
वीरगञ्ज – जनता समाजवादी पार्टीका सांसद् प्रदीप यादवले संवैधानिक परिषद्सम्बन्धि विधयेक पास गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धानन्तिक छलफलमा सहभागी हुँदै सांसद् यादवले विधेयकलाई महत्वपूर्ण भन्दै पास गर्नुपर्ने बताएका हुन् ।
सरकारले गम्भीर रुपमा विधयेकलाई संसद्मा पेश गरेकोमा धन्यवाद दिँदै यादवले देशको प्रधानन्यायाधीशलगायतका महत्वपूर्ण पदहरुको नियुक्ति रोकिएको र संवैधानिक परिषद्को बैठक समेत हुन् नसकेको भन्दै विधेयक पास गरेर त्यसलाई पूरा गर्नुपर्ने उनले बताए । पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले विधयेकमा केही संसोधनहरु गरेर छिटोभन्दा छिटो यसलाई पास गर्नुपर्नेमा जोड दिए ।
यादवले विगतका सरकारहरुले संवैधानिक आयोगका नियुक्तिहरु गर्दा संसद्लाई छल्ने र ठग्ने काम गरेको बताउँदै भने, ‘विगतका सरकारहरुले जुन प्रकारले संबैधानिक आयोगका नियुक्तिहरु गर्दा संसद्लाई छल्ने र ठग्ने काम गरेका छन् । त्यो काम यो सरकारलाई नगर्न म सुझावसहित अनुरोध गर्न चाहन्छु र सम्माननीय सभामुख मार्फत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई छलेर संबैधानिक नियुक्ति गर्दै संसद् भंग गरेको कुरा निकाल्दै यादवले वर्तमान सरकारलाई त्यस्तो नगर्न सचेत पनि गराए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।