
वीरगञ्ज – वीरगञ्जका वरिष्ठ उद्योगी डा. सुवोधकुमार गुप्ता विभूषित भएका छन् । नेपाल राष्ट्रको गौरव एवम् नेपाली जनताको हित अभिवृद्धिका लागि व्यापार व्यवसाय र सामाजिक कार्यको क्षेत्रमा खेलेको भूमिकाको मूल्यांकन गर्दै नेपाल सरकारले डा. गुप्तालाई विभूषित गरेको हो ।
शुक्रबार काठमाडौँस्थित राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले डा. गुप्तालाई नेपाल सरकारको प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित गरेका हुन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालयले विभूषित हुनेहरुको नाम सार्वजनिक गरेको थियो । जसमध्ये वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. गुप्ता पनि छनौटमा परेका थिए । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा दोस्रो पटक निर्वाचित भएका डा. गुप्ता साढे २ दशकभन्दा लामो समयदेखि उद्योगव्यवसायको क्षेत्रमा सक्रिय छन् ।
नेपाल चामल दाल तेल उद्योग संघका केन्द्रीय अध्यक्षसमेत रहेका डा. गुप्तासँगै वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक डाक्टर अबुल हैस अन्सारी, उद्योगीहरु अशोक कुमार वैद्य, दिपेन्द्र कुमार कलवार पनि प्रबल जनसेवाश्री बाट विभूषित भएका छन् ।वीरगञ्जका स्वतन्त्रता सेनानी स्व. मेघराज उपाध्यायलाई प्रसिद्ध प्रबल जनसेवा श्री र व्यवसायी मुरलीधर रुंगटालाई सुप्रबल जनसेवा श्रीबाट विभूषित गरिएको छ ।
नारायणी अस्पतालकी नर्सिङ् निरीक्षक हेमा थापा पनि जनसेवा श्री विभुषणबाट विभुषित भएकी छिन् । विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभिन्न क्षेत्रबाट समाजमा उत्कृष्ट काम गर्ने व्यक्तिहरुलाई राष्ट्रपति पौडेलले विभूषित गरेका हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।