
काठमाडौं – नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने संसद सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति पदको निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सांसदले मतदान गर्नेछन् ।प्रदेशसभाका ५५० र संघीय संसद्का ३३२ मतदाता रहेका छन् ।
मतदाताको अन्तिम नामावलीमा नाम समावेश भइसकेपछि जनता समाजवादी पार्टी (जसपा)की सांसद सहनाज रहमानको निधन भएको थियो ।
मतदानका लागि प्रदेश र संघीय सांसदहरूलाई छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ । उपराष्ट्रपति निर्वाचनमा एक संघीय सांसदको मतभार ७९ र एक प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र आज साँझ नै ६–७ बजेभित्रै परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतले तयारी गरेका छन् । नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो पटक निर्वाचन हुन लागेको हो ।
मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा र दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।
तेसो नयाँ उपराष्ट्रपतिका लागि चार उमेदवार छन् । नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपाबाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला यादवले उमेदवारी दिएका हुन् ।
प्रमिलाले रामसहायलाई समर्थन गर्दै उमेदवारी निष्क्रिय भएको घोषणा गरिसकेकी छन् । तर, उमेदवारी फिर्ता लिने निधारित अवधिभित्र उनले उमेदवारी फिर्ता लिएका थिएनन् । त्यसैले मतपत्रमा उनको पनि नाम र छापिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।