
वीरगञ्ज – वीरगञ्जको घण्टाघरमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पिछडा वर्ग ओबिसी महासंघ पर्सा जिल्ला कार्य समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
ओबिसी महासंघ पर्साका अध्यक्ष देवनाथ महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ जना महिलासहित ५३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ (क) का निर्वाचित प्रदेश सभा सदस्य श्याम पटेल, ओबिसी महासंघ पर्साका अध्यक्ष देवनाथ महतो लगायतले रक्तदान गरेका हुन् ।
कार्यक्रममा रक्तदान गर्नेहरुलाई रियल जुस, फ्रुटी, केरा लगायतका खाजा वितरण गरिएको थियो । तर कार्यक्रम सम्पन्न भएपछि आयोजकले खाजा खाएर जथाभावी सडकमै फोहोर गरेको पाइएको छ । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सफा र सुन्दर बनाउने अभियान अघि सारेको अवस्थामा कार्यक्रमको आयोजना गर्ने संघ संस्थाले नै फोहोर गर्नु गलत भएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए ।
कार्यक्रमको आयोजना गरीसकेपछि डस्टबिन राखेर त्यसमै फोहोर फाल्नुपर्ने अथवा फोहोर गरेपनि कार्यक्रमको आयोजना गर्ने संघ संस्थाकै प्रतिनिधिले सफा गर्नुपर्ने महानगरको सरसफाई शाखाका सहायक प्रमुख सर्फुदिन मियाँले बताए । अहिले महानगरले फोहोर गर्ने विभिन्न संघ संस्था एवम् व्यक्तिहरुलाई कारवाही गर्ने अभियान चलाएको बताउँदै उनले फोहोर गर्नेलाई कारवाही एवम् जरिवाना गर्ने चेतावनी पनि दिएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।