
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालाई सम्मान गरेको छ ।मन्त्री भएपछि गृहजिल्ला आउनुभएका रिजाललाई महानगर प्रमुख राजेशमान सिंहले बिहीबार आफ्नै कार्यकक्षमा स्वागत तथा सम्मान गर्नुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
मन्त्री रिजालाई सम्मान गर्दै महानगर प्रमुख सिंहले वीरगञ्जको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
वीरगञ्जमा नयाँ औद्योगिक क्षेत्रको विकास तथा उद्योग ग्राम स्थापनाको काम हुनेमा आफू विश्वस्त रहेको भन्दै महानगरप्रमुख सिंहले यहाँका औद्योगिक समस्या समाधानमा पनि मन्त्री रिजालको ध्यानाकर्षण गराउनुभयो ।बजेट अभावमा नागरिकमुखि योजनाहरु कार्यान्वयनमा लैजान कठिन भएको भन्दै त्यसमा पनि आवश्यक साथ र समन्वय गरिदिन महानगर प्रमुख सिंहले आग्रह गर्नुभयो ।
नवनियुक्त मन्त्री रिजालले सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सह्रानीय रहेको भन्दै त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।‘धेरै वर्ष पहिले आमाले पनि यो नदीमा छठका बेला पुजा गर्नुभएको मलाई सम्झना छ,’ उहाँले भन्नुभयो, ‘अहिले त नदीको पानी धेरै कालो देखिन्छ, गन्हाने पनि भएको छ, यसलाई स्वच्छ बनाउन महानगरले गरिरहेको प्रयास राम्रो छ, मन्त्रालयबाट मैले गर्न पर्ने सहयोग गर्न म तयार छु ।
’उहाँले उद्योग ग्राम निर्माणका लागि आफूले सकेको पहल गर्ने र एक पटक मन्त्रालयमा आउन निम्ता दिँदै सचिवहरुसँगै राखेर आवश्यक व्यवस्था मिलाउन लगाउने बताउनुभयो ।सम्मान कार्यक्रममा महानगर उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।