२०८० फाल्गुन १५ मंगलवार

दिनेश सिंह बोगटीले जिते स्व. सचिन स्मृति खुल्ला दौडको उपाधि

काठमाडौं – रोटर्‍याक्ट क्लब अफ दमौलीले स्व. सचिन कुमार श्रेष्ठको स्मरणमा हरेक  वर्ष आयोजना गर्दै आएको सचिन स्मृति खुल्ला दौड प्रतियोगिता २०७९को उपाधि गोरखाका दिनेश सिंह बोगटीले जितेका छन् । 

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आइतबार दमौलीमा आयोजना गरेको २०औं स्व. सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा ९ किलोमिटरको निर्धारित दुरी २९ मिनेट ३० सकेन्डमा पार गर्दै गोरखा सिरानचोक–३ गाउँपालिकाका २४ वर्षीय गुरुङ प्रथम हुन सफल भएका हुन् ।

उनलाई पछ्याउंदै ३० मिनेट १० सेकेन्डमा निर्धारित दुरी पार गरी आँबुखैरेनी–१का सनम गुरुङ द्वितीय भएका छन् ।

 यस्तै प्रतियोगितामा ३० मिनेट ४२ सेकेन्डमा ९ किलोमिटरको निर्धारित दुरी पार गर्दै ललितपुर –४ का विकेश घिमिरे तृतीय भएका छन् । 

प्रतियोगितामा भानु –१२ का अनिल माजकोटी सान्त्वना हुन सफल भएका छन् ।  यसैगरी ऋषिङ –६ की सुस्मिता रानाभाटलाई महिला धावक मध्येमा उत्कृष्ट भए वापत सान्त्वना पुरस्कारले सम्मानित गरिएको छ ।

 त्यसैगरी प्रतियोगिताका सबैभन्दा कान्छा १२ वर्षीय धावक व्यास –१ का कृतिक घर्तीलाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । 

दौड प्रतियोगितामा प्रथम हुने धावकलाई रु १४ हजार , द्वितीय हुनेलाई रु १२ हजार , तृतीय हुनेलाई १० हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको कार्यक्रम संयोजक उमेश पौडेलले जानकारी दिए । साथै प्रतियोगितमा तीन जनालाई सान्त्वना पुरस्कार वापत जनही रु २ हजार प्रदान गरिएको उनले जानकारी दिए । 

प्रतियोगितामा ८८ धावकको सहभागिता रहेको थियो ।

दमौलीको अनसन चौतारीबाट शुरु भएको दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर सकिएको थियो ।

क्लबको कार्यक्रममा सहभागी हुन भारतको कोलकता जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिन सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि निरन्तर रुपमा दौड प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए ।

प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गर्दै प्रमुख जिल्ला अधिकारी छविराज रिजालले युवाहरु देश बिकास र परिवर्तनका संवाहक भएकाले सिर्जनशिल र रचनात्मक हुनुपर्नेमा जोड दिए । खेलले व्यक्तिको सर्वाङ्गिण बिकास गराउनुका साथै मेहनत र परिश्रमका साथ अनुशासित बन्न सिकाउने भएकाले मानव जीवनमा खेलको महत्वपुर्ण भूमिका रहने उनको भनाइ थियो । 

खेलका माध्यमबाट तनहुँकै प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल छाब्दी बाराही क्षेत्रको प्रचार र पर्यटन प्रवद्र्धनमा क्लबले योगदान गरेको उनको भनाइ थियो । युवा अवस्था मानव जीवनकै उर्वर र उर्जाशिल उमेर भएकाले यसलाई देश र समाजको परिवर्तन र बिकासका लागि खर्चिन उनले युवाहरुलाई अनुरोध समेत गरे । 

यसअघि कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्वर्गीय सचिन कुमार श्रेष्ठलाई स्मरण गर्दै रोटरी र रोट्याक्ट अभियानमा एक निकै प्रभावशाली युवालाई गुमाउन पुगेको बताए । युवाहरुले निकै तल्लीन भएर सामाजिक सेवामा लागेको बताउदै न्यौपानेले अझै रचनात्मक क्षेत्रमा विविध कार्यक्रम गर्न सुझाव दिए ।  साथै स्वर्गीय श्रेष्ठको क्लबप्रतिको स्नेह र योगदानलाई स्मरण गर्दै रोटर्‍याक्ट क्लब अफ दमौलीले हरेक वर्ष उत्कृष्ट कार्यक्रम गर्दैै आएको भन्दै न्यौपानेले प्रशंसा व्यक्त गरे । 

रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अबदेश विष्ट, रोटरी क्लब अफ दमौलीका अध्यक्ष रामलाल श्रेष्ठ, पूर्व अध्यक्ष दामोदर भण्डारी, छाब्दी बिकास कोषका अध्यक्ष थामबहादुर थापा, रोटर्‍याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठ, कार्यक्रम संयोजक उमेश पौडेल लगायतले बोलेका थिए ।

२०७९ फाल्गुन ७, आईतवार १४:३० गते 1 Minute 431 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार