२०८० मंसिर १६ शनिबार

महानगरले छुट्यायो अतिक्रमणमा परेको गुठी संस्थानको ११ विघा जग्गाको सीमांकन

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले गुठी संस्थानको ११ विघा जग्गा नाप जाँच गरेर छुट्याइदिएको छ । बुधबार महानगरको सीमामा पर्ने पर्सागढी नगरपालिका वडा नम्वर ४ मा रहेको भेडाहा टोलको करिब ११ विघा १३ कट्ठा जग्गा नापजाँच गरेर छुट्याएको हो ।

उक्त टोलमा गुठीको नाममा करिब एक सय विघा भन्दा बढी जग्गा रहेकोमा आज पहिलो दिन ११ विघा १३ कट्टा जग्गा नापजाँच गरेर छुट्याउनुका साथै किला गाडेर सीमांकन गरिएको छ ।
जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्री सहित टोली फिल्डमा पुगेको थियो । संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि महानगरपालिकाले प्राविधिक टिम खटाएर जग्गा छुट्याउन लगाएको हो ।

उक्त ठाउँमा रहेको गुठीको जग्गामा करिब २ सय भन्दा बढी घर परिवारले अतिक्रमण गरेर व्यक्तिगत प्रयोजनमा भोगचलन गर्दै आएको पाइएको छ ।महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान नै चलाएको छ । यही क्रममा गुठी संस्थानको आग्रह बमोजिम गुठीको जग्गा पनि अतिक्रमणबाट हटाउन सुरु गरेको हो ।गएको चैत १३ गते महानगरले वडा नम्वर २८ दर्दवामा रहेको गुठी संस्थानको जग्गा अतिक्रमण गरी माटो उत्खनन् गर्ने एउटा स्काभेटरसहित ४ वटा टिप्पर नै नियन्त्रणमा लिएको थियो । त्यहाँ संस्थानको ५२ विघा जग्गा रहेको र त्यसको पनि महानगरले नापजाँच गरेर छुट्याइदिएको थियो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अहिले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गाका साथै गुठीको जग्गा खोजी गर्ने अभियान चलाइएको बताउनुहुँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह गर्नु भयो ।

जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख चुडामणी घिमिरे, नापी कार्यालय पर्साका प्रमुख नारायण श्रेष्ठ, महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेस प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको थियो ।

२०७९ चैत्र २२, बुधबार १६:५१ गते 1 Minute 83 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार