२०८० फाल्गुन १० बिहीबार

आवश्यकताअनुरूप बल प्रयोग गर्न प्रहरी महानिरीक्षक धिरजप्रतापको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारीरूपमा प्रहरी परिचालन गर्नुका साथै आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालय प्रमुखहरूलाई बुधबार प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

उनले आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था प्रहरी नै भएको बताउँदै भने, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पुर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकताअनुरूप कानूनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु ।’

साथै, घटनालाई गम्भिरताका साथ लिएर संलग्नताको पहिचान गरी कानूनी दायरामा ल्याउनसमेत उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक सिंहले ट्राफिक चेकजाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शीतामा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यवसायिक भएर जिम्मेवारी वहन गर्नुपर्ने बताए ।
फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा संचालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्नुपर्नेसमेत उनले बताए ।

सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवं सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिवद्ध रहेको बताए ।

यस आर्थिक वर्षमा फरार अपराधी पक्राउमा उल्लेखनीय प्रगती भएको चर्चा गर्दै उनले उपत्यकास्थित प्रहरी वृत्त एवं प्रभागहरूको सुधारका लागि उपत्यका प्रहरी कार्यालयबाट आवश्यक जनशक्ति परिचालन गरिएको र हालैका घटनामा संलग्नलाई कानूनी दायरमा ल्याइने बताए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

२०७९ फाल्गुन ३, बुधबार १३:२६ गते 1 Minute 79 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार