२०८० मंसिर १६ शनिबार

वीरगञ्जमा तिन दिने रात्री बजार सुरु, पूर्वमन्त्री यादव र मेयर सिंहद्वारा उद्घाटन

वीरगञ्ज – नयाँ बर्षको अवसरमा वीरगञ्जमा रात्री बजार लागेको छ ।

वीरगञ्जमा महानगरपालिकाको आयोजना लागेको रात्री बजारको बिहिबार एक कार्यक्रमको बिच पूर्वमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

तिन दिने रात्री बजारको उदघाटन गर्दै सांसद् यादवले नेपालको इतिहासमा पहिलो पटक वीरगञ्जमा रात्री बजारको आयोजना गरेकोमा महानगरलाई धन्यावाद दिए । उनले नेपाली नयाँ वर्षको पूर्वसन्ध्या आयोजित रात्री बजारबाट कोभिड -१९ महामारीले थलिएको वीरगञ्ज महानगरका व्यापार, व्यवसाय र उद्यमलाई फेरि नयाँ उँचाइसम्म पुर्‍याउँदै अर्थतन्त्रलाई पुन: चलायमान बनाउन ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे ।

यादवले सही व्यक्तिलाई नेतृत्वमा पुर्‍याए राम्रो कामको सुरुवात हुन् समय नलाग्ने बताउँदै नगरप्रमुखले रात्री बजार आयोजना गर्नका निमित्त लिएको आठको प्रशंसा पनि गरे । बजार सञ्चालन गर्न सुरक्षा व्यस्थापनमा सहयोग गर्ने स्थानीय प्रहरी र प्रशासनका प्रमुखहरुलाई पनि उनले धन्यवाद दिए । उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक कसैले आँट र हिम्मत गरे रात्री बजार सञ्चालन गरेको छ । मेयर सिंहसहितको टिमले विभिन्न चुनौतीलाई छल्दै गरेको सहासिक कामका लागि म उहाँ लगायत सम्पूर्ण टिम प्रति आभार प्रकट गर्न चाहन्छु । साथै यसको सुरक्षार्थ व्यवस्थापन मिलाइदिनु भएका सम्पूर्ण सुरक्षा निकायका प्रमुखज्यूहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’

वीरगञ्ज महानगरले पछिल्लो समय सरसफाई र सडकलगायतका पूर्वाधार विकासमा देखाएको तदारुकताको पनि यादवले प्रशंसा गरे । उनले भने, ‘पहिला हामी शङ्कराचार्यद्वार हुँदै नेपाल प्रवेश गर्दा दुवै तर्फ फोहरको डुङ्ग्रो मात्र देख्थ्यौं । तर आज त्यहाँ दुवैतर्फ हरियाली, त्यो ठाउँलाई सफा बनाइएको छ । महानगरको मेयरमा निर्वाचित भएपछि राजेशमानजीले गर्नुभएको यस्ता कयौं उदारणीय कामहरु छन् ।’

त्यस्तै महानगरका मेयर राजेशमान सिंहले रात्री बजार मार्फत आफूले देखेको वैभव वीरगञ्जको सपनाको लागि पहिलो पाइला चालिएको बताए । उनले केहि वर्ष यता सुस्त भएको वीरगञ्जका पसलहरु राति नौं बज्दै सुरक्षाकर्मीले बन्द गराउँदै आएका कारण झनै थलिएको यहाँको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले पहिलो पटक रात्री बजार सञ्चालन गरिएको जिकिर गरे ।

सिंहले बजार सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै रातमा पनि किनमेल गर्ने चलनको विकास हुने आफूले अपेक्षा लिएको बताए । यसका साथै यहाँका व्यापारीलाई रातिको समयमा पनि सुरक्षित वातावरणमा व्यापार व्यावसाय गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि रात्री बजारको अवधरणा ल्याइएको बताए ।

सिंहले भने, ‘वीरगञ्जलाई पर्यटकीय हब बनाउने योजनाका साथ महानगरले विभिन्न कामहरु गरिरहेको छ, भारतलगायात अने मुलुकबाट आउने पर्यटकहरु कम्तिमा पनि दुइदेखि तीन दिनसम्म वीरगञ्जमा बास बसुन् भन्ने उदेश्यले काम गरिरहेका छौं । यसको पहिलो पाइला स्वरूप आज रात्री बजार आयोजना गरेका छौँ । भविष्यमा अझै धेरै कामहरु गर्नुपर्ने छ ।’

आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्री बजारमा एक सयभन्दा बढी थरिथरिका स्टलहरु राखिएको छ । शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहेका छन् । साथै रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुतीसमेत रहेन जनाइएको छ ।

उदघाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल विक्रम साह, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, नेपाल युवा उद्यमी मञ्च वीरगञ्ज संकायका अध्यक्ष राकेश साह, महानगर प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास, सञ्चारउद्यमी एवम् रेडियो वीरगञ्जका अध्यक्ष धुर्ब साहलगायतको उपस्थिति रहेको थियो ।

२०८० बैशाख १, शुक्रबार ०७:५८ गते 1 Minute 69 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार