२०८० फाल्गुन १० बिहीबार

सिर्सिया प्रदुषण नियन्त्रणका लागि सबै उद्योगले ७ दिनभित्र पानी प्रशोधन केन्द्र बनाउने निर्णय

वीरगञ्ज – सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि ७ दिनभित्र पानी प्रशोधन केन्द्र स्थापना गर्न वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगहरु तयार भएका छन् ।वीरगञ्ज उद्योग वाणिज्य संघको पहलमा बसेको उद्योगीहरुको बैठकले अबको सात दिनभित्र उद्योगहरुमा अनिवार्य प्रशोधन केन्द्र स्थापना गर्न तयार भएका हुन् ।

वीरगञ्ज महानगरपालिकाले नदी प्रदुषणको मुख्य कारक उद्योगहरु रहेको निष्कर्ष निकाल्दै उद्योगबाट निस्कने फोहोर पानी नियन्त्रण गर्न ताकेता गरेपछि उद्योग वाणिज्यसंघले उद्योगीहरुलाई तत्काल प्रशोधन केन्द्र बनाउन लगाउने निर्णय गरेको हो ।गएको शुक्रबार उद्योग वाणिज्य संघको सभाहलमा बसेको यस क्षेत्रका उद्योगीहरुको भेलाले उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा विसर्जन गर्ने, प्लान्ट नभएका उद्योगले सात दिनभित्र प्लान्ट निर्माण गर्ने र दैनिक १६ घण्टा बोरिङ चलाएर स्वच्छ पानी नदीमा विसर्जन गर्ने निर्णय गरेको छ ।
सिर्सिया नदी प्रदुषण नियन्त्रण गर्ने जिम्मेवारी आफूहरुको पनि रहेकाले अब हरेक उद्योगले फोहोर पानी सोझै नदीमा फाल्न बन्द गर्न प्रशोधन केन्द्र बनाउन लगाउने निर्णय गरेको उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।

बारा पर्साका उद्योगीहरुको सहभागिता रहेको बैठकमा उद्योगीहरुकै सहमतिमा यस्तो निर्णय भएको पनि उनले जानकारी दिए ।
बैठकमा संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, शिवशक्ति प्याकेजिङ, भास्कर हर्बल, एभरेस्ट लेदर, नेपाल लेदरसहित यस क्षेत्रबाट संचालित उद्योगका संचालक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

वीरगञ्ज महानगरपालिकाको अगुवाईमा सिर्सिया नदी प्रदुषण नियन्त्रण समिति गठन भएर अहिले नदीको स्थलगत अनुगमनको काम अघि बढीरहेको छ ।नदी प्रदुषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा गठित समितिमा जितपुर सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, उद्योग वाणिज्य संघ, स्थानीय प्रशासनका पदाधिकारी सदस्य रहेका छन् ।

२०७९ माघ ९, सोमबार २०:३७ गते 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार