
काठमाडौं । अमेरिकाबाट पार्सल भन्दै आएको सामानभित्र गाँजा भेटिएको छ ।
हवाई मार्ग हुँदै बिदेशी मुलुकबाट नेपालको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलहरुको सुक्ष्म निग्रानी तथा चेकजाँच गर्ने क्रममा अमेरिकावाट दुबई हुँदै नेपाल आएको पार्सलहरुबाट लागु औषध गाँजा बरामद भएको हो ।
फाल्गुन २१ गते त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको भन्सार कार्यालयमा अमेरिकाको क्यालिफोर्निको लस एन्जल्सबाट दुबई हुँदै काठमाण्डौ आएको चकलेट आइटम उल्लेख गरिएको पार्सलभित्र चकलेटको बट्टाहरुमा लुकाई छिपाई राखेको लागु औषध गाँजा ४.५ के.जी. बरामद भएको छ ।
उक्त पार्सल बुझि लैजान लागेका भारत गुजरात, मोती भावदी ठेगाना भएका भारतीय नागरिक बर्ष ३० का निमेश अशोकभाई दयानी नाम गरेका व्यक्ति र सर्लाही हरिहरपुर नगरपालिका-३ का फैज आलम पक्राउ परेका छन् ।
उनीहरूको साथमा रहेको भारतीय आधार कार्ड, नेपाली रुपैयाँ ८० हजार रुपैयाँपनि बरामद गरिएको छ ।
उनीहरूलाई पक्राउ गरेपछि उनीहरू बस्दै आएको ठमेलस्थित होटलको कोठा तलासी गर्दा भारतीय नागरिकको राहदानी, भारतीय रुपैया एक लाख ४० हजार समेत बरामद भएको लागुऔषध अनुसन्धान ब्यूरोले जनाएको छ ।
त्यस्तै सोहीदिन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको भन्सार कार्यालयमा अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै काठमाण्डौ आएको पार्सल शंका लागी चेकजाँच गर्दा उक्त पार्सल भित्र लुकाई छिपाई राखिएको लागु औषध गाँजा २.४ के.जी. बरामद गरिएको छ ।
उक्त पार्सलमा उल्लेखित रिसिभ गर्ने ब्यक्तिको खोजतलास गर्दै जाँदा काठमाडौंको नागार्जुन नगरपालिका-१ खरीबोट स्थित एक रेष्टुरेण्टवाट जिल्ला गोरखा गण्डकी गाउपालिका-४ ठेगाना भएका बर्ष २३ का रुपक अर्याललाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता चक्र राज जोशीले बताए ।
पक्राउ परेका तीनैजना उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।