
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने वीरगञ्जका पाँच वटा उद्योगलाई कारबाही गरि १५ लाख रुपैयाँ जरीवाना गरेको छ । महानगरपालिकाले वीरगञ्ज– पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३/३ लाख रुपैयाँको दरले १५ लाख रुपैयाँ जरीवाना गरेको हो ।
महानगरले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दूर्गा पल्प एण्ड पेपर प्रालिलाई ३/३ लाखका दरले जरीवाना गरेको हो ।
नदि प्रदूषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्रचार गर्दै ७ दिनभित्र जरीवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए । ७ दिनभित्र जरीवाना बापतको रकम नबुझाएमा प्रचलित कानुन अनुसार उद्योगहरुविरुद्ध थप कारबाहीको प्रकृया अगाडि बढाइने महानगरको पत्रमा उल्लेखछ ।
वीरगञ्ज महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदि प्रदूषित गर्ने ५ उद्योगहरुलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताए ।
यसअघि महानगगरले गत फागुन १६ गते उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १/१ हजार रुपैयाँ जरिबाना तिराएको थियो ।
करिब तीन दशकदेखि प्रदूषणको चपेटामा परेको वीरगञ्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदिलाई प्रदूषणमूक्त बनाउन महानगरपालिकाले विगत दुई महिना यता अभियान चलाईरहेको छ । उक्त अभियानअन्तर्गत नै महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले पटक पटक अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु) सिधै नदिमा फाल्दै आएको भेटिएको थियो । त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदूषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार महानगरले अहिले जरिवानामा परेका तीनै ५ उद्योगलाई पत्र पठाएर नदि प्रदूषण नगर्न चेतावनी पनि दिएको थियो ।
महानगरले लिखित रुपमै चेतावनी दिँदा समेत अटेरी गरि उद्योगका फोहोर र रसयानयूक्त पानी सिधै नदिमा फाल्ने क्रम नरोकिएपछि पाँच उद्योगलाई जनही ३/३ लाख रुपैयाँको दरले जरीवाना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए । उनले भने, ‘सिर्सिया नदि वीरगञ्ज शहरकै लाइफलाइन हो । त्यसका कारण यो नदिलाई प्रदूषित बनाउने जोसुकै होस् उसविरुद्ध महानगरले कारबाही गर्छ , नदिलाई प्रदूषणमूक्त बनाउने अभियान अब रोकिदैन ।’
उनले अनुगमन जारी रहने र नदिलाई प्रदूषित बनाउने अन्य उद्योग र निकायलाई पनि यस्तै प्रकारको कारबाही गरिने पनि बताए ।
बाराको सीमरा भन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न शुरु गरेको र्सिसिया नदी पर्साको वीरगञ्ज शहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबूनलगायतका उद्योगबाट निस्कने रसायनयूक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको हो ।
नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन् ।
सिर्सिया नदीको प्रदूषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको नदि स्थानीय बताउँछन् ।
सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरु नै रहेको उल्लेख थियो । प्रतिवेदनमा नदी प्रदूषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो ।
सञ्चारकर्मी रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा नदि प्रदूषित बनाउनेमा औद्योगिक करिडोरका ४६ वटा उद्योगहरुको नाम किटान गरिएको थियो । समितिले २०६७ साल मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उक्त प्रतिवेदन बुझाएको थियो । सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै एकदशक यता विभिन्न संघसंस्था र अभियन्ताहरुले निरन्तर दवावमूलक कार्यक्रम गर्दै आइरहेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।