखिने गरी तथ्याङ्कमा हुनुपर्ने र त्यही नै कामको जावफदेहीता रहने उल्लेख गरे ।

योग्यताको आधारमा जिम्मेवारी दिइएको भन्दै उनले प्रहरी अधिकृतहरूले उत्कृष्टरूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखेको बताए । नेपाल सरकारले अङ्गिकार गरेको समृद्धिसहितको सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको स्मरण गराउँदै उनले प्रदेश सरकार एवं स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आआफ्नो जिम्मेवारी बहन गर्न सुझाव पनि दिए ।

उनले प्रहरीको आचरण एवं व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीका १७ डिआइजी र २७ एसएसपीको सरुवा भएको थियो ।

२०७९ माघ २, सोमबार १९:२० गते 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार