
वीरगञ्ज – नेपाल टेलिकमले फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको भन्दै वीरगञ्ज महानगरपालिकाले टेलिकमको परिसरमा फोहोर थुपारेर विरोध गरेको छ।
टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरूप फोहोर खसालेको हो।
महानगरपालिकाले वीरगञ्जमा सञ्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र लगेर फालेको हो। टेलिकमले अप्टिकल फाइबर बिच्छ्याउने क्रममा बाइपास सडकखण्डको करिब ५ किलोमिटर कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको छ।
खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको महानगर प्रमुख राजेशमान सिंहले बताए। कार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताए।
गएको फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा बसेको सरोकारवाला निकायहरूको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको स्वकीय सचिव घिमिरेले बताए। उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएको थियो।
फोहोरसहितको ट्याक्टर लिएर टेलिकम परिसरमा आफैं पुगेका घिमिरेले भने, ‘वीरगञ्ज शहरलाई सफा र सुन्दर बनाउन महानगरले अभियान नै चलाइरहेको छ, यो अवस्थामा टेलिकमले सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र पार्दा बाइपास सडक कुरूप भएको छ, त्यसलाई पहिलेकै अवस्थामा पुग्ने गरि मर्मत गरिदेऊ भनेर पटक आग्रह गर्दा कुनै टेरपुच्छर नलगाएपछि हामी यो अप्रिय कदम चाल्न बाध्य भएका हौं।’
उक्त सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाई पनि पत्र लेखेर आग्रह गर्दा समेत टेलिकमले नटरेको घिमिरेको भनाई छ।
घिमिरेले भने, ‘अब हामीले कति चोटी अनुरोध गर्ने ? हामीसँग अरु कुनै विकल्प नै भएन, नागरिकलाई त महानगरपालिकाले नै काम गरेन भन्ने सन्देश गइरहेको छ, महानगर अब टुलुटुलु हेरेर बस्न सक्दैन, त्यसकारणले गर्दा आज फोहोर ल्याएर टेलिकममा फालिएको हो, अब मिडियाबाट यो विषय टेलिकमको केन्द्रीय कार्यालयमा पुग्नेछ र समस्याको समाधान हुनेछ भन्ने अपेक्षा लिएका छौँ।’
टेलिकमले खनेर अलपत्र परेको सडक उसैले बनाउनु पर्नेमा बनाउन ढिला गर्दा नगरवासीले लामो समयदेखि समस्या भोग्दै आएका छन्। यो सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेखगंज पेट्रोलियम पाईपलाईनले समेत आफनो योजना कार्यान्वयनका क्रममा सडक खनेका छन् । खानेपानी र पेट्रोलियमले अपेक्षित काम गरे पनि टेलिकमले कामै नगरेपछि आजको कदम चालिएको घिमिरेले बताए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।