
वीरगञ्ज – पर्सा प्रहरीले नेपालमा प्रतिबन्धित लागूऔषधस्थित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्जको सिमावर्ती शहर भारतको रक्सौलबाट लुकाईछिपाई प्रतिबन्धित लागूऔषध नेपाल ल्याएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार लागूऔषधस्थित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय सञ्जीव केशरी र एकजना अपरिचित व्यक्ति पक्राउ परेका छन् ।
केशरीलाई प्रहरीले वीरगञ्ज-१६ रजतजयन्तीचोकस्थित सडकखण्डमा भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको अवस्थामा लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । उनले चलाइरहेको ना. ३२ प ९४०३ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा सिटमुनिबाट कालो प्लाष्टिकमा लुकाएर राखिएको लागूऔषध नाईट्राभेट बरामद भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले बताए ।
गिरीकाअनुसार केशरीको साथबाट १ पत्तामा ३० ट्याब्लेट गरी २० पत्तामा ६०० पिस नाइट्रोभेटको फेला परेको छ । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा मुद्दा चलाई जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
त्यसैगरी प्रहरीले रजतजयन्तीचोकस्थित सडकखण्डबाटै रक्सौलबाट नेपाल तर्फ आउँदै गरेको एकजना अपरिचित व्यक्तिलाई प्रतिबन्धित लागूऔषध फेनारगन-४७ एम्पुल, डाईजेपाम-४७ एम्पुल, नुर्फिन-४७ एम्पुल गरी जम्मा १४१ एम्पुलसहित नियन्त्रणमा लिएको छ । शङ्कास्पद अवस्थामा हिडिरहेको अवस्थामा उनलाई रोकेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषद बरामद भएको डिएसपी गिरीले जानकारी दिए । उनीमाथि पनि लागूऔषध सम्बन्धि मुद्दा चलाएर जिल्ला अदालतबाट ७ दिन म्याद थपी अनुसन्धान अगाडि बढाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।