२०८० फाल्गुन १५ मंगलवार

धर्मको नाममा मनमुटाव र वैमनस्य नगर्न सांसद यादवको आग्रह

वीरगञ्ज – धार्मिक सहिष्णुता कायम भएपछि मात्रै समाज सही दिशामा अग्रसर हुने पर्सा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवको बुझाई छ । सबै धर्मको लक्ष्य समाजमा शान्ति स्थापना गर्ने र संस्कार सिकाउने भएको हुँदा धर्मलाई लिएर मनमुटाव तथा बैमनस्यता गर्न नहुने पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले सुझाव दिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित मठमा निर्मित राम जानकी मन्दिरको प्राणप्रतिष्ठान एवम् उद्घाटन गर्दै सांसद यादवले धार्मिक स्थलहरुको संरक्षण गरेर धार्मिक पर्यटनको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । मन्दिरको संरक्षण गर्दै आगामी दिनमा थप बजेट ल्याएर अझै परिस्कृत र विस्तार गर्ने पनि यादवको योजना छ ।

सांसद यादवकै संसदीय विकास कोषको ३५ लाख रकमसँगै स्थानीको सहयोगमा निर्मित मन्दिरको शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन तथा प्राणप्रतिष्ठान गरिएको हो ।

मठका अध्यक्ष बिनोद मण्डलका अनुसार पहिलादेखि मन्दिरको निर्माण थालनी गरिएपनि अव्यवस्थित र अधुरो थियो । सांसद यादवले आफ्नो संसदीय विकास कोषबाट रकम उपलब्ध गराएसँगै मन्दिरलाई थप व्यवस्थित  बनाइएको अध्यक्ष मण्डलले बताए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगर पनि धार्मिक सम्पदाको संरक्षण र सौन्दर्यकरणका कामलाई अघि बढाएको जानकारी दिए । मेयर सिंहका अनुसार वीरगञ्जका पिपरा मठ, लक्ष्मणवा पार्क, गहवामाई मन्दिर लगायतका धार्मिक सम्पदाको संरक्षणका क्षेत्रमा महानगरले काम गरीरहेको छ । वीरगञ्जको चिनिमिलस्थित पशुपति मन्दिरलाई पनि सौन्दर्यकरण गरेर धार्मिक पर्यटनको प्रवद्र्धन गर्ने काम महानगरको प्राथमिकतामा रहेको मेयर सिंहको भनाई छ ।

मन्दिरको प्राणप्रतिष्ठान एवम् उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अजय चौरसिया, वडा नम्बर १३ का वडाअध्यक्ष हिरा गिरी लगायतको उपस्थिती रहेको थियो ।

२०७९ फाल्गुन १२, शुक्रबार १८:०४ गते 1 Minute 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार